२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसन् २०२३ मा नेपालबाट उल्मुलन गर्ने लक्ष्य राखिएको दादुरा पुनः फैलियो

सन् २०२३ मा नेपालबाट उल्मुलन गर्ने लक्ष्य राखिएको दादुरा पुनः फैलियो

देशभरका १५ जिल्लामा झण्डै १ हजार संक्रमित भएको युनिसेफको भनाइ


वीरेन्द्रनगर— सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको थियो । सन् २०२३ मा नेपालमा दादुरा रुबेला रोगको अन्त्य गर्ने लक्ष्य राखिएको भएपनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जबाट ‘आउट ब्रेक’ भएको दादुरा संक्रमण हाल १५ जिल्लामा फैलिएको छ ।

पूर्व खोपयुक्त जिल्ला बाँकेमा आउट ब्रेक भएको दादुरा अहिले १५ जिल्लामा फैलिएको छ । कर्णाली प्रदेशको सुर्खेत र कालिकोट जिल्लामा दादुरा तथा रुबेलाका बिरामी भेटिएपछि अहिले ती जिल्लाहरुमा खोप अभियान सञ्चालन गर्ने सरकारले तयारी थालेको छ । नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउनका लागि सन् २०२६ को लक्ष्य सरकारले राखेको छ ।

अझै पनि नेपालमा १५ वर्षभित्रका ४ प्रतिशत बालबालिकाले खोप लगाउन छुटेको युनिसेफका डा.श्रद्धा पंगेनीले बताइन् । दादुराबाट अहिलेसम्म देशभरमा १५ जिल्लाका झण्डै एक हजार संक्रमित भइसकेका युनिसेफका डा.पंगेनीले बताइन् ।

सुर्खेतमा विशेष अभियान सञ्चालन गरिदै

चालु आर्थिक वर्षमा सुर्खेतका चार पालिकामा ५ जना दादुरा संक्रमित भेटिएका थिए । सुर्खेतमा यही २८ गतेदेखि असार ५ गतेसम्म दादुरा विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियानमा दुई चरणमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा बराहताल, भेरीगंगा, चिङ्गाड र लेकबेशी नगरपालिकामा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । त्यस्तै, दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी, चौकुने, गुर्भाकोट र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य प्रमुख गणेशभक्त गौतमले बताए ।

खोप अभियानका लागि जिल्लाभरका ९९ वडामा कुल ५४७ वटा खोप केन्द्र रहनेछन् । खोप केन्द्रहरु विद्यालयमा राखिने छ । करिब साढे दुई सय बालबालिका भएको स्थानमा एउटा खोप केन्द्र रहने छ । दादुरा विरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । एउटा खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मीसहित चार जना जनशक्ति परिचालन गरिने छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । ‘अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको भएको छ,’ उनले भने, ‘गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक रहेको छ ।’

खोप अभियान सफल पार्न जिल्लाका निकाय र व्यक्तिले साथ र सहयोग गर्नुपर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । गुणस्तरीय रूपमा बालबालिकाले खोप पाउने वातावरण तयार पार्न स्थानीय तहले साथ दिनुपर्ने उनको भनाइ रहेको थियो ।

खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा.रविन खड्काले बताए । ‘कर्णालीमा केहीदिन अघि मात्र कालिकोटका ३ जना बालबालिकामा दादुराका बिरामी भेटिए छन्,’ उनले भने, ‘बालवालिकालाई अभियानमा समेट्नु आवश्यक रहेको छ ।’

सुर्खेतमा खोप अभियान सञ्चालन भएको खोप अभियानमा युनिसेभ, रेडक्रस र स्थानीय तह सहयोगी रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ