२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारजलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको असर

जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारेको असर


जलवायु परिवर्तन र यसले मानव स्वास्थ्यमा ल्याउने जोखिम अहिले विश्वको एउटा प्रमुख मुद्धा बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रतिवेदनअनुसार कुपोषण, मलेरिया, झाडापखाला, तातो हावाका कारण सन् २०३० देखि सन् २०५० सम्म करिब २ लाख ५० हजारको मृत्यु हुन सक्ने आँकलन गरेको छ ।

यसैगरी जलवायु परिवर्तनको विज्ञान सम्वन्धी अनुसन्धान र जानकारी दिने अन्तर सरकारी मञ्च (Inter–governmental Panel on Climate Change, IPCC) आईपीसीसी एआर छैठौँ प्रतिवेदनअनुसार विश्वमा ४० प्रतिशतभन्दा धेरै मानिसहरु जलवायु परिवर्तनको उच्च जोखिममा छन् । पारिस्थितीक प्रणाली परिवर्तनले प्रजातिहरू लोप हुँदै गएको, मानव स्वास्थ्य र जीविकोपार्जनमा असर गरेको कुरा प्रदिवेदनले स्पष्ट पारेको छ ।

जलवायु परिवर्तनले वास्तवमा विश्वभरका देशमा स्वास्थ्य संकट सामना गर्नु परेको छ । जनस्वास्थ्यमा जलवायु परिवर्तनका प्रभावहरू बहुआयामिक हुन्छन् र भौगोलिक स्थान, सामाजिक, आर्थिक कारकहरू, र अवस्थित स्वास्थ्य सेवा पूर्वाधारका आधारमा भिन्न हुन सक्छन् । जलवायु परिवर्तनले बाढी, पहिरो, आगलागी, तातो हावा, हावाहुरीले विभिन्न किसिमका घटनाहरु दिनानुदिन बढिरहेका छन् ।

तापक्रम वृद्धिले गर्दा तातो हावाको दिनहरु पनि लम्बिरहेका छन् । जसले गर्दा मानिसलाई स्वास्थ्य सम्बन्धित विभिन्न समस्या भोग्नुपर्छ । विशेष गरी गर्भवती महिला, बाहिरी वातावरणमा काम गर्ने मान्छे, वृद्धवृद्धा रोगका बिरामीहरुलाई यसको असर बढी हुने गर्दछ । शरीर थकान हुने, बेहोस हुने, श्वासप्रश्वास सम्बन्धित रोग, दीर्घ रोगका बिरामीहरु समस्या वृद्धि आदि हुन् । नेपालका विभिन्न सहरहरुमा पनि चरम गर्मीले गर्दा मानिसको अकालमा नै ज्यान गएको छ । जलवायु परिवर्तनले गर्दा मानसिक विकारहरु जस्तै डिप्रेसन, रिस लामो समयसम्म हुन सक्छ ।

चरम गर्मी मौसमको स्वास्थ्य प्रभावले हावाहुरी, बाढी, पहिरो आगलागीले हुने हानी नोक्सानीबाट मानिसले आर्थिक, सामाजिक, शारीरिक र मानसिक स्वास्थ्य असरहरु भोग्नुपरेको छ । मौसम फेरबदलका कारण कीटजन्य, पानीजन्य, खानाजन्य रोगहरु बढ्ने पनि उत्तिकै जोखिम रहेको हुन्छ । जलवायु परिवर्तनबाट हुने संकटासन्नता त्यस ठाँउमा हुने जोखिम, संवेदनशीलता र उथानशीलले मापन गर्छ । मानिस वा समुदाय जलवायुजन्य घटनासँग सम्बन्धित हुन्छ । संवेदनशीलता भन्नाले सामाजिक वातावरणीय अरुबाट असर भन्ने बुझिन्छ । उथानशील भन्नाले मानिस वा समुदायको जलवायु परिवर्तनसँग जुध्ने क्षमता निर्धारण गर्छ । संकटासन्नता बालबालिका वृद्धा बिरामीजस्ता मानिसहरु जोखिम हुन्छ ।

कीटजन्य रोग

कीटजन्य रोगहरुका जीवाणुहरु विशेष गरी लामखुट्टेले मलेरिया, डेंगीजस्ता रोगहरु दिन प्रतिदिन तराई, पहाड र हिमालमा बढ्दै गइरहेको छ । जलवायु परिवर्तनले गर्दा लामखुट्टेको वासस्थानदेखि बायलोजिकल प्रकिया पनि फरक पर्दै गएको छ ।

नेपालमा डेंगी रोग सन् २००४ मा पहिलो पटक एक व्यक्तिलाई देखिएको र सन् २००६ बाट प्रकोपको रुप फैलिदै गएको छ । गत वर्ष ५४ हजारभन्दा बढी मानिस संक्रमित थिए भने यो वर्षको भदौ महिनाको बीचसम्म आइपुग्दा ३० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने मनुसुन लम्किएसँगै यसको संक्रामक दर बढ्दो उच्च रुपमा छ ।

डेंगीसँगै चिकनगुनिया, जिका, जापनीज इन्सेफ्लाइटिजजस्ता रोग लामखुट्टेबाट नै सर्ने गर्छन् र डेंगीकोजस्तै लक्षणहरु पनि छन् ।

पानी र खानाबाट सर्ने रोग

पानीजन्य र खानाजन्य संक्रामक रोग पनि तापक्रम वृद्धि र वर्षासँग सम्बन्धित छ । पानीजन्य जीवाणुहरु दूषित खानेपानी बाट हुने रोगहरु हैजा, झाडापखाला र छालाजन्य रोगहरु हुन् । विषेशगरी बाढी आएको बेला केही ठाँउमा खानेकुराको सप्लाई चेन बन्द हुन्छ र खानेकुरा पनि छिटो कुहिने गर्दछ ।

खाद्य सुरक्षा हुनलाई जब सबै व्यक्तिलाई पर्याप्त सफा र सुरक्षित पौष्टिक खाना हुन्छ, तब मात्र स्वस्थ्य जीवन बन्छ । जलवायु परिवर्तनले गर्दा खाद्य उत्पादनमा कमीलगायत विभिन्न किसिमका किटले असर गरिरहेको हुन्छ । चरम मौसम फेरबदलको गतिविधीहरुले गर्दा पौष्टिक खानाहरु उत्पादनमा कमी भएसँगै खाद्यान्न सामानको मुल्य वृद्धि पनि हुन्छन् ।

त्यसैले जलवायु परिवर्तनले असर असमानपूर्वक हुन्छन् । कम आय भएको मुलुकका मानिसमा विषेश गरी महिला, बालबालिकाहरुमा खाद्य असुरक्षा र कुपोषणहरु हुने गर्दछ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न संक्रामक रोगहरुका बारेमा निरन्तर निगरानी र रोग फैलिएको ठाउँ पहिचान गर्न जरुरी छ । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर जनतामा छिटो सूचना सम्प्रेषण गर्नु पर्दछ ।

रोगको निर्मुलीकरण र व्यवस्थित उपचार हुने संक्रामक रोगहरुको हटस्पट ठाँउहरुमा आपत्तकालीन स्वास्थ्य शिविरबाट सजिलोसँग उपचार हुनु पर्दछ ।

स्वास्थ्य सम्बन्धी अनुकूलन योजना बनाएर सबै जनस्वास्थ्य सम्बन्धित सरोकारवालाबाट निश्चित कार्ययोजना बनाई जलवायु परिवर्तनबाट हुने स्वास्थ्य संकटबाट देशलाई बचाउन अपरिहार्य छ । साथै, सबै नीतिमा स्वास्थ्यलाई एकीकरण गर्न पनि उतिकै जरुरी छ ।

(थापा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ