२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ?

स्पीच थेरापी के हो ? कुन अवस्थामा गरिन्छ ?


थेरापी भन्ने बित्तिकै मानिसहरुको दिमागमा फिजियोथेरापी आउँछ । स्पीच थेरापी र फिजियोथेरापी भिन्न विषय हुन् । यसको ब्याचलरदेखि पिएचडी/पोष्ट डक्टरल फेलोसीपसम्मको पढाइ हुन्छ । बोल्नमा मानिसहरुलाई समस्या हुँदा स्पीच थेरापी दिइन्छ । बोल्न नसक्ने समस्या वयस्क र बालवालिका दुवैलाई हुन्छ  । विभिन्न डिसअर्डरहरुका कारण बोलाइमा समस्या हुने गर्दछ ।

मुख्यतयाः अहिले अटिजम सम्बन्धी चेतना बढेको छ । अटिजमबाहेक बच्चा बोल्न नसक्नुमा विभिन्न कारणहरु हुन्छन् । अटिजम, सेरेब्रल पल्सी, वौद्धिक अपांगता, डाउन सिन्ड्रोम, बहिरोपनाजस्ता कारणहरुले गर्दा बच्चामा बोली आउँदैन् । स्पीच थेरापीमा बोली र बुझाइ दुई वटा पाटोहरु पर्दछन् । डेढ वर्षदेखि दुई वर्षको बीचमा यदि बच्चा बोलेन भने केही न केही कारण छ भन्ने बुझन्पर्छ । बच्चा दुई वर्षको भइसक्दा पनि भने बच्चालाई स्पीच थेरापिष्ट कहाँ लानुपर्छ ।

अहिलेका बच्चाहरुको विकास छिटो छिटो भइरहेको छ । पहिले बच्चाले शब्द निकाल्न १ वर्ष लाग्थ्यो भने हाल ९-१० महिनामै मिनिङफुल शब्द बोल्न गर्छन् । त्यस्तै, बच्चा ४-५ वर्षको हुँदासम्म तोते बोली बोली राख्यो र बच्चाको आवाजमा स्पष्टता आएन भने त्यसलाई हामी ‘मिसाटुकुलेशन’ भन्छौं । बच्चाको त्यो अवस्थालाई पनि स्पीच थेरापीले नै ठिक पार्ने हो ।

भकभकाउने समस्यालाई पनि उपचार स्पीच थेरापीबाटै ठीक गर्न सकिन्छ । त्यस्तै, वयस्कहरुमा सानोमै उपचार गरिएन भने ती समस्याहरु रहिरहने हुन्छन् । त्यसबाहेक स्ट्रोकका कारण पनि बोली नआउने वा बुझ्न नसक्ने स्थिती आउन सक्छ । त्यसलाई ‘अफिन्सिया’ (aphasia) भनिन्छ । यो पनि विभिन्न प्रकारको हुन्छ । लरबराएको बोली, तोते बोली वा भकभकाउने बोली आउने समस्या स्ट्रोकपछि वयस्क मानिसहरु देखिन सक्छन् । साथै, बोली/श्वरमा भर पर्ने प्रोफेसन जस्तैः गायक/गायिका, शिक्षकलगायतको श्वरयन्त्र (भोकल कड)मा समस्या आएर बोली बस्ने/परिवर्तन आउँछ, जसलाई भ्वाइस डिसअर्डर भनिन्छ ।  यी सबै अवस्थालाई स्पीच थेरापिष्टले नै उपचार गर्छन् ।

स्पीच थेरापीसँगै अडियोलोजी पनि पर्छ । अडियोलोजीको धेरै पाटोहरुमध्येको एउटा सुन्ने क्षमताको जाँच हो । बच्चाहरु जन्मेको १ महिना हुँदा नै उनीहरुले सुन्छन् कि सुन्दैनन् भनेर जाँच्ने केही मेसिन हुन्छ । हामीले त्योबाट बच्चाको सुन्ने क्षमता थाहा पाउन सक्छौं । बच्चा सानो हुँदा नै उसले सुनेकोजस्तो केही लक्षण देखाएन भने उसको कानमा ‘हेयरिङ एड फिट’ गरिन्छ यदि त्यसले पनि उसले सुन्न सकेन भने ‘ककलेड’ प्रत्यारोपण (cochlear implant) गरिन्छ ।

त्यो  मेसिन लगाएर मात्र हुँदैन, बच्चालाई त्यसपछि सुन्नलाई, बोल्नलाई तालिम  स्पीच थेरापीबाट हुन्छ । बच्चामा बहिरोपना छ भनेपनि बेलैमा थाहा पाएर मेहिनहरुलाई जडान वा प्रत्यारोपण गरेर स्पीच थेरापी दिन सक्यो भने ऊ सामान्य अवस्थामै आउँछ । जत्ति छिटो पत्ता लाग्छ र जत्ति छिटो उपचार गराइन्छ, त्यति नै छिटो उसको अवस्थामा सुधार हुन्छ ।

स्पीच थेरापी गर्ने विभिन्न तरिकाहरु हुन्छन् । सुन्ने या नबुझ्ने के कारणले भएको हो, त्यसको पहिचान गरेर मात्रै कुन तरिकाबाट थेरापी गर्ने भन्ने निश्चित गरिन्छ । यो एक ‘एभिडेन्स वेस्ड प्रायक्टिस’ हो । धेरै अनुसन्धानहरुबाट प्रभावकारी  स्पीच थेरापी टेक्नीकहरुको विकास हुन्छ । यस सम्बन्धी अनुसन्धान पनि प्रशस्तै हुन्छन् । अनुसन्धानकै लागि भारत, अमेरिकाजस्ता देशहरुमा धेरै बजेट छुट्याइन्छ ।

प्याथोलोजी एण्ड अडियोलोजी पढ्दा अध्ययनमा हरेक ठाउँमा सैद्धान्तिक कक्षासँगै क्लिनिकल प्रयाक्टिस हुने भएकाले त्यहाँ पढाइको तहअनुसार नै बिरामी दिइन्छ र स्नातक तह सकिसक्दा हामीले अनुभव पनि पाइसकेका हुन्छौं ।

बोली सम्बन्धि समस्या भएको मानिसको उपचार औषधिबाट हुँदैन् , यसका लागि स्पीच थेरापी नै गर्नुपर्छ । यसको उपचार अवधी बिरामीको उमेर र अवस्थामा भर पर्छ । सामान्यतयाः ६ महिनादेखि १ वर्षसम्ममा उपचार हुन्छ । यो एकदमै प्रभावकारी विधि हो । यो विस्तारै परिणाम दिने विधी हो । त्यसैले यसमा समय लाग्छ । बच्चालाई आएको अवस्थामा वान टु वान राखेर सुरुमा बस्नेदेखि बोल्न र बुझ्नका साथै कग्नेटीभ एबिलिटिज (cognitive abilities) मा काम गरिन्छ ।

अभिभावकहरुलाई विशेषतः बच्चाहरुलाई तपाईँले एउटा कुनामा मोबाइल फोन दिएर छोडेर बच्चाले बोल्न सिक्दैन् । बच्चालाई समय दिएर खेल्ने र अन्तक्र्रिया गर्ने गर्नुपर्छ । यदि बच्चामा अटिजम, सेरेब्रल पल्सीजस्ता कुनै समस्या छन् भनेपनि आमाबावुले दिएको समय र सिकाइले परिवर्तनहरु देखा पर्छन् ।

बोली नआएको बच्चालाई अभिभावकले गर्नुपर्ने कुरा

१. सुरुमा सकेसम्म नबोलेको कारण पहिचान हुनुपर्छ । बच्चा नबोलेको अवस्थामा स्पीच थेरापिस्ट कहाँ लग्नुहोस् ।

२. उसलाई समय दिएर अन्तक्रिया गर्नुहोस् ।

३. आमाबुवा बच्चासँग खेल्नुहोस् ।

४. बच्चाले गरेको कामलाई बोलेर सुनाउने र सिकाउने ।

५. बच्चालाई फोन खेलाउन दिनु हुँदैन् । यदि दिइहालेमा पनि सिमित समयमा आफ्नै निगरानीमा राखेर दिनुपर्छ ।

६. बच्चाको लागि सहज वातावरण निर्माण गर्ने ।


(स्पीच थेरापिष्ट अर्याल अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा, अभानी फाउण्डेसन हाडीगाउँमा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ