२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसम्पादकीयः ‘भाइरल’हरु सामाजिक संजालमा नर्सिङ पेशामाथिको हिंसा बन्द गर

सम्पादकीयः ‘भाइरल’हरु सामाजिक संजालमा नर्सिङ पेशामाथिको हिंसा बन्द गर


केही दिनयता नर्सहरुमाथि सामाजिक संजालमा आक्रमण जारी छ । भरतपुर क्यान्सर अस्पतालमा कार्यरत नर्ससँग भएको सामान्य विवादलाई लिएर सामाजिक संजालमा भाइरल एक युवतीले भिडियो बनाएपछि यो सुरु भएको हो । आफ्ना बिरामीको उपचार गर्ने नर्सको व्यवहारमाथि प्रश्न उठाउँदैं ती युवतीले भिडियो बनाएपछि विवाद भएको थियो । त्यो विवाद प्रहरी प्रशासनसम्म पुगेर किनारा लागिसकेको थियो ।

तर, यहीबीच ती युवतीले पुनः सामाजिक संजालमा अर्को भिडियो अपलोड गरेपछि अहिले समग्र नर्समाथि नै घृणाको आगोको रापले सामाजिक संजाल जलिरहेको छ । मोबाइल अगाडि राख्ने र भाइरल हुने होडमा नर्समाथि तथानाम र तल्लोस्तरको गाली गर्ने भीडले सिंगो सामाजिक संजाल रंगिएको छ । जसका कारण अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिरामीको जीवन बचाउन लागिपर्ने नर्सहरुको मनोबल गिरेको छ । सामाजिक सन्जाल अहिले सिंगो नर्सिङ पेशामाथि हिलो छ्याप्ने र घृणा पोख्ने अस्त्रमा रुपान्तरण हुँदैं गएको छ ।

एकातर्फ, न्यून पारिश्रमिकका कारण नर्सहरु विदेश पलायन भइरहेका छन् । अहिलेकै अवस्थामा यो पलायन जारी रहने हो आगामी केही वर्षमा हाम्रा अस्पतालहरु नर्सबिहीन हुने जोखिम छ । अर्कोतर्फ, सामाजिक संजालमा उपचारजस्तो संवेदनशील र जटिल कार्यमा डट्ने नर्सहरुप्रति हौसला होइन्, घृणा फैलाउने यो कार्यले नर्सहरु थप विचलित हुन पुगेका छन् ।

सामाजिक संजालमा भाइरल हुने र सामाजिक अभियन्ताका नाममा चन्दा उठाउने नाममा सामान्य मानवीय मर्यादा भुलेर सिंगो पेशामाथि नै आक्रमण गर्नु निन्दनीय छ । केही नर्सहरुका गल्ती, कमी—कमजोरीमाथि टिकेर सिंगो नर्सिङ पेशालाई नै धरासायी बनाउने गरी सामाजिक संजालमार्फत भएको यो अमानवीय आक्रमणले सामाजिक संजालले कसरी समाजमा विष फैलाइरहेको छ भन्ने देखाउँछ । नर्सिङ पेशा सेवाभाव र संवेदनासँग जोडिएको पेशा भएकाले नर्सहरुले पनि आफ्नो व्यवहार, कर्तव्यलाई दयाभावयुक्त बनाउन आवश्यक छ ।

तर, यति भन्दैंमा एउटा अस्पतालमा हाताभित्र भएको विवादलाई लिएर समाज नै तरंगित हुन आवश्यक छैन । यो घटनाले अनियन्त्रित भइरहेको ‘भाइरल समाजसेवा’लाई एउटा परिधीमा ल्याउन राज्य लाग्नुपर्ने आवश्यकतालाई समेत महसुस गराएको छ । त्यसबाहेक सामाजिक संजालमार्फत भइरहेको नर्समाथिको मनोवैज्ञानिक हिंसालाई तत्काल रोक्न पनि राज्यका निकायहरुको तत्कालै पहल कदमी लिनुपर्छ । हामी जोसुकै बिरामी भएर थला पर्दा अस्पतालमा हेरविचार गर्ने नर्सहरुमाथि सामाजिक संजालमार्फत गरिरहेको यो हिंसा के हितकर छ ? ठन्डा दिमागले सोचौ त ।

उपचारका क्रममा हुन सक्ने कमी कमजोरी र त्रुटिलाई एउटा घटना विशेषका आधारमा सामान्यीकृत गरेर सिंगो पेशामाथिको हमलाले नर्सहरु बिनाको स्वास्थ्य सेवाको कल्पना गर्न सकिदैंन् । यस्ता कमी, कमजोरी र त्रुटिहरु भए अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भाइरल हुनका लागि भिडियो बनाउनेभन्दा पनि सम्बन्धित निकायका कानुनी उपचारका लागि जाने कुरा श्रेयकर हुन्छ । त्यसका हामी सबै उत्तिकै संवेदनशील र जिम्मेवार बन्न आवश्यक छ ।

र, अहिले नर्समाथि सामाजिक संजालमा भइरहेको हिंसा तुरुन्तै बन्द गरिनुपर्छ । चित्त नबुझेका विषयहरुलाई असन्तुष्ट पक्षले राज्यका सरोकारवाला निकायमार्फत उपचार खोज्नुपर्छ । अनुहार अगाडि मोबाइल वा क्यामरा तेर्साउने र मनलाग्दी बोलेर घृणा फैलाउने काम तत्काल बन्द गरिनुपर्छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ