२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटमा ५० शैय्याको अस्पतालमा छैनन विशेषज्ञ डाक्टर, बिरामी मर्कामा

जाजरकोटमा ५० शैय्याको अस्पतालमा छैनन विशेषज्ञ डाक्टर, बिरामी मर्कामा


जुम्ला—भेरी नगरपालिका–१३ कुदुका ध्रुवप्रसाद शर्मा पेटमा समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल खलंगा गए । विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन नसकेपछि उनी फर्केर रुकुमपश्चिमको चौरजहारीमा रहेको मिसन अस्पतालमा गएर उपचार गराए ।

शर्मा त एक प्रतिनिधी पात्र मात्रै हुन् । भेरी नगरपालिका–३ स्थित जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा धेरै बिरामी सेवा अन्यत्र धाउनुपर्ने बाध्यता छ । सानो समस्याका लागि महंगो रकम खर्च गरेर बाहिर जानुपर्ने बाध्यता रहेको शर्माले बताए । जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन् ।

५० शैय्याको जिल्ला अस्पतालमा कार्यालय प्रमुखसहित सात जना विभिन्न रोगका विशेषज्ञ डाक्टरको दरबन्दी रहेको भएपनि हालसम्म अस्पतालमा एकजना पनि विशेषज्ञ डाक्टर नआएको जिल्ला अस्पतालका प्रमुख नवराज कँडेलले बताए । विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई कोहलपुर, नेपालगञ्ज, सुर्खेत वा काठमाडौं गएर उपचार गराउनुपर्ने बाध्यता छ ।

जिल्ला अस्पताललाई ०७२ असोज २२ गते नेपाल सरकारको मन्त्री परिषद्ले ५० शैय्याको सुविधासम्पन्न अस्पताल बनाउने निर्णय गरेको थियो । सोही बमोजिम ५० शैय्याको अस्पतालको भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि अस्पतालमा हालसम्म दरबन्दीका डाक्टर छैनन् ।

जिल्ला अस्पतालमा विशेषगरी स्त्रीरोग र बालरोग विशेषज्ञको आवश्यता बढी रहेको अस्पताल स्रोतले जनाएको छ । जिल्ला अस्पतालमा डाक्टरहरू बस्ने आवासलगायतका भौतिक संरचनाको अभावका कारण पनि जिल्लामा विशेषज्ञ डाक्टर आउन नमान्ने समस्याको समेत हल भैसकेको भएपनि विशेषज्ञ डाक्टर आउन नमानेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कँडेलको भनाइ छ ।

नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह विशेषज्ञ डाक्टरलाई कसरी हुन्छ जिल्लामा ल्याउने व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् । ‘ राज्यले करोडौं रकम खर्च गरेर भवन निर्माण गर्ने तर विशेषज्ञ चिकित्सकलाई खटाउन नसक्ने पनि हुन्छ ?’ उनले प्रश्न गरे ।

बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नसा रोग, रेडियोलोजीलगायत सात जना विशेषज्ञ डाक्टरको दरबन्दी भएतापनि जिल्ला अस्पताल हाल करारमा कार्यरत मेडिकल अधिकृतको भरमा चल्दै आएको अस्पताल प्रमुख कँडेलले बताए ।

विशेषज्ञ डाक्टर जिल्लामा कार्यरत भएमा जिल्लावासीले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने डा. अवसरसिंह राठौर बताए । ‘अहिले प्रदेश सरकारले जनस्वास्थ्य र अस्पताललाई एकै ठाउँमा गाँभेर जिल्ला स्वास्थ्य सेवा कार्यालय बनाएको भएपनि दक्ष जनशक्ति नभएसम्म जनताले सहज र सरल रूपमा सेवा प्राप्त गर्न कठिनाइ छ,’ डा. राठौरले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ