२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशको आफ्नै नयाँ स्वास्थ्य संरचना तयार, १ हजार ९५ कर्मचारी रहने

कर्णाली प्रदेशको आफ्नै नयाँ स्वास्थ्य संरचना तयार, १ हजार ९५ कर्मचारी रहने


सुर्खेत—कर्णाली प्रदेश सरकारले प्रदेशमा आवश्यक स्वास्थ्य संस्था र कर्मचारीको नयाँ सांगठनिक तथा ब्यवस्थापकीय सर्वेक्षण (ओएनएम) गरी पास गरेको छ । सर्वेक्षणले १ हजार ९५ कर्मचारी र १४ तह प्रस्ताव गरेको छ ।

जसमा ९ सय ३७ जना दरबन्दी र १ सय ५८ जना श्रेणीबिहीन कर्मचारी रहनेछन् । प्रदेश सरकारको शुक्रबार बसेको बैठकले पास गरेको नयाँ संरचनामा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय १, जनस्वास्थ्य सेवा कार्यलय २, स्वास्थ्य सेवा कार्यलय ८, प्रदेश आयुर्वेदिक औषधालय १, प्रदेश अस्पताल सुर्खेत १, मेहलकुना अस्पताल १ गरी जम्मा १४ वटा रहनेछन् ।

पास भएको ओएनएमअनुसार सामाजिक विकास मन्त्रालयमा ५१ जना दरबन्दीका कर्मचारी र १५ जना श्रेणीबिहीन कर्मचारी रहनेछन् । स्वास्थ्य सेवा निर्देशनालयमा ३६ जना दरबन्दी र ८ जना श्रेणीबिहीन जनशक्ति रहनेछ । यस्तै, जनस्वास्थ्य सेवा कार्यलय सुर्खेतमा १३ र जुम्लामा आयुर्वेद समेत गरी १७ जना रहनेछन् । जसमध्ये २९ दरबन्दीको जनशक्ति रहनेछ भने ७ जना श्रेणीबिहनि कर्मचारी रहनेछन् । स्वास्थ्य सेवा कार्यलय सल्यान, दैलेख र जाजरकोट अन्तर्गत ६५ जनाको दरले १ सय ६५ जनाको दरबन्दी रहेको छ । जसमा थप ४८ जना श्रेणीबिहीन कर्मचारी हुनेछन् ।

स्वास्थ्य सेवा कार्यलय रुकुम पश्चिम, हुम्ला, मुगु, डोल्पा र कालिकोटमा ४८ जनाका दरले २ सय ४० जनाको नयाँ दरबन्दी प्रदेश सरकारले पास गरेको छ । जसमा थप ३० जना श्रेणीबिहीन कर्मचारी छन् ।

प्रदेश आयुर्वेद औषधालयमा ६ जना दरबन्दीका कर्मचारी र २ जना श्रेणीबिहीन कर्मचारी रहनेछन् । यस्तै, प्रदेश अस्पताल सुर्खेतमा ३ सय २५ जना दरबन्दीका कर्मचारी र ३५ जना श्रेणीबिहीन कर्मचारी रहनेछन् । सो अस्पताल हाल १ सय ५० सैय्या सञ्चालनमा छ भने थप १ सय ५० सैय्या चाडैं नै सञ्चालन आउँदैछ । मेहलकुना अस्पतालमा ५४ जना दरबन्दीका कर्मचारी र १३ जना श्रेणीबिहीन कर्मचारी रहने गरी प्रदेश सरकारले दरबन्दी पास गरेको हो ।

हाल भैरहेको संरचना र दरबन्दीले कर्णाली प्रदेशको स्वास्थ्य अवस्थालाई उकास्न गाह्रो पर्ने भएको हुँदा नयाँ ओएनएम गरी दरबन्दी पास गरिएको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ