२०८२ जेठ ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका स्थानीय महिलालाई महिनावारी प्याड बनाउने सीप

जुम्लाका स्थानीय महिलालाई महिनावारी प्याड बनाउने सीप


जुम्ला—तातोपानी गाउँपालिका– २, ५ र ६ वडाकी महिलालाई महिनावारी प्याड बनाउने सीप सिकाइएको छ । तातोपानी गाउँपालिका जुम्लाको सहकार्यमा राधा फाउण्डेशन र पेस नेपाल जुम्लाले स्थानीयस्तरमा महिनावारी प्याड बनाउने सीप सिकाएका हुन् ।

महिनावारी प्याड बनाउन स्थानीय हरिभक्त परियारले सीप सिकाएका हुन् । उनले सिलाइ—कटाइ गर्ने उपकरण (कल) मार्फत सीप सिकाएका हुन् ।

स्थानीय महिलाहरुको महिनावारी व्यवस्थापनका लागि स्थानीयस्तरमै महिनावारी प्याड बनाउने सीप सिकाइएको पेस नेपाल जुम्लाका कार्यक्रम अधिकृत देवकी विष्टले बताइन् । ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी परियोजनाअन्तर्गत दुई दिनसम्म महिनावारी प्याड बनाउन सीप सिकाइएको हो,’ उनले भनिन् ।

बजारमा पाइने स्यानिटरी प्याडभन्दा स्थानीयस्तरमै कपडाबाट बनाइएको महिनावारी प्याड स्वास्थ्यका लागि फाइदाजनक हुने उनीहरुको भनाइ छ । स्थानीयस्तरमा कपडाको बनाएको प्याड रसायन मिसिएको हुँदैन । तर, बजारमा पाइने स्यानिटरी प्याडमा भने रसाइन मिसावट हुन्छ । जसले स्वास्थ्य असर गर्ने गरेको अधिकृत विष्टले बताइन् ।

सीप सिकेका जुम्ला तातोपानी गाउँपालिकाका महिलाले महिनावारी प्याड बनाउन थालेका छन् । स्थानीय स्रोत साधन र प्रविधिको प्रयोग गरेर प्याड बनाउन थालेका हुन । महिलाले आफूसँग भएको नरम कपडाको महिनावारी प्याड निर्माण गरी प्रयोग समेत गरिरहेका छन् । दुई दिने तालिमको आयोजना गरेर उनीहरूलाई प्याड बनाउन सिकाइएको हो ।

उपाध्यक्ष रेवती रावलले स्थानीयस्तरमा उत्पादन हुने प्याड सहजै रूपमा उपलब्ध गराउन सकिने बताइन् । उनले भनिन्, ‘सबै महिलाले प्याड बनाएर प्रयोग गर्ने सीप सिकाउको छौं । महिनावारी व्यवस्थापनका लागि सवैले अनिवार्य प्रयोग गर्न आग्रह गर्दछौं,’ उनले भनिन् ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भविष्यमा प्याड उद्योग नै चलाउने गरी काम भइरहेको बताए । ‘अझ बजारमा पाइने प्याडसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय प्याड बनाएर बजारसम्म बेच्न लैजान सकिनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ