२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअस्पताल बनाउँदाको ऋण तिर्न भन्दै रवि फाउण्डेसनले माग्यो सरकारसँग ४ करोड ९० लाख

अस्पताल बनाउँदाको ऋण तिर्न भन्दै रवि फाउण्डेसनले माग्यो सरकारसँग ४ करोड ९० लाख


काठमाडौं—कालिकोटको रास्कोट सामुदायिक अस्पताल निर्माण गर्दा लागेको ऋण तिर्न भन्दैं रवि लामिछाने फाउण्डेसनले ४ करोड ९० लाख रुपैयाँ सरकारसँग अनुदान माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदैं फाउण्डेसनले उक्त रकम माग गरेको हो ।

गत ३१ चैतमा नै रास्कोट नगरपालिकालाई हस्तान्तरण भएको सो अस्पतालको भौतिक संरचना रवि लामिछाने फाण्डेसनले निर्माण गरेको हो । ६ करोड २० लाख लागत अनुमान गरेर निर्माण थालिएको उक्त अस्पताल वत्ती, पानीलगायतका व्यवस्थापन गर्दा ११ करोडभन्दा माथि खर्च भएको भन्दैं फाउण्डेसनले थप रकम सरकारसँग माग गरेको हो ।

रास्कोट सामुदायिक अस्पतालका रुपमा स्थापना गर्न सुरु गरिएको सो योजनामा सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेसन पछि जोडिएको थियो । रविको फाउण्डेसन जोडिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट आर्थिक स्रोत गरेर परिचालन गरिएको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रत्येक स्थानीय तहमा ५, १० र १५ बेडका अस्पताल निर्माण गर्ने गरी एकैसाथ सिलान्यास समेत गरेको थियो । रास्कोटमा १५ बेडको अस्पताल निर्माण गर्ने प्रक्रिया सुरु गरेर नगरपालिकाले टेन्डरसमेत आव्हान गरिसकेको थियो । तर, एकै पालिकाका सरकारी र सामुदायिक अस्पताल आवश्यक नभएको निष्कर्षका साथ स्थानीयले सोही अस्पताललाई सरकारी अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयलाई निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा १५ बेडको अस्पतालको निर्माण प्रक्रिया खारेज गरी रास्कोट सामुदायिक अस्पताललाई नै स्थानीय तहको अस्पतालको रुपमा अगाडि बढाउने स्वीकृती मन्त्रालयले दिएको थियो । सोही प्रक्रियाअनुसार ३१ चैतमा रास्कोट सामुदायिक अस्पताल विकास समिति गठन गरी पालिकाअन्तर्गत ल्याइएको रास्कोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले जानकारी दिए ।

फाउण्डेसनले स्वास्थ्य मन्त्रालयसँग रकम माग गरेको पत्रमा अस्पताल बन्न ११ करोडभन्दा बढी खर्च भएको र ४ करोड ९० लाख विभिन्न व्यक्ति तथा संस्थाको ऋण तिर्न बाँकी रहेको हुँदा अनुदान स्वरुप उक्त रकम उपलब्ध गराउन भनिएको छ । उसले फाउण्डेसनलाई सो रकम उपलब्ध गराउन वा ऋण तिर्नुपर्ने व्यक्तिलाई सिधैं भुक्तानी गरिदिनसमेत पत्रमा भनेको छ । फाउण्डेसनले माग गरेको सो अनुदानका विषयमा स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको मन्त्रालय स्रोतले जानकारी दियो ।

रास्कोट सामुदायिक अस्पताल म्यानेजर तथा अस्पताल विकास समितिका सदस्यसचिव कुशल न्यौपानेले अस्पतालको अधिकांश काम सकिएको र केही थप कामहरु गर्नुपर्ने र उपकरणहरु थप्नुपर्ने भएको हुँदा मन्त्रालयसँग अनुदान माग गरिएको बताए । तर, फाउण्डेसनका तर्फबाट मन्त्रालयमा अनुदान माग गरिएको हुँदा कुन—कुन प्रयोजनका लागि भन्ने पूर्ण जानकारी आफूलाई नभएको उनको भनाइ थियो ।

नगरपालिकालाई हस्तान्तरण गरिएको सो अस्पतालमा ठूला—साना गरी १२ वटा भवन रहेका छन् । नगरपालिकाले सो अस्पताल सञ्चालनका लागि वार्षिक १ करोड २० लाख बजेट छुट्याएको छ । दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मी कार्यरत रहेको उक्त अस्पतालमा २३ बेड रहेका छन् । सो अस्पताल बनाउनका लागि नगरपालिकाले नै वनको जग्गा उपलब्ध गराएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ