२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसर्पदंशबाट कसरी बच्न सकिन्छ

सर्पदंशबाट कसरी बच्न सकिन्छ



डा. समीर कुमार अधिकारी

परिचय
नेपालमा सर्पदंश जनस्वास्थ्यको ठूलो समस्याको रुपमा छ । बर्षेनी हजारौ मानिसलाई सर्पले डस्ने गरेको तथ्यांक छ । बिषालु सर्पले डसेकामध्ये १० प्रतिशतको मृत्यु हुन्छ भनिन्छ । सर्पदंशको ठूलो संख्या स्वास्थ्य संस्थासम्म नपुग्ने भएकोले हाम्रो समाजमा यो समस्या अनुमान गरिएभन्दा निकै ठूलो छ । बिषालु सर्पदंशले तराईमा धेरै प्रभाव पारिरहेको छ । प्रभावितमध्ये अधिकांशमा गम्भीर असरहरु छोड्ने गरेको छ । धेरैको ज्यान जाने र आश्रित परिवारको बिचल्ली हुने वा प्रभावित अपांग भएर बाच्नुपर्ने अवस्था सृजना भएका छन् । अधिकांशको सर्पदंश भइसकेपछि सर्प मार्ने, धामीझाक्री कहाँ जाने वा आफैले अनावश्यक रगत चुस्ने वा विभिन्न लेप लगाउने काममा समय खेर फालेर सर्पदंश उपचार केन्द्रमा समयमा नपुगेरै मृत्यु हुने गरेको देखिएको छ । धेरैजसोले आत्तिएरै ज्यान गुमाएको पनि देखिन्छ । अझ सर्पको डसाई वा सर्पको काडा वा सर्पको काँचुलीसँग जोडिएका विभिन्न मिथ्या विश्वासहरु हाम्रा समाजमा प्रशस्त देखिन्छन् ।

गर्मी बढेसँगै सर्पहरु बाहिर निस्कने, प्राकृतिक प्रकोप पश्चात सर्पहरूको आफ्नो प्राकृतिक वासस्थान नष्ट भएर मानिसको बासस्थानमा छिर्ने गर्छन् । सर्पहरु अझ सुरक्षित स्थानको खोजी तथा खानेकुरा खोज्न मानिसको बासस्थानमा तथा त्यसको वरीपरी आउने हुन्छ । घरभित्रका सरसामानहरुमा लुकेर रहने हुनाले, भ्यागुता, मुसा तथा धमिराजस्ता आफ्नो आहारा खोज्दै हिड्ने हुनाले कामकाजको शिलशिलामा सर्पसँग मानिसको जम्काभेट हुन्छ ।

तर, सर्पले आफूलाई असुरक्षित महसुस नगरुन्जेल मानिस वा जनावरलाई डस्दैन । जब हाम्रो खुट्टाले टेकिएर वा थिचिएर वा कुनै कारणले उसले आफूलाई असुरक्षित महसुस गरी ज्यान जोगाउनुपर्ने ठान्छ र हामीलाई डस्दछ । प्रायः घाँस दाउरा गर्न वनजंगल जाँदा तथा खेतबारीमा काम गर्दा, अध्यारोमा बाटो हिड्दा, झाडीमा दिसापिसाब गर्दा र दिसा धुन पोखरी, खोला कुवा आदि पानी भएका स्थानमा पुग्दा सर्पले धेरैजसो डस्ने गरेको छ । प्रायः करेत सर्प मुसा आदि आहाराको खोजीमा राति राति हिडने गर्दछ । विभिन्न कारणले झुल नलगाई सुत्ने वा खाटमा नभई भुईमै सुत्ने गरेमा राति सुतेकै बेलामा सर्पले डस्ने तथा मानिसलाई लामखुट्टेले चुसेझै भान भइरहने तर बिस्तारै फैलने त्यस बिषले धेरै नेपालीको ज्यान गइरहेको छ । त्यसैले सर्पको टोकाइबाट बच्न सतर्क रहनु, सर्प लुक्ने स्थानहरुबारे सजग हुन र बिषालु सर्पले टोकेमा कुनै पनि बिलम्ब नगरी यथाशीघ्र सर्पदंश उपचार केन्द्रमा पुग्नु नै एक मात्र ज्यान जोगाउने उपाय हो ।

सर्पको टोकाइबाट बच्ने उपायहरु


लक्षणहरु :
सर्पले डसेमा कुनै पनि लक्षण नदेखिन सक्छ । सर्पको बिषको आधारमा कसैलाई धेरै गम्भीर लक्षणहरु समेत देखा पर्न सक्दछ । त्यसैले लक्षणका आधारमा सर्पले डसेको पहिचान गर्ने तिर नलागौ तथा कुनै पनि मिथ्या विश्वासको आधारमा कुनै पनि निर्णय नगरौं । डसेको सर्पको बिषका आधारमा फरक—फरक लक्षण देखा पर्दछन् । सर्पदंशको उपचार केन्द्रमा पु¥याउन ढिला गरेमा उपचार नै गर्न नसकिने वा गर्नै नपाउने अवस्था आउछ । त्यसैले यहाँ केही सामान्य लक्षणहरु जानकारीका लागि मात्रै राखिएको छ ।


सर्पले डसेमा गर्नुपर्ने कार्यहरु
१. सर्पले डसेमा हतोत्साहित नहुनु एकदमै महत्वपुर्ण हुन्छ । धेरैजसो व्यक्तिहरुको ज्यान हतोत्साहित भएरै जान पनि सक्छ । याद गर्नुपर्ने कुरा के हो भने सबै सर्पहरु विषालु हुँदैनन् । विषालु सर्पले नै डसेको रहेछ भने पनि हतोत्साहित भइयो भने चाँडो सर्पदंश उपचार केन्द्रमा पुग्न सकिँदैन । त्यसैले डसेको व्यक्तिलाईृ सान्त्वना दिदै ढाडस दिदै जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्रमा पुग्ने व्यवस्था गर्नु सबैको दायित्व हो ।

२. सर्पलाई समाउन वा मार्न खोज्नु हुँदैन । त्यसले अर्काे डसाइको खतरा बढाउँछ तथा शरीरमा बिष थप हुन गई चाँडै मृत्यु हुनसक्छ । सर्र्प खोज्नाले उपचारको लागि ढिला हुन्छ तथा सर्पको बिष शरीरभरि फैलिएर असर देखाइसक्छ वा ज्यान नै लिइसक्छ । सर्प खोजेर वा मारेर लैजानाले उपचारमा खासै विशेष अर्थ राख्दैन ।

३. सर्पदंश भएको ठाउँमा केही पनि लगाउने वा बाँध्ने काम नगरौं । काम्रो डोरी आदि बाँध्नाले शरीरको अंग काटनुपर्ने अवस्था आउँछ तथा कुनै पनि चिज डसेको स्थानमा लगाउनाले उपचारमा ढिला हुन्छ तथा अन्य गम्भीर खतराहरु जन्माउन सक्छ ।

४. सर्पले डसेमा दौडने काम नगर्नुहोस् । जसले मुटुको धडकन बढाएर बिषलाई शरीरभरि तीव्र रुपमा फैलाई दिन्छ र चाँडो ज्यान लिन मद्धत गर्दछ । त्यसैले हाम्रा गाउँघरमा बिशेषतः सहजरुपमा उपलब्ध हुने र द्रुत गतिमा गुडने साधनका रुपमा रहेका मोटरसाइकल, स्कुटर आदीको सहायताले नजिकैको सर्पदंश उपचार केन्द्रमा पुग्ने काम गरौं ।

५. विषालु सर्पले डसेको ठाउँमा सिनेमामा देखिएजस्तो काट्ने, चुस्ने र आगोले डाम्ने काम नगरौं । यसले अनावश्यक चोट मात्रै पुग्ने मात्रै नभई उपचारको महत्वपूर्ण समय खेर गई ढिला भएर ज्यान जाने हुन्छ । त्यस्तै रक्तस्राव भएर वा घाउ भएर डसेको व्यक्तिको मृत्यु हुन सक्छ । डसेको बिष डसेको स्थानबाट अन्यत्र गइसक्ने भएकाले यस किसिमको कार्यले हानी मात्रै पु¥याउँछ ।

६) डसेको स्थानमा कुनै पनि जडिबुटी, रसायनिक पदार्थ, वरफ÷चिसो÷तातो वा बिजुलीको झट्का लगाउने काम नगरौं ।

७) प्रारम्भिक अवस्थामा खुर्सानी खाएर सर्पले डसेको थाहा हुँदैन, यसले त पेट पोलेर उपचारमा झन बाधा पु¥याउँछ ।

८) कुखुराको मलद्वार डसेको ठाउँमा लगाउँदा विष चुस्छ भन्ने धारणा गलत हो । त्यस्तै जहरमोहोरा वा अन्य पत्थर, बेसार आदिको प्रयोगले समयको बर्बादी मात्रै हुन्छ । जुन समयको सदुपयोग गर्न सकेको खण्डमा मानिसको ज्यान बच्छ ।

जानी राखौं
१. समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ ।
२. सर्पले डसेको थाहा पाउने बित्तिकै नजिकैको सर्पदंश उपचार केन्द्रमा पुग्नाले अकालमै ज्यान जानबाट बच्न सकिन्छ ।
३. विषालु सर्पले डसेर मर्ने कारणहरु मध्ये समयमै उपचार गर्ने ठाउँमा नपुग्नु प्रमुख हो ।
४. धामी, झाँक्री, झार–फुक, जडीबुटीको विश्वास गर्दा अनावश्यक समय खेर गई मृत्यु हुने निश्चित प्रायः छ ।

त्यसैले
सर्पको डसाईबाट बचौं र सर्पले डसी हालेमा कुनै पनि बहानामा बिलम्ब नगरी सर्पदंश उपचार केन्द्रमा पुगौं । सर्पको डसाईबाट बच्न आफ्नै सावधानी आवश्यक छ भने बिषालु सर्पले डसेपछिको छोटो समयले मानिसलाई पुनःजीवन दिने वा मुत्युको मुखमा पु¥याउने भन्ने कुरा पनि हाम्रै हातमा रहेकाले हेक्का राखौैैं ।

“सर्पले डसेमा ज्यान बच्न सक्ने छोटो समय खेर नफालौं
चाँडो पुग्ने मोटरसाइकल जस्ता साधन समाऔं,
नजिकको सर्पदंश उपचार केन्द्रमा पुगेर ज्यान बचाऔं”

(लेखक स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सर्पदंश शाखा प्रमुख हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ