२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारट्रमाका निर्देशक डा. सन्तोष पौडेल भन्छन्, ‘म निर्देशक जागिर खानका लागि मात्र भएको होइन’

ट्रमाका निर्देशक डा. सन्तोष पौडेल भन्छन्, ‘म निर्देशक जागिर खानका लागि मात्र भएको होइन’


देशकै एकमात्र ट्रमा केन्द्र राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्व यतिबेला डा. सन्तोष पौडेलले गरिरहेका छन् । कास्कीका ३६ वर्षीय डा. पौडेल केन्द्रीय अस्पतालको मुख्य जिम्मेवारी सम्हाल्ने थोरै चिकित्सकमध्येमा पर्छन् । ६ महिनाअघि राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकमा नियुक्तका भएका उनी १० औं तहका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन् । चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरी झण्डै ५ सय जना कर्मचारीको नेतृत्व गरिरहेका उनी ट्रमालाई देशकै केन्द्रका रुपमा विकसित गर्न लागिपरेको बताउँछन् । डा. पौडेलसँग उनी निमित्त निर्देशक भएपछि ट्रमा भएका काम, उनका आगामी योजनालगायतका विषयमा केन्द्रित रहेर हेल्थ आवाजले गरेको कुराकानीः

राष्ट्रिय ट्रमा सेन्टरको नेतृत्वमा आएपछि कामहरु कसरी अगाडि बढिरहेका छन् ?
म ट्रमा सेन्टरको नेतृत्वमा आउँनु र नेपालमा कोभिड—१९ आउनु सँगसँगैजस्तै भयो । कोभिड—१९ बाहेको परिस्थितीमा कसरी काम गर्न सकिन्छ भनेर केही प्लानिङहरु थिए । त्यही प्लानिङअनुसार कार्यभार सम्हालेको थिए । तर, त्यसको लगभग एक महिना नबित्दैं कोभिड महामारीले च्यापिहाल्यो । लकडाउन सुरु भयो, परिस्थिती सोचेभन्दा धेरै प्रतिकूल भयो । तैपनि हामीलाई प्रतिकूल अवस्था भनेर पन्छिने छुट थिएन्, एउटा चोटपटकको केन्द्रीय अस्पताल । देशभरिबाट सबैले आशा गरेर अन्तिम विकल्प भनेर आउने अस्पताल हो । कोरोना भयो अब हामीले सकेनौं भनेर हात उठाउने कुरा भएन । कोरोना सुरु भएलगतै हामीले प्लान ए, प्लान बी र प्लान सी बनाएर काम गर्न थाल्यौं ।

ती प्लानहरुमा के थियो ?
प्लान एमा एक्जिटिङ सिचुयसनमा के के गर्न सकिने भन्ने कुरा थिए । त्यो भनेको कोरोनाका बिरामी एकदमै कम भएको अवस्था हो । प्लान बी कोरोना कोरोनाका बिरामी बढ्दैं गएको अवस्था हो, जतिबेला कोरोनाका बिरामी हाम्रो अस्पतालमा पनि देखिन्छन् । त्यसका लागि हामीले प्लान बी बनाएका थियौं । प्लान सी एकदमै खराब अवस्था जतिबेला ट्रमा सेन्टरले शल्यक्रिया होइन्, कोरोनाका बिरामीको उपचार गर्नुपर्ने अवस्थाका पनि आउन सक्छ भनेर हामीले प्लान सी बनाएका हौं ।

हाम्रो प्लानअनुसार अहिले बीमा काम गरिरहेको अवस्था छ । हाम्रो अस्पतालमा हाम्रो स्टाफ र बिरामीहरुमा पनि कोरोना पोजेटिभ देखिन थाल्यो । प्लान बीमै हामी अहिले पनि कोरोनाबाहेकको ट्रमा उपचारलाई कसरी व्यवस्थित गर्ने भन्नेमै छौं । त्यसका लागि कोरोनालाई अस्पतालमा छिर्न नदिने, कोरोनाबाट अस्पताललाई कसरी अत्याधिक सुरक्षित बनाउने भन्ने प्लानमै काम गरिरहेका छौं ।

कोरोना अस्पताल छिर्न नदिनका लागि कस्ता सावधानीहरु अपनाइएको छ ?
अहिले हामीले हाम्रा तीन वटा विभागलाई सबै बिरामीहरु कोरोनाका बिरामी नै हुन् भन्ने हिसाबले व्यवहार गर भनेका छौं । बहिरंग सेवा सञ्चालन भइरहेको ठाउँमा अहिले को कहाँबाट आइरहेको छ भन्ने केही थाहा छैन्, त्यसैले बहिरंग सेवामा काम गर्नेले पूर्ण पीपीई र सुरक्षाका मापदण्ड अपनाएर सबै बिरामीको कोरोनाकै बिरामीका रुपमा सर्तकर्तापूर्वक बिरामी हेरिरहनुभएको छ । दोस्रो त्यस्तै ठाउँ भनेको इमर्जेन्सी हो । इमर्जेन्सी कक्षमा चोटपटक भएर बिरामी आउँदाखेरि उनमा कोरोना छकि छैन भनेर हेर्ने अवस्था रहँदैन् ।

त्यहाँ पनि पूर्णतया सुरक्षाका मापदण्ड अपनाएर मात्रै बिरामी हेर्ने व्यवस्था गरेका छौं । तेस्रो भनेको अलि कम तर एक्स्पोज हुन सक्ने भनेको आईसीयु हो । आईसीयुमा तत्काल पुर्‍याउनुपर्ने बिरामीलाई हामीले कोरोना छ कि छैन परीक्षण गरेर मात्रै पुर्‍याउन सक्दैनौं । त्यसकारण आईसीयुको म्यानेजमेण्ट पनि त्यहीअनुसार गर्नुपर्छ भनेर हामीले तीन वटा ठाउँमा छुट्याएका छौं ।

जसमा पहिलोमा कोरोनाको रिपोर्ट थाहा नभएका बिरामीलाई आइसोलेसन राख्छौं, त्यहाँ एउटा छुट्टै आईसीयु वेड छ । त्यो हेर्ने नर्स छुट्टै हुनुहुन्छ, चिकित्सकले हेर्नुपर्‍यो भने स्पेशल सुरक्षाका मापदण्ड अपनाएर मात्रै जानुहुन्छ । त्यहाँ राखिएको बिरामीको रिपोर्ट नेगेटिभ आइपछि मात्रैं बल्ल आईसीयुमा लिन्छौं । यी तीन वटा ठाउँलाई हामीले कोभिडका हिसाबले व्यवस्थापन गरेका छौं, त्यहाँ कोभिड हुन्छ भन्ने सोचेरै काम गर्छौ । अरु वार्डलाई सकेसम्म कोरोना रिपोर्ट नेगेटिभ आइसकेपछि सार्न मिल्ने हिसाबले तयार गर्न खोजेका छौं ।

त्यसका लागि हामीले हाम्रो पाँचौ तलामा रहेको १५ वटा वेडलाई होल्डिङ सेन्टर भनेर राखिएको छ । तत्काल शल्यक्रिया गर्न नपर्ने र केही दिन कुरेर शल्यक्रिया गर्न सकिने छ भने होल्डिङ सेन्टरका रुपमा तयार पारिएको ट्रान्जिसन वार्डमा पठाउँछौं । त्यहाँ काम गर्ने स्टाफ, डक्टर सबैले कोभिड—१९ पोजेटिभ हुन सक्छ भनेर मापदण्ड अपनाएर काम गर्नुहुन्छ । त्यहाँबाट पिसीआर नेगेटिभ आएपछि आ—आफ्नो वार्डमा जान्छन्, त्यसपछि हामी शल्यक्रियामा लग्छौं ।

देशका धेरै ठाउँमा पिसिआर रिपोर्ट पर्खदापर्खदैं बिरामीले ज्यान गुमाउनु परेको घटनाहरु सार्वजनिक भइरहेका छन् । ट्रमामा त्यो अवस्था छैन् होइन त ?
इमर्जेन्सी सेवा हामी तत्कालै दिन सक्छौं । ५० बेडको इमर्जेन्सी छ, त्यसमा एउटा स्पेशल अप्रेशन थिएटर नै छ । जहाँ हामीले जटिल किसिमका शल्यक्रियाहरु गर्न पनि सक्दछौं । हाम्रो इमर्जेन्सीमा हामीले दुई वटा भेन्टिलेटर ब्याकअपका छ । त्यसकारण हामीले इमर्जेन्सीमा बिरामीलाई तत्कालै पनि भेन्टिलेटरको राख्न सक्छौं । म आइसकेपछि यो व्यवस्था गरेको हुँ ।

नेपालको सरकारी अस्पतालमा इमर्जेन्सीमा भेन्टिलेटर राखेको सायद ट्रमा सेन्टर पहिलो अस्पताल होला । लामो समय इमर्जेन्सीमा भेन्टिलेटरको बिरामी त राख्न सकिदैन्, तर पनि अरु व्यवस्थापन नहुन्जेल केही घण्टा त्यो भेन्टिलेटरमा राखेर बिरामीको ज्यान बचाउन सकियो । आईसीयु भेन्टीलेटर खोज्दा खोज्दै घण्टौं समय लाग्ने समस्या भएर ज्यान नजाओस भनेर यो व्यवस्था गरेको हो ।

ठूलो संख्यामा बिरामीहरु उपचार गर्न आउने वीर अस्पताललाई अहिले कोभिड—१९ अस्पताल बनाइएको छ । ट्रमामा त्यहाँका अन्य बिरामीहरु व्यवस्थापन गर्ने भनिएको छ । त्यो काम कत्तिको चुनौतीपूर्ण छ ?
कोभिडका बिरामीको चापले गर्दा अरु बिरामीले दुःख नपाउन भन्ने हेतुले बनाइएको ट्रान्जिसन प्लान हो । ट्रमाको क्षमता दुई लिटर छ र वीरको क्षमता ५ लिटर छ भने त्यो पाँच लिटरलाई दुई लिटरले त धान्दैन् । त्यहीकारण हामीले दुई लिटरको क्षमताअनुसार नै व्यवस्थापन गर्ने हो । वीरको इमर्जेन्सी, ओपिडी जस्ताकोतस्तै चल्छ ।

भर्ना गर्ने बिरामीको हकमा प्राथमिकताका आधारमा केही मेडिकल र केही सर्जिकल सम्बन्धिका बिरामीहरुलाई भर्ना गर्ने गरी तयारी भइरहेको छ । केही दिनमा उपचार चाहिने बिरामीले दुःख नपाउनु भनेर हामीले वीरमा पनि ट्रान्जिसन वार्डको व्यवस्था गरेका छौं । भर्ना भएर पहिलो ट्रान्जिसन वार्डमा जानुहुन्छ, पिसिआर नेगेटिभ आइसकेपछि हामीले ट्रमाको वार्डमा सार्छौ । पोजेटिभ आयो भने वीरकै वार्डमा जानुहुन्छ ।

युवा नेतृत्वका रुपमा ट्रमा सेन्टरमा तपाई आएपछि के—के सुधारका कामहरु भए ?
यो त मैले भन्दा पनि अरुले नै मुल्यांकन गर्ने कुरा हो । तर पनि मेरो अनुभवमा ६ महिना अगाडि र अहिलेको ट्रमामा धेरै कुराहरु परिवर्तन भएकाछन् । म आउने बितिकै अघिल्लो आर्थिक वर्षभित्र गर्न सकिने छोटो समयको योजना बनाएको थिए । केही एक डेढ वर्षमा गर्न सकिने मिड टर्म प्लानको जग बसाउन थालेको छु र केही लङ टर्म प्लान बनाएर काम गर्ने योजना छ । ट्रमा सेन्टर, ट्रमा उपचार पद्धति कस्तो हुनुपर्छ भन्ने अवधारणा दीर्घकालीन योजना हुन् । तीमध्ये छोटो समयको योजनाअन्तर्गत आन्तरिक व्यवस्थापन चुस्त बनाउने कुरालाई प्राथमिकता दिए । जस्तैः इमर्जेन्सी हरेक अस्पतालको मुहार हो, इमर्जेन्सीमा जाँदा जब त्यहाँको सेवा मन पर्छ बल्ल तपाई विश्वास लाग्छ यो अस्पताल राम्रो छ । त्यही कारण इमर्जेन्सीबाट सुधारका कामहरु थाले, पहिले इमर्जेन्सीलाई व्यवस्थित बनाए ।

धेरैजसो आकस्मिक इमर्जेन्सी शल्यक्रिया त्यही भइहाल्छन् । त्यहाँ एनेस्थेसिया, सर्जनको ब्याकअप छ, २४ सैं घण्टा इमर्जेन्सी शल्यक्रिया गर्न हामीलाई समस्या छैन् । त्यो सँगै रहेको वार्डमा अति जोखिमयुक्त बिरामीलाई व्यवस्थापन गर्न २ वटा भेन्टिलेटरसहितको आईसीयुको व्यवस्था भइसक्यो । अरु हिसाबले पनि हामी त्यहाँ प्रयासरत छौं । ट्रमा बिरामीहरु कहाँबाट, कसरी के साधनबाट आए भनेर हेर्नका लागि व्यवस्थित ट्रमा रजिष्ट्ररी सुरुवात गरिसकेका छौं । डब्लूएचओसँगको सहकार्यमा त्यहाँ संकलन रहेको डाटा चुस्तदुरुस्त राखेर भोलि ट्रमाको राष्ट्रिय नीतिमा व्यवस्थापनका लागि पनि सहयोगी हुन सक्छ ।

त्यसपछि हामीले हाम्रा नर्सिङ स्टेशनलाई एकदमै वैज्ञानिक बनाएका छौं । अहिले हाम्रा नर्सिङ स्टेशन प्राइभेट बैकका काउण्टरजस्तै देखिन्छन् । कोरोनाका बेला नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नु पनि हाम्रो चुनौती छ, पहिले खुल्ला खालको थियो । अहिले सुरक्षित प्रकारका नर्सिङ स्टेशन बनाइसक्यौं । ट्रमा व्यवस्थित क्याबिनहरु थिएनन्, भिआईपी र एफोर्ड गर्न सकिने बिरामीका लागि क्याबिन पनि पनि व्यवस्था गर्‍यौं । २ वेडको आईसीयु आइसोलेसन बनायौं । पाँच वटा अप्रेशन थिएटरमध्ये तीन वटा मात्रै चलिरहेका थिए, म आएपछि मर्मत गरेर पाँच वटै चल्ने गरी व्यवस्था गरिएको छ ।

बिग्रेर थन्किएका ७ वटा भेन्टिलेटर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा बनायौं । जसका कारण इमर्जेन्सीमा भेन्टिलेटर सेवा दिन सक्यौं । यो संस्था सुरु भएपछि एउटा चिया खाने ठाउँ थिएन, कोभिडका बेला सबै ठाउँ बन्द भएपछि बिरामीले चिया खाजा समेत खान नपाउने अवस्था थियो । अहिले क्याफटेरिया सञ्चालनमा ल्याएका छौं । ६ महिनाको अवधिमा स—साना कुराहरु सुधारका कामहरु भए ।

दीर्घकालीन योजनाहरु के छन् ?
योे केन्द्रीय अस्पताल मात्रै होइन्, राष्ट्रिय ट्रमा सेन्टर हो । नामले नै यो अस्पताल मात्रै नभएर देशकै केन्द्र हो भन्छ । ट्रमाको उपचार पद्धति कस्तो हुने भन्ने कुरा पनि राष्ट्रिय ट्रमा सेन्टरले निर्धारण गर्नुपर्छ । र, नेपाल सरकार यो ट्रमा सम्बन्धि उपचार पद्धतिका बारेमा टेक्नीकल इनपुट र टेक्निकल एडभाइजरी हिसाबले राष्ट्रिय ट्रमा सेन्टर काम गर्नुपर्छ भन्ने मेरो सोचाइ हो । ट्रमा सेन्टरको कन्सेप्ट पनि पनि तयही हो । अहिले स्वास्थ्य मन्त्रालयले ट्रमा सेवा सञ्चालन सम्बन्धि कार्यविधि बनाएको छ । त्यसमा मैले पनि सदस्यका हिसाबले इनपुट दिएको छु । यसमा देशलाई चाहिएको ट्रमा सेन्टरहरु होइन् कि ट्रमा उपचार पद्धति हो । ट्रमा उपचार पद्धति भनेको जसरी हामीले अरु रोगको उपचार गर्छौ, त्यसरी ट्रमाको पनि एउटा व्यवस्थित किसिमले उपचार पद्धति हुनुपर्छ भन्ने हो ।

किनभने, संसारमा मृत्युका कारणमध्ये ट्रमा पाँच कारणभित्र पर्छ । जसरी मुटुरोग, क्यान्सर रोग मृत्यु कारण हो, त्यसरी ट्रमा पनि मृत्यु एक प्रमुख कारकतत्व हो । विशेषगरी, विकासोन्मुख र अल्पविकसित देशहरुमा एक्सीडेन्टहरु, अकुपेसनल हाजार्ड, प्राकृतिक प्रकोपले गर्दा हुने दुर्घटनाहरु बढी छन् । त्यसलाई व्यवस्थित किसिमले म्यानेज गर्नुपर्छ भनेर अहिले हामीले लबिङ गरिरहेका छौं, कार्यविधि पनि बनिसकेको छ । यो कार्यविधिले प्राथमिक अस्पतालदेखि केन्द्रीय अस्पतालसम्म ट्रमा उपचारको छुट्टै खालको प्रोटोकल हुनुपर्छ भनेका छौं ।

अब नेशनल सेन्टरका रुपमा हामी सबै अस्पतालहरुलाई कसरी उपचार गर्ने, के के विधि अपनाउने, कति समयभित्र त्यो विधि अपनाइसक्ने, कति कुरा त्यो सेन्टरले गर्न सक्ने, गर्न नसक्ने कुरा कसरी प्रेषण गर्ने भन्ने ट्रमाको प्रोटोकलमा हामी धेरै अगाडि बढिसकेका छौं । दोस्रो, हामीजस्ता सेन्टरहरुले दुर्गममा भएका घाइते बिरामीहरुको उपचारका लागि टेलिमेडिसिनको कन्सेप्टमा पनि काम गर्दैछौं । विभिन्न सामाजिक सन्जाल तथा इन्टरनेटमार्फत त्यहाँको चिकित्सकले राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सकसँग सम्पर्क गरेर ती कुरा जानकारी गराउन सकेमा पनि धेरै कुरा सल्टिन्छ ।

त्यसले लङ टर्ममा हुने अपांगता कम गर्न सकिन्छ होला भन्ने लागेको छ । ट्रमा उपचार सम्बन्धि तालिमको केन्द्रका रुपमा पनि राष्ट्रिय ट्रमा सेन्टरलाई विकास गर्दैछौं । यसका लागि मैले अन्तर्राष्ट्रिय युनिभर्सिटीहरु जस्तै, भारतको एम्सको इमर्जेन्सीको प्रमुखसँग पनि छलफल गरेको छु । दोस्रो क्यानडाको म्यागिल युनिभर्सिटीले पनि ट्रमाको सिष्टममा सहयोग गर्छु भनेको छ । यसरी राष्ट्रिय ट्रमा सेन्टरले देशको केन्द्रीय अस्पताल मात्रै नभएर बृहत रुपमा ट्रमा उपचार पद्धतिको पनि केन्द्रका रुपमा काम गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय समन्वय, तालिम, शिक्षण, प्रशिक्षणका विषयतिर पनि पहल गरिरहेको छु ।

ठूला सुधारका योजना के छन् ? कहिलेबाट कार्यन्वयनमा आउँछन् ?
अलि मिड टर्म प्लानमा हामी डिजिटल हस्पिटलको कन्सेप्टमा जाँदैंछौं । सरकारी अस्पतालाई कसरी टेक्नोलोजी फ्रेण्डली बनाउने भनेर हामी त्यसमा वर्कआउट गरिरहेका छौं । दोस्रो योजनामा डिजिटल हस्पिटलको कुरा छ । केही समयमैं हामी त्यसमा जाँदैछौं । केन्द्रीय अस्पताल भएकाले यसको एम्बुलेन्स सेवा गुणस्तरीय बनाउन आवश्यक पर्दा डाक्टर र पारामेडिक्ससहितको सेवा सञ्चालन गर्नुपर्छ भनेर क वर्गको एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढिसकेको छ ।

अब एक महिनाभित्र एम्बुलेन्स आउँछ । भेन्टिलेटर, मनिटरसहितको सानो आईसीयुसहितको त्यो एम्बुलेन्स हुनेछ । केन्द्रीय अस्पतालले यस्तो चलाउनुपर्छ भनेर नमुनाका हिसाबले देखाउन खोज्दैछौं । ट्रेन सिसोर्स उतिखेरै घटनास्थल पुगेर घाइते बिरामीलाई उद्धार गरेर ल्याउने खालको सेवा हुने एम्बुलेन्स हुनेछ ।

गरिब र विपन्न वर्गका लागि आकस्मिक सेवा निःशुल्क पनि पहिलो पटक सुरुवात गर्नुभयो है ?
म आइसकेपछि गरिबहरुका अनेकन पीडा देखे । उपचारका लागि आउँछन्, सिरिन्ज किन्न पठाएको छ, ग्लोब किन्न पठाएको छ, सानो—सानो कुरामा पनि दौडाएको छ । त्यस्ता स—साना कुराहरुको त अस्पतालले जिम्मा लिनुपर्छ नि। विशेषगरी प्रारम्भिक चरणको आकस्मिक सेवा अस्पतालले दिनुपर्छ भन्ने मेरो पहिलेदेखिको सोचाइ थियो । कसरी गर्न सकिन्छ भनेर सोचिरहेको थिए ।

म निर्देशक भइसकेपछि मन्त्रीज्यूले बोलाउनुभयो, नयाँ नीति तथा कार्यक्रममा के ल्याउन सकिन्छ होला भन्दाखेरि मैले एउटा यो इनपुट दिए । कमसेकम केन्द्रीय अस्पतालबाट सुरु गरौ न त, प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गरौ त भनेर । उहाँले सबैलाई त गर्न सकिदैंन्, गरिब तथा विपन्न वर्गकालाई त राज्यले जिम्मा लिनैपर्छ । ठीक छ यो कुरा राम्रो भन्नुभयो । नीति तथा कार्यक्रममा पनि लग्नुभयो, त्यहाँ पनि समेट्यिो । लक्कीली कार्यन्वय गर्ने अस्पतालका रुपमा पनि हामी पहिलो भयौं । त्यो पनि एकदमैं खुशीको कुरा हो । आकस्मिक कक्षमा आउने बिरामीको उपचार हामी सुरु गरिहाल्छौं, त्यसको क्रेडिट बिल हुन्छ । त्यो बिरामीमा प्रयोग भएको सामानको हामीसँग रेकर्ड हुन्छ । गरिब र विपन्न छ भने हामी मिनाहा गर्दिन्छौं । पछि त्यो पैसा सरकारले हामीलाई दिन्छ । तिर्न सक्ने मान्छे हो भने पछि तिर्छ ।

अहिले जो पनि दुर्घटनामा पर्न सक्छ । त्यो बेला उसको खल्तीमा पैसा नहोला, आइडेन्टीफिकेसन नहोला । प्रहरीले ल्याएर आउँला । त्यस्तो अवस्थामा उपचार सुरु गरिहाल्ने, खर्चको कुरा पछि देखौंला । राज्य भएको अनुभव पब्लिकले पाउनुपर्छ भन्ने कन्सेप्टले ल्याएको कुरा हो । सरकारले सुरु गरेको यो कुरा स्वास्थ्यमा महत्वपूर्ण कोशेढुंगा सावित हुन्छजस्तो लाग्छ ।

६ महिनामा तपाईले अनुभव गरेको आधारमा संस्थालाई व्यवस्थित बनाउन के चाहिने रहेछ ?
मुख्य कुरा नियत हो, नियत सफा हुनुपर्छ । नेतृत्वमा आएपछि जागिरे मानसिकता त्याग्नुपर्छ । केही महिना र केही वर्षको प्रमुखको जागिर हो भन्ने सोचाइले आइयो भने जागिरे भइन्छ । जागिर त डाक्टर भएर गरिरहेकै थिए, नेतृत्वमा आएपछि मेरो पालामा केही न केही नयाँ हुनुपर्‍यो । नेतृत्व राम्रो छ भनेर आम मानिसले अनुभव गर्ने गरी केही नयाँ हुनुपर्‍यो, कर्मचारीले फिल गर्नुपर्‍यो। त्यसकारण राम्रो गर्नुपर्छ भन्ने नियत राख्नुपर्छ ।

व्यक्तिगत स्वार्थ राख्नुभएन्, डेडिकेसन हुनुपर्छ । संस्थाको प्रमुख पनि हुने अनि बेलुका गएर क्लिनिक पनि धाउछु, पैसा कमाउँछु भनेर सोच्नुभएन । जतिदिन यहाँ बस्ने हो, त्यति दिन यो संस्थाका लागि भनेर सोच्नुपर्‍यो । संस्थाको नेतृत्वमा रहनेहरुले बाहिर काम नगर्ने प्रस्ताव मैले पनि मन्त्रीज्यूसँग राखेको हो । प्रमुखको जिम्मेवारी दिनुहुन्छ भने बरु उहाँहरुलाई कति हो पुग्ने पैसा दिनुहोस तर विहान बेलुका बाहिर दौडने हटाइदिनुहोस भनेर मैले मन्त्रीज्यूसँग भनेको थिए । आउन त त्यो निर्णय आयो तर अलिकति अपुरो आयो । विकल्पसहित आएन भन्ने लाग्छ तर त्यो आफैमा राम्रो कुरा हो ।

हाम्रा सरकारी अस्पतालमा उपचार गर्ने बिरामीहरुको सदैव गुनासो सुनिने गर्छ—पर्याप्त समय दिएनन्, राम्रोसँग हेरेनन्, काउन्सिलिङ गरेनन् । यस्ता समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ ?
अहिलेसम्म हामीले स्वास्थ्य सेवामा पहुँचको कुरा गर्‍यौं । अब हामीले दिने स्वास्थय सेवा गुणस्तरीय हुनुपर्छ । अब सेवाका नाममा झारा टार्ने हुनुभएन, गुणस्तरीय स्वास्थ्यका सेवाका लागि माथि प्रश्नमा उठाइएका गुनासा महत्वपूर्ण पारामिटरहरु हुन् । एउटा चिकित्सकले एउटा बिरामीलाई कति समय दिने, बिरामीसँग कसरी बोल्ने, स्वास्थ्य सेवा औषधि गोली दिने र चिरफार गर्ने मात्रै होइन्, यो जीवन पद्धति पनि हो । त्यसकारण यसमा समय लाग्छ, हतारमा गर्ने कुरै होइन् ।

त्यसलाई व्यवस्थित गर्नका लागि हामी ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’को अवधारणामा जानुपर्छ । त्यो चिकित्सकका लागि पनि महत्वपूर्ण छ । त्यो संस्थामा चिकित्सकले जति समय दिन्छन्, क्वालिटी समय दिन्छन् । आफ्नो व्यक्तिगत तथा पारिवारिक जीवनका लागि पनि समय पाउँछ, त्यो चिकित्सकलाई राम्रो भयो । पब्लिकलाई कसरी राम्रो भयो भने किनभन्दा उ झर्किने, फर्किने केही छैन्, काम गर्ने त्यही मात्र हो । अर्को ठाउँमा जान हतार भयो, अनि त झर्किने फर्किने होला ।

त्यहीमात्र काम गर्ने हो भनेर आरामसँग गर्छन् । समयमा आउँछन्, समयसम्मै बस्छन् । तर, त्यो जनशक्तिलाई पर्याप्त सेवा सुविधा चाहिँ दिउ । गाँस, बाँस र कपासको ग्यारेण्टी गरिदिउ । ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ एकदमै राम्रो कन्सेप्ट हो । तर, कार्यसम्पादन आधारमा पारिश्रमिक पाउनुपर्छ । बढी काम गर्नेले बढी र कम काम गर्नेले कम पारिश्रमिक पाउने व्यवस्था हुनुपर्छ । सबैमा गोलमटोल प्रतिशतले यो समस्या समाधान गर्दैन् । त्यसकारण कार्यसम्पादनमा आधारित भएर हामीले लागु गर्‍यौ भने त्यो असाध्यै महत्वपूर्ण हो ।

सबै स्वास्थ्यकर्मीमा लागु हुनुपर्छ भन्ने आवाज पनि उठेको छ, त्यो आफैमा नराम्रो होइन् । तर, हेल्थको ट्रिटमेन्ट टिमको लिडर डाक्टर हिसाबले डाक्टर लागु गरेपछि विस्तारै अरुको लागु गर्न सकिन्छ होला । किनभने, १२—१४ सय सरकारी डाक्टरमा लागु गर्दाखेरि राज्यलाई त्यति ठूलो भार पनि पर्दैन् । तर, गुणस्तरीय स्वास्थ्य सेवाका लागि यो एकदमै महत्वपूर्ण र महत्वाकांक्षी योजना छ ।




क्याटेगोरी : अन्तर्वार्ता / विचार, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ