२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारमुटुका भल्बको काम के हो ? यो कसरी बिग्रन्छ ?

मुटुका भल्बको काम के हो ? यो कसरी बिग्रन्छ ?


मुटुको भल्व भन्नाले मुटुको कोठमा भएका ढोकाहरु हुन् । मुटुको एउटा कोठबाट अर्को कोठामा रगत जान त केही कुराले छुट्याउनुपर्‍यो र त्यो छुट्याउने चिज नै मुटुको भल्व हो । मुटुमा यी ढोकाहरु चार वटा हुन्छन् । राइट आर्टियम र राइट भेन्ट्रिकलको बीचमा एउटा भल्व हुन्छ, जसलाई ट्रिकुसपीड भल्व भनिन्छ ।

राइट भेन्ट्रिकल र त्यसले फोक्सोमा रगत पठाउने पल्मोनरी आर्टरी हुन्छ, त्यसमा भएको भल्वलाई पल्मोनरी भल्व भनिन्छ । त्यसैगरी देब्रेतिर पनि दुई वटा भल्व हुन्छन् । लेफ्ट आर्टियम र लेफ्ट भेन्ट्रिकलको बीचमा एउटा ढोका हुन्छ, त्यसलाई मिट्रल भल्व भनिन्छ । लेफ्ट भेन्ट्रिकलबाट महाधमनी (एओर्टा)मा रक्तसञ्चार हुनलाई जुन ढोका हुन्छ, त्यसलाई एओर्टा भल्व भनिन्छ ।

मुटुको भल्वको काम के हो ?

मुटुको भल्वहरु चाहिने बेलामा खुल्नुपर्छ र नचाहिने बेलामा बन्द हुनुपर्छ । जतिबेला मुटुका कोठाहरु रगत  भरिनुपर्छ त्यसबेला यी भल्वहरु बन्द वा खुला हुनुपर्छ र जतिबेला यो रक्तसञ्चार हुनुपर्छ यी भल्वहरु बन्द हुनु वा खुल्नुपर्छ । मुटुले प्रत्येक धड्कनमा रगत पम्पभै महाधमनी र पल्मोनरी आर्टरीमा पठाउँछ । जुन बेला एओर्टामा र पल्मोनरी आर्टरीमा रगत सञ्चार हुन खोज्छ त्यतिबेला मुटु धड्कन्छ,  त्यतिबेला एओर्टिक र पल्मोनरी भल्व खुल्छ ।

त्यतिबेला नै हाम्रो रगत फोक्सो र हाम्रो सम्पूर्ण शरीरमा जाने गर्छ । मुटुको लेफ्ट भेन्ट्रिकल र राइट भेन्ट्रिकलको कोठामा रगत भरिनलाई बीचमा भएका माइट्रो भल्व र ट्रिकुसपीड भल्वका ढोकाहरु खुल्नुपर्छ । मुटुको कोठामा जुन रक्तसञ्चार हुन्छ, त्यसलाई रोक्ने र त्यसलाई अगाडि बढ्न दिन ती ढोकाहरु बन्द हुने र खुल्ने गर्दछ ।

मुटुका भल्वहरुमा के कारणले क्षति हुन्छ ?

मुटुका भल्वहरुमा क्षति हुने एउटा कारण जन्मजात समस्या हुन्छ । जस्तैः सानोमा मुटुको भल्व बन्दा नै असामान्य बन्छ । त्यसले गर्दा मुटुको भल्व सानो हुने, कमजोर हुने र मुटुका भल्वहरुमा लिक हुने सम्भावना बढ्छ । कहिलेकाहीं जन्मजातको भल्व नै बनेको हुँदैन्, त्यसलाई हामी एर्टेसिया (Atresia) भन्दछौं ।

यदि कसैको जन्मदा भल्व ठिक थिए । तर, जन्मिसकेपछि आउने समस्यालाई एकवार्ड भनिन्छ जस्तैः मान्छे बढ्दै जान्छ र मुटुको बाथरोग (जोर्नी दुखाइ) हुने र वयस्क हुँदै जाँदा मुटुको भल्वमा डिजेनेरेसन हुने वा बिग्रिने हुन्छ । यो अवस्थामा मुटुको भल्वका अवस्थाहरु परिवर्तन हुँदै जान्छ । यसले पनि मुटुको भल्वहरु लिक हुने वा चुहिने (Regurgitation) र सानो वा न्यारो हुने हुन्छ ।

मुटुका भल्वहरुमा ड्यामेज हुँदा वा चुहिँदा कस्तो अवस्थाहरु सिर्जना हुन्छन् ?

यदि मुटुका भल्वहरु साँघुरो भयो (stenosis) र ढोकाहरु खुल्दैनन्, तब एउटा कोठाबाट अर्को कोठामा रक्तसञ्चार हुनुपर्ने, जसलाई हामी सामान्य फिजियोलोजी भन्छौं त्यो डिस्टर्ब हुन्छ । अगाडि पट्टीको कोठामा पछाडीपट्टीको कोठाबाट राम्रोसँग रक्तसञ्चार हुन सक्दैन् ।

त्यसले गर्दा बिरामीलाई स्याँस्याँ हुने, मुटु हल्लिने, कमजोर हुने, थकाइ महसुस हुनेजस्ता समस्याहरु आउन सक्छन् । पछि त्यो बढ्दै गयो भने त्यसको विकराल रुप हुनसक्छ । भल्वमा लिक (Regurgitation) हुँदा अगाडीपट्टी बग्नुपर्ने रगत पछाडि फर्केर फिर्ता आउँछ । यसले पनि विभिन्न समस्या हुन सक्छन् ।

भल्व ड्यामेज हुने कुरा जीवनशैलीसँग कति सम्बन्धित छ ?

खानपान र जीवनशैलीले मुटुको भल्वलाई प्रत्यक्ष असर गर्दैन । यसले मुटुको कोरोनरी आर्टरीलाई असर गर्छ । उच्च रक्तचाप, मधुमेहजस्ता रोगहरु कोरोनरी आर्टरीलाई असर पुगेका कारण हुने गर्छन । तर, मुटुको बाथरोग पनि मुटुको भल्व सम्बन्धि रोगहरुमा जोडिन्छ ।

हाम्रो जस्तो देशमा कूपोषण भएका व्यक्तिहरु जो पिछडिएका ठाउँमा बसोवास गर्दछन्, आर्थिक अवस्था कमजोर भएका र भेन्टीलेसनको अभाव भएका व्यक्तिहरुको घाटीमा समस्या भएर मुटुको बाथरोग हुने सम्भावना हुन्छ । यसरी मुटुको बाथरोगबाट जीवनशैली र खानपान भल्वसँग अप्रत्यक्ष रुपमा सम्बन्धित छ ।

मुटुको भल्भहरु कसरी फेरिन्छन् ?

मुटुका भल्व जब धेरै क्षति, साँघुरो र लिक हुने गर्छ । त्यस्तो अवस्थामा बिरामीको दैनिक गर्नुपर्ने काम गर्नलाई नै अप्ठ्यारो अवस्था हुन सक्छ । उसको कार्यशक्ति घट्छ । यसका निश्चित मेडिकल इन्डिकेसन हुन्छ, जसमा के लक्षण लिएर आयो भने मुटुको भल्भको अवस्था कस्तो छ भनेर हेर्न सकिन्छ ।

यदि मध्यम वा सिकिस्त अवस्था लिएर आयो भने र औषधि दिएर निको नहुने अवस्था छ भने हामीले भल्वको अप्रेशन गर्छौं । प्रायजसो भल्वको उपचार गर्दा भल्वलाई बचाउने कोशिस गरिन्छ । त्यसलाई रिपेयर (Repair) गर्ने भनिन्छ । किनकी मानव अंगलाई समयमै उपचार गरेर आफ्नै अंग नै भयो भने त्यो दीर्घकालीन हुन्छ भन्ने कुरा विज्ञानले प्रमाणित गरिसकेको कुुरा हो । रिपेयरपछि उक्त भल्वले राम्रोसँग काम गर्न सक्छ ।

रिपेयर गर्न नसक्ने अवस्था छ भने यसलाई फेरिन्छ । भल्भ दुई प्रकारले फेरिन्छ । छातीलाई चिरेर र छाती नचिरी नसाबाट क्याथ्रेडल वेस भल्व हालेर पनि फेर्न सकिन्छ । मुख्यतयाः अप्रेशन गरेर भल्वको रिपेयर गरिन्छ वा फेरिन्छ ।

मुटुको भल्व फेरिसकेपछि कस्ता अवस्थाहरु आउन सक्छन् ?

रोगको हिसाबले हामीले त्यो बिरामीलाई निको पार्छौं । र, बिरामीको दैनिकी सहज पनि हुन्छ । कुनै पनि शल्यक्रिया गरेपछि बिरामीलाई आफ्नो शरीरमा कृतिम अंग राखेको छ भन्ने कुराले मानसिक तनाव हुन सक्छ । यो तनाव केही समयपछि बिस्तारै हटेर जान्छ । त्यस्तै बिरामीले नियमित रुपमा औषधिको सेवन गर्नुपर्ने बाध्यता चाहिँ हुन्छ ।

आर्टिफिसियल भल्वहरु मेटल ( Metallic) तथा बायोलोजिकल (Biological)  हुन्छन । । यी भल्व राखेपछि बिरामीले रगत पातलो हुने वारफरिन औषधि खानुपर्ने हुन्छ । यदि मेटालिक भल्व राखेको छ भने जिन्दगीभर ब्लड थिनर (blood thinner)  औषधि सेवन गर्नुपर्छ । बायोलोजिकलमा केही समय यो औषधि खाएरपछि अन्य औषधि खान पनि सकिन्छ । रगत पातलो गर्ने औषधि खाएपछि अन्य विभिन्न समस्याहरु आउन सक्छन्, जस्तै बिल्डिङ जसको कारण यसता रगत जाँचहरु  गराइराख्नुपर्ने हुन्छ ।

मुटुको भल्व परिवर्तन गरेपछि के—कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

मुटुको भल्व फेरिसकेपछि समस्या आउन सक्छ नै । मेटालिक भल्व हाल्दा रगत पातलो पार्नुपर्ने अवस्था हुन्छ र यो गर्दा पनि धेरै पातलो भयो भने अर्को समस्या आउन सक्छ । भल्व बन्द हुने, इन्फेक्सन हुन सक्छ । त्यस्तै भल्वले ठाउँ पनि छोड्न सक्छ । यो हजारमा एक जनामा आउने समस्या हो । नियमित औषधिको सेवन र जाँच गराइरहँदा यस्ता समस्याहरुबाट सजिलै बच्न सकिन्छ ।

त्यस्तै, बायोलोजिकल भल्व राख्दा डिजेनेरेशन भएर पुनः सानो हुने वा लिक हुने हुन सक्छ । यो भल्व फेरेको १०–१५ वर्षपछि हुने गर्छ । औषधिको सेवनले नै यी सम्पूर्ण अवस्थालाई सामान्य गराउन सक्छ । भल्वको परिवर्तनले बिरामीको अवस्थालाई सुधार्दै सहज गराउने हो ।

(वरिष्ठ मुटु रोग विशेषज्ञ डा. गजुरेलसँगको कुराकानीमा आधारित)




क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ