२०८२ चैत्र ४, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?

स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने?


अस्पतालको ओपीडीमा बिरामी जाँच्दै गर्दा उपचारको खर्च सुन्ने बित्तिकै जब एउटा व्यक्तिको अनुहारको खुसी हराएको देख्छु तब स्वास्थ्य सेवा देशको अर्थतन्त्र र राजनीतिको प्रत्यक्ष ऐना हो भन्ने मलाई महसुस हुन्छ । हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट करिब २३ प्रतिशतले कटौती गरेर ५६ अर्बबाट ४३ अर्ब २६ करोड रुपैयाँमा खुम्च्याइएको छ । अंकमा हेर्दा यो केवल १३ अर्बको मात्र कमी सुनिएला तर एउटा चिकित्सकको आँखाबाट हेर्दा यो हजारौं बिरामीको औषधि, सयौं अस्पतालका आधुनिक मेसिन र लाखौं नेपालीको बाँच्ने आशामाथि परेको बज्रपात हो ।

बजेट सिलिङ घट्नुको पछाडि मन्त्रालयले विनियोजित पुँजीगत बजेट पूर्ण रूपमा खर्च गर्न नसक्नु एउटा कारण हुन सक्छ । अथवा हाम्रो प्रशासनिक संयन्त्रले अझै पनि भौतिक पूर्वाधार (सडक, पुल, भ्यू टावर)लाई मात्र ‘विकास’ देख्ने र स्वास्थ्य–शिक्षालाई ‘खर्च’ मात्र मान्ने पुरानो सोच त्याग्न नसकेको पो हो कि भन्ने पनि भान पर्छ । यस्ता प्रशासनिक र प्रक्रियागत कमजोरीलाई समयमै सच्याउनुको साटो बजेट नै कटौती गर्नु ‘गलत उपचार’ हो भन्न कुनै दुविधा हुँदैन् ।

नेपालले आफ्नो हरेक औपचारिक स्वास्थ्य रणनीतिहरूमा स्वास्थ्य बजेटलाई कुल राष्ट्रिय बजेटको कम्तिमा १० प्रतिशत पुर्‍याउने प्रतिबद्धता बारम्बार दोहोर्‍याउँदै आएको छ । तर, यथार्थमा हामी त्यो लक्ष्यको आधा बाटो पनि काट्न नसकिरहेको अवस्थामा उल्टै २३ प्रतिशतको कटौती हुनु आफैंमा विरोधाभासपूर्ण छ ।

सन् २००१ को ‘अबुजा घोषणापत्र’ (Abuja Declaration) मार्फत नेपाललगायतका विकाशोन्मुख राष्ट्रहरूले स्वास्थ्यमा कुल बजेटको कम्तिमा १५ प्रतिशत विनियोजन गर्ने सामूहिक प्रतिवद्धता जनाएका थिए । दक्षिण एसियाली परिवेशमा बजेटमा स्वास्थ्यतर्फ १० प्रतिशतलाई एउटा सम्मानजनक र अनिवार्य ‘थ्रेसहोल्ड’ मानिन्छ । तर, हामी ४–५ प्रतिशतमा खुम्चेर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट झन्–झन् टाढा धकेलिँदैछौं । थाइल्याण्ड र श्रीलंकाजस्ता देशहरूले स्वास्थ्यमा गरेको उल्लेख्य लगानीकै कारण उनीहरूको मानव विकास सूचकांक र प्रतिव्यक्ति आयमा सुधार आएको हो भन्ने यथार्थ हामी सामु छ ।

स्वास्थ्यमा बजेट घट्नुको सिधा असर आम नागरिकको खल्तीमा पर्छ । अहिले पनि नेपालीले उपचारको झण्डै ५५ प्रतिशत खर्च आफ्नै खल्ती (Out–of–pocket) बाट बेहोर्नुपर्छ । जब राज्यले लगानी घटाउँछ, यो भार अझ बढ्छ र उपचारको खर्चको कारणले नागरिक गरिबीको रेखामुनि पुग्न बाध्य हुन्छन् । यस्तो बेला सिलिङ घट्नुले हामीलाई ‘युनिभर्सल हेल्थ कभरेज’को लक्ष्यबाट पनि झनै टाढा धकेल्छ ।

स्वास्थ्य बीमा कार्यक्रम अहिले नै शोधभर्नाको संकटले थला परेको छ । जबसम्म स्वास्थ्य बजेटलाई १० प्रतिशत पुर्‍याइँदैन, तबसम्म बीमा बोर्डले अस्पताललाई समयमा पैसा तिर्न सक्दैन् । बजेट कटौतीले धरासायी भएको स्वास्थ्य बीमा बन्द नहोला भन्न सकिन्न । त्यस्तै, संविधानले स्वास्थ्यलाई मौलिक हक त भन्यो तर बजेट बिनाको हक केवल कागजको खोस्टो मात्र हो । १० प्रतिशत बजेट नभएसम्म देशभरका आधारभूत अस्पतालमा दक्ष चिकित्सक र निःशुल्क औषधि पुर्‍याउन सम्भव छैन । स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालहरूमा अलपत्र पर्नेछन् । बजेट अभावमा त्यहाँ आवश्यक उपकरण र दक्ष जनशक्ति भएनन् भने ती संरचना ‘सेतो हात्ती’ मात्र बन्ने जोखिम रहन्छ ।

अर्को महामारी भनेको हाम्रा डाक्टर र नर्सहरू ‘ब्रेन ड्रेन’मार्फत विदेशिन बाध्य छन् । बजेट अभावमा नयाँ दरबन्दी नखोल्नु भनेको यो पलायनलाई थप मलजल गर्नु हो । जसले दक्ष जनशक्ति पलायनको ठूलो मार खेपिरहेको नेपाली स्वास्थ्य क्षेत्रमा झन ठूलो समस्या खडा हुनेछ ।

अन्तर्राष्ट्रिय अभ्यास र विभिन्न वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ कि स्वास्थ्यमा गरिने खर्च वास्तवमा उच्च प्रतिफल दिने लगानी हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार स्वास्थ्यमा लगानी गरिएको प्रत्येक १ डलरले आर्थिक उत्पादकत्वमा ४ डलर बराबरको प्रतिफल दिन्छ ।

सन् २०१३ को ‘ल्यान्सेट कमिसन अन इन्भेस्टिङ इन हेल्थ’ले न्यून र मध्यम आय भएका मुलुकहरूको आर्थिक वृद्धिमा करिब २४ प्रतिशत योगदान स्वास्थ्य सुधारले पुर्‍याएको देखाएको थियो । स्वास्थ्यमा गरिने लगानीले देशको कुल गाह्रस्थ्य उत्पादन (GDP) मा दुई तरिकाले योगदान पुर्‍याउँछ । पहिलो— स्वस्थ जनशक्तिले बढी काम गर्न सक्छ र उत्पादकत्व बढ्छ । दोस्रो—स्वास्थ्य सेवामा हुने सरकारी लगानीले नागरिकको ‘आउट अफ पकेट’ खर्च घटाउँछ, जसले गर्दा जनताको क्रयशक्ति (Purchasing Power) बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ । स्वास्थ्य सुधारले आर्थिक वृद्धिमा पुर्‍याउने योगदान ऐतिहासिक रूपमा पुष्टि भइसकेको छ । त्यसैले, स्वास्थ्य बजेटलाई दायित्वका रूपमा मात्र नहेरी देशकै समृद्धिको इन्जिनका रूपमा हेरिनुपर्छ ।

अहिलेको २३ प्रतिशतको कटौतीले हामीलाई संविधानप्रदत्त ‘स्वास्थ्यको मौलिक हक’ बाट विमुख गराउँदैंछ । जेठ १५ को पूर्ण बजेट आउनुअघि यो २३ प्रतिशतको कटौतीलाई सच्याएर बजेटलाई १० प्रतिशतको सम्मानजनक अंकमा पुर्‍याउनु अनिवार्य छ । स्वास्थ्य मन्त्रालयले आफ्ना योजनाहरूको औचित्य पुष्टि गर्दै लविइङ गर्नुपर्छ भने अर्थ मन्त्रालयले स्वास्थ्यलाई ‘उत्पादनशील लगानी’ को रूपमा स्वीकार्नुपर्छ ।

राज्य र जिम्मेवार पदाधिकारीहरूले बुझ्नुपर्छ कि स्वस्थ नागरिक नै राष्ट्रको असली सम्पत्ति हो । बिरामी नागरिकले समृद्ध देश बनाउन सक्दैनन् ।

(लेखक डा. पाण्डे वरिष्ठ अर्थोपेडिक सर्जन हुन् । हाल उनी पीएचडी अध्ययनरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ