२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटको विकट पलातामा आयुर्वेदिक औषधालय सञ्चालन

कालीकोटको विकट पलातामा आयुर्वेदिक औषधालय सञ्चालन


विवशकुमार सेजुवाल

कालीकोट—कालीकोट जिल्लाको विकट मानिएको पलाता गाउँपालिकाले अध्यक्ष लगानी कोषबाट १० लाख बराबर लगानीमा आयुर्वेदिक औषधालय सञ्चालनमा ल्याएको छ । पलाता गाउँपालिका—४ कयारदेवमा उक्त आयुर्वेदिक औषधालय सञ्चालनमा आएको हो ।

आयुर्वेदिक औषधालयमा एच.ए. मनोज बोहोरा र सीएमए मनिता बमले जिम्मेवारी पाएका छन् । बाँकी कर्मचारी आवश्यकताअनुसार थप्दैं जाने योजना गाउँपालिकाले बनाएको छ ।

कर्णालीमा पाइने जडिबुटीलाई बाहिर जान नदिन र यहाँको जडिबुटीको यतै प्रयोग गर्नका लागि औषधालय सञ्चालनमा ल्याएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए । ‘यहाँबाट ठूलो अस्पतालमा जानको लागि घण्टौं समय लाग्छ, यो ठाउँ जडिबुटीको खानी हो । धेरैको उपचार हुन सक्ने भएकोले अब हामी वैधानिक रुपमा यसको सुरुवात गरेका हौं,’ उनले भने, ‘अब जडिबुटीबाट तालिम सञ्चालन गरी यतै औषधिको प्रसोधन गर्ने तयारीमा छौं ।’ अबको केहि हप्तामै औषधि बनाउने मेसिन ल्याएर १० जना स्थानीय महिलालाई रोजगारी दिने योजना गाउँपालिकाको छ ।

साविकको खिन गाविसमा यो औषधालय सञ्चालनमा आएसँगै यहाँका स्थानीय बासिन्दा हर्षित भएका छन् । ‘आयुर्वेदिक औषधालय स्थापना भैसकेपछि हामी निकै खुसी छौं,’ स्थानीय राधिका बमले भनिन्, ‘अब हामीलाई उपचार गर्नका लागि घण्टौं हिड्नुपर्ने दुःख टरेको छ ।’ सोही गाउँपालिकाकी वासिन्दा सिद्धा वि.क.ले गाँउपालिकाले गरेको मनकारी कामले आफूहरु खुशी भएको बताइन् ।

गाउँका समाजसेवी मागे कामीले पहिले जडिबुटी तातोपानीमा उमालेर खानुपर्ने बाध्यता रहेको बताउँदैं अब चिकित्सकहरुको सल्लाहमा खान पाइने भएकाले आफूहरु खुशी भएको बताए ।

पाँलता गाउँपालिका कालीकोट जिल्लाको बिकट ठाँउमा पर्छ । आयुर्वेदिक औषधालय स्थापना भएको ठाउँ कालिकोट र जुम्लाको सीमा क्षेत्रमा पर्दछ । हिमालको काखमा भएको हुनाले जडिबुटीको खडेरी नपर्ने अस्पतालमा कार्यरत एचए मनोज बोहोरा जानकारी दिए । ‘यो ठाँउमा आयुर्वेदिक औषधालय सञ्चालनको निम्ती कुनै कठिनाई आउँदैंन्,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ