२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु

मुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु


जुम्ला—जिल्ला अस्पताल मुगुमा एक गर्भवतीको मृत्यु भएको छ । शुक्रबार छायाँनाथ रारा नगरपालिका–१३ की ३० वर्षीया राजु नेपालीको सुत्केरी हुन नसकेर अस्पतालमै ज्यान गएको हो ।

बिहीबार घरमा सुत्केरी व्यथा सुरु भएपछि उनका परिवारले राजुलाई सुत्केरी गराउन जिल्ला अस्पताल ल्याइएका थिए । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनको पेटमा रहेको बच्चा उल्टो देखिएको र लामो समयसम्म पाठेघर नखुलेपछि शुक्रबार शल्यक्रियाको तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

निमित्त जिल्ला स्वास्थ्य सेवा प्रमुख कमल ढुंगानाले जिल्ला अस्पतालमा गर्भवतीको शल्यक्रिया सेवा हुँदाहुँदै राजुको मृत्यु भएको विषयमा वास्तविकता छानविन गरिने बताए । दुर्गममा जोखिममा परेका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट तुरुन्तै सेनाको हेलिकप्टर झिकाएर उद्धार गर्ने नियम भएपनि ढिलासुस्तीका कारण राजुको ज्यान गएको परिवारको आरोप छ ।

जिल्ला अस्पतालबाट ढिला जानकारी प्राप्त भएको र उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टरको कुराकानी गर्दागर्दै अस्पतालबाट मृत्युको खबर आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

जिल्ला अस्पतालले प्रेस जिज्ञप्ति जारी गरी राजु र शिशुको ज्यान बचाउन साढे दुई घण्टासम्म प्रयास गर्दा पनि नसकिएको भन्दै घटनाप्रति दुःख प्रकट गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ