२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा बाटोमै जान्छ सुत्केरीको ज्यान

कर्णालीमा बाटोमै जान्छ सुत्केरीको ज्यान


सुर्खेत– कालिकोटस्थित रास्कोट नगरपालिका–२ की २८ वर्षीया सीता सार्की ११ भदौमा घरमै सुत्केरी भइन् । सुत्केरी भए लगत्तै उनलाई रक्तस्राव हुन थाल्यो । लामो समयसम्म पनि रगत बग्न नरोकिएपछि परिवारका सदस्यले उनलाई अस्पताल लैजाने निधो गरे । सुरुमा उनलाइ नजिकैको स्वाथ्य चौकी लगियो । त्यहाँ उपचार सम्भव नभएपछि सामुदायिक अस्पताल रास्कोटमा रिफर गरियो । तर, पहिरोको कारण सडक अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पु¥याउन सकिएन । सीताको अस्पताल नपुग्दै बाटोमै ज्यान गयो । सीतासँगै उनीबाट जन्मिएको शिशुको समेत मृत्यु भयो ।

सुत्केरी व्यथाले छटपटिएकी दैलेख ठाटीकाँध गाउँपालिका–१ की २२ वर्षीया पार्वती शाहीलाई भदौ १२ गते हतार–हतारमा प्राथमिक स्वाथ्य केन्द्र लकान्द्रा लगियो । स्वास्थ्य केन्द्र पुग्ने बित्तिकै उनले छोरी जन्माइन् । सीताको जस्तै पार्वतीको पनि अत्याधिक रक्तस्राव हुन थाल्यो । रक्तस्राव नरोकिएपछि स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालमा खबर गर्यो । जिल्ला अस्पताल दैलेखमा पनि उपचार सम्भव नहुने बुझेपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा लैजान भनियो ।

त्यतिबेला उनलाई सुर्खेत लैजान न त एम्बुलेन्स पाइयो न त अन्य कुनै सवारी साधन नै । सवारी साधन खोज्दा खोज्दै पार्वतीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै थियो । अन्ततः एउटा सवारी साधन फेला पर्यो । त्यसैमा राखेर उनलाई सुर्खेत लगियो । अस्पतालको गेटमा नपुग्दै पार्वतीले देह त्याग गरिन् । यदि समयमै एम्बुलेन्स अथवा कुनै सवारी साधन फेला परेको भए उनलाई बचाउन सकिन्थ्यो कि भन्ने आशा उनको परिवारमा छ । ‘एक घण्टा मात्र छिटो अस्पताल पु¥याउन सकेको भए काकीलाई बचाउन सक्थेउँ,’ पार्वतीका छोरा पंखबहादुर शाही भन्छन्, ‘सवारी साधनको अभावका कारण समयमै अस्पताल ल्याउन नसक्दा काकीले अकालमै ज्यान गुमाउनुप¥यो ।’

सुर्खेत गुर्भाकोट नगरपालिका–७ की लक्ष्मी परियारलाई घरमा सुत्केरी व्यथाले च्यापेपछि परिवारका सदस्यले उनलाई प्रदेश अस्पताल ल्याए । तर, भौगोलिक विकटताका कारण उनलाई अस्पताल ल्याइपुर्याउन ढिलो भयो । अस्पताल ल्याएर जाँच गर्दा लक्ष्मीमा उच्च रक्तचापको समस्या देखियो । त्यसपछि चिकित्सकहरुले तत्काल शल्यक्रिया गर्ने निधो गरे । यद्यपि उनको शल्यक्रिया गर्दा गर्दै मृत्यु भयो । यदि समयमै अस्पताल आइपुगेको भए उनको ज्यान नजाने चिकित्सकहरु बताउँछन् ।

माथिका तीनवटा घटना प्रतिनिधी मात्र हुन् । कर्णालीमा सीता, पार्वती र लक्ष्मी जस्ता कैयौं गर्भवती तथा सुत्केरी महिलाले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ को साउन महिना यता ७ जना सुत्केरीले समयमै उपचार नपाएर ज्यान गुमाएका छन् । जसमध्ये घरमै सुत्केरी भएका ४ जनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै र ३ जनाको अस्पतालमै पुगे पनि समयमै उपचार नपाउँदा मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

नजिकैका स्वास्थ्य चौकीमा प्रसुति सेवा नहुनु, भौगोलिक विकटताका कारण प्रसुति सेवा उपलब्ध स्वास्थ्य संस्थासम्म पुग्न यातायात सुविधा नहुनु, घरमै सुत्केरी गराउन खोज्नु, दक्ष स्वास्थ्यकर्मी तथा उपकरण अभाव र घरपरिवारले पूर्व तयारी नगर्नु जस्ता कारणले दुर्गमका अधिकांश सुत्केरी अकालमा ज्यान गुमाउन बाध्य भएको कर्णाली प्रदेशका सामािजक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख विर्षबहादुर शाही बताउँछन् ।

आखिर सुत्केरी महिलामा ज्यानै लिने गरी रक्तस्राव किन हुन्छ ? कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. सजिप्ता पन्त भन्छिन्, ‘गर्भरहेको सुरुवाती अवस्थामा बच्चा पाठेघरमा नबसेर नलिमा बस्नु वा पहिलो बच्चा नलिमा बसेको छ भने दोस्रो बच्चा पनि नलिमा बस्नु, पाठेघरमा संक्रमण हुनु, गर्भपतन वा साल बिग्रेको अबस्थामा पनि रक्तस्राव हुन सक्छ । यस्तो अबस्थामा समयमै उपचार नपाउँदा गर्भमा रहेको बच्चा र आमा दुबैको ज्यान जानसक्ने सम्भावना रहन्छ । यो गर्भ रहेको पहिलो तीन महिनाको अवधिमा हुने जटिलताहरु हुन् ।’

यस्तै, सुत्केरी भैसकेपछि भएको रक्तस्रावले पनि कर्णालीमा वर्षेनी महिलाहरुको ज्यान गैरहेको छ । बच्चा जन्मिसकेपछि पाठेघर सामान्य अवस्थामा आउन समय लाग्छ । त्यसैले पाठेघर नखुम्चिनु धेरै बच्चा जन्मिनु, महिलाको उमेर धेरै हुनु, पाठेघरको नलीमा चोट लाग्नु वा पाठेघरको मुख च्यातिनु, शल्यक्रिया गरेकोे घाउबाट धेरै रगत बग्नु, ठुलो सालसँग जोडिएर बसेको सानो साल भित्रै छुट्नु जस्ता कारणले रक्तस्राव भएर आमाहरुको ज्यान गइरहेको डा. पन्त बताउँछिन् । यस्ता खाले समस्याबाट बच्न नियमित गर्भ जाँच गर्ने, गरुङ्गो सामान नउचाल्ने, लामो यात्रा नगर्ने, स्वास्थ्यकर्मीसँग परामर्श लिने, स्वास्थ्यसंस्थामै सुत्केरी गराउने, यातायातका साधनको तयारी गर्ने, पैसाको समयमै जोहो गरेर समयमै अस्पताल पु¥याउनुपर्ने उनको सुझाव छ ।

७८ जनाको मृत्यु

तीन वर्षभित्र कर्णाली प्रदेशमा ७८ जना गर्भवती तथा सुत्केरीले अकालमा ज्यान गुमाएका छन् । सुत्केरी व्यथा लागेपछि समयमै उपचार नपाउनु, कम उमेरमा बच्चा जन्माउनु, स्वास्थ्य संस्था तथा परिवारको हेलचेक्राई लगायतका कारण कर्णालीका गर्भवती तथा सुत्केरीले अकालमा ज्यान गुमाउनु परेको शाहीले बताए । अधिकांश घटना तथ्यांकमा नआएपनि समयमै उपचार नपाउँदा कर्णालीमा मातृ मृत्युदर बढेको देखिन्छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका तथ्यांक अधिकृत बसन्तमान श्रेष्ठका अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा ३७ जना, ०७५÷०७६ मा १३ जना र ०७६÷०७७ मा २१ जना र ०७७÷०७८ को हाल सम्म ७ जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान गएको हो ।

४० जना बढी मृत्युबाट जोगिए

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सुरु गरेको हवाई उद्धार कार्यक्रम मार्फत कर्णालीका ४० जनाको उद्धार गरिएको छ । तैपनि ग्रामिण क्षेत्रका कतिपय गर्भवती तथा सुत्केरी महिला यो कार्यक्रमको पहुँचबाट बञ्चित हँुदा अकालमा ज्यान गुमाउन बाध्य छन् ।

प्रसव समस्या न्यूनिकरण गरी मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रम अन्तर्गत देशभर हालसम्म १ सय ४७ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकी बरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताइन् । जसमध्ये देशभर आर्थिक वर्ष ०७५÷०७६ मा २६ जना, ०७६÷०७७ मा ८७ जना र चालु आर्थिक वर्षको हालसम्म ३४ जनाको उद्धार गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत २०७५ साल पुस महिनादेखि यो कार्यक्रम सुरु भएको हो । सरकारले ३४ वटा हिमाली तथा उच्च पहाडी जिल्लालाई दुर्गम जिल्लाको रूपमा परिभाषित गरी कार्यक्रममा समेटेको छ ।

मातृ मृत्युदर घटाउन नमुना बर्थिङ सेन्टर

कर्णाली प्रदेश सरकारले मातृ तथा शिशु मृत्युदर घटाउन एक निर्वाचन क्षेत्र एक नमुना बर्थिङ सेन्टर बनाउने नीति लिएको छ । कर्णालीमा मातृ मृत्युदर घटाउन विभिन्न कार्यक्रमको अवधारणा सहित हरेक निर्वाचन क्षेत्रमा नमुना बर्थिङ सेन्टर निर्माण गर्न थालिएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार हाल सबै निर्वाचन क्षेत्रमा धमाधम नमुना बर्थिङ सेन्टर निर्माण भइरहेका छन् । ‘दुर्गमका गर्भवती तथा सुत्केरी महिलाले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छैन । यसैलाई मध्यनजर गरी अत्याधुनिक सेवा सहितको बर्थिङ सेन्टर बनाउन थालेका छौँ,’ उनले भने, ‘यसका लागि आवश्यक बजेटको पनि व्यवस्थापन गर्दै जानेछौँ । तर, हामी जसरी पनि मातृ मृत्युदर घटाउने रणनीतिमा छौं ।’

उनका अनुसार कर्णाली प्रदेश सरकारले मातृ मृत्युदर घटाउन हरेक वडामा सामुदायिक नर्स परिचालन, सुत्केरी पोषण कोसेली कार्यक्रम, थप प्रोत्साहन भत्ता लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । यस्तै कर्णालीका हरेक स्थानीय तहले मातृ मृत्युदर घटाउन आ– आफ्नै नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ