२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टविशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा

विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुलाई ८ वर्षदेखि फुटसलले जोडिरहेको छ ।


काठमाडौं—बिहीबारको साँझ । कपनको भित्री इलाकामा एउटा फुटसल ग्राउण्ड अध्यारोले ढाक्नै लागेको छ । कुपन फुटसलमा गाडीबाट एकपछि अर्को खेलाडीहरु झरिरहेका छन् । ‘डक स्क्वायड’ लेखिएको टिसर्टमा हतार—हतार ग्राउण्डमा पसिरहेका सबै खेलाडीहरु सहरका चर्चित र व्यस्त विशेषज्ञ चिकित्सकहरुमा गनिन्छन् ।

बिरामी उपचार, सर्जरीसँगै पारिवारिक जीवनको व्यस्तताबीच पनि उनीहरुलाई ‘डक स्क्वायड’ जोडिरहेको नै रहेको छ । एक दुई वर्ष होइन्, ८ वर्षदेखि । त्यो जोडाइमा केहीले ‘सुपरग्लू’को काम गरिरहेको छ भने—त्यो फुटबल प्रेम नै हो । नत्र ८ वर्षदेखि चिकित्सकहरु न हरेक हप्ताको बिहीबार यसरी अबेर जम्मा हुन्थे, न त लेखिन्थ्यो ‘डक स्क्वायड’को यो कथा नै ।

कुरा हो, वि.सं. २०७१ सालको । त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारी अष्ट्रेलिया पढ्न गएका थिए । त्यहीबेला उनले अष्ट्रेलियाका चिकित्सकहरु चिकित्सककै फुटबल टिम बनाएर १५—२० वर्षदेखि खेलिरहेको देखे । अहिलेका यी व्यस्त सर्जन अष्ट्रेलियाबाट डिग्री र सीपमात्रै लिएर फर्किएनन्, डाक्टरहरुको त्यस्तै फुटबल टिम बनाउने लक्ष्य लिएर नेपाल फर्किए ।

नेपाल फर्केपछि वि.सं. २०७२ सालमा डाक्टरहरुकै फुटसल टिम बनाउने आफ्नो लक्ष्यमा काम गर्न सुरु गरे । चिकित्सकहरुलाई जोड्दैं गए । डा. लव श्रेष्ठसँगको रमाइलो प्रसंगबाट सुरु गरौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा डा. भण्डारी हाउस अफिसरका रुपमा काम गर्दाका चिरपरिचित थिए -डा. लव । किनभने उनी त्यसबेला केएमसीमै एमबीबीएस पढिरहेका थिए । वि.सं. २०७२ मा उनी आईओएममा एमडी पढिरहेका थिए । त्यहीबेला आफन्त बिरामी भए ।

चिनिरहेका त्रिविमा फ्याकल्टी डा. भण्डारीलाई फोन गरेर भने, ‘दाइ मेरो अंकल बिरामी हुनुभयो हेरिदिनुपर्‍यो ?’
डा. रमेशले भने, ‘तिम्रो बिरामी म हेर्दै हेर्दिन ?’
‘किन ?’
‘एउटा शर्तमा हेरिदिन सक्छु ?’
‘के शर्त ?’
‘हाम्रो साँझपख फुटसल गेम छ, तिमी आएर खेल्ने भए हेर्छु । नत्र हेर्दिन ?’
‘म आउँदिन दाइ । मलाई फुटसल खेल्न नै आउँदैन ।’

‘तिमी उभिन भएपनि आउ ?’ डा. लव त्यो दिन बेलुका डा. भण्डारीले बोलाएको ठाउँमा पुगे । त्यही दिनदेखि उनी गोलकिपर बस्न थालेको ८ वर्ष भइसकेको छ । डा. लवको स्मरणमा फुटसलबाट उनले एकदमै नजिकका साथी कमाएका छन् । सुरुमा फुटसल खेल्न आनाकानी गरेका उनले यो अवधिमा अनुभवमात्रै हासिल गरेका छैनन् दुई पटक उत्कृष्ट गोलकिपरका एवार्ड पनि हात पारिसकेका छन् ।

यो त डक स्क्वायडको सुरुवाती समयको कथा हो । अहिले त मुलुकका गनेचुनेका २०—२५ जना विशेषज्ञ चिकित्सकहरु टिममा छन् । दुई टिम बनाएर आपसमै फुटसल खेल्न सक्ने डक स्क्वायड परिवार तयार भएको छ । ‘पहिले टियुटिएच डक्टर फुटसल क्लबका रुपमा थियो,’ डट स्क्वायडका नेतृत्वकर्ता डा. भण्डारी भन्छन्, ‘अहिले सबै अस्पतालका चिकित्सकहरु टिममा भएपछि यो डक स्क्वायड भएको छ ।’ उनकाअनुसार ८ वर्षदेखि रुचिले चिकित्सकहरुलाई डक स्क्वायडमा जोडिरहेको छ ।

डा. अपार लामिछानेका प्लास्टिक सर्जन हुन् । ७ वर्षदेखि डक स्क्वायडमा आवद्ध रहेका उनलाई आफूहरुबीचको बोन्डिङले नै यहाँसम्म ल्याएको अनुभव हुन्छ । ‘नयाँ फ्याकल्टीका साथीहरुसँग संगत र रमाइलो पनि छ,’ वीर अस्पतालका यी सर्जन सुनिए, ‘म अहिले डिफेन्स र स्ट्राइकर दुवै रोलमा रमाइरहेको छु ।’

डा. दमनराज पौडेल त्रिवि शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ हुन् । ‘एक्ससाइजकै रुपमा मैले फुटसललाई हेरेको छु,’ बालबालिकाको किड्नी रोगका विशेषज्ञसमेत रहेका उनले भने, ‘व्यस्त र मनोटोनस जीवनशैलीलाई चलायमान बनाउन डक स्क्वायड बनायौं । यसको नेतृत्व डा. रमेशले गर्नुभयो ।’ डा. पौडेल डक स्क्वायडमा सुरुदेखि नै आवद्ध भएर फुटसल खेलिरहेका छन् । टिमको उद्देश्य फुटसल खेल्नेसँगै प्रोफेसनल कुराहरु सेयरिङ र उदाहरणीय फुटसल क्लब बनाउने छ । ‘नेपालका एकसे एक एक्पर्ट चिकित्सकहरु यहाँ छन्,’ डिफेन्डरको भूमिका निभाइरहेका उनले भने, ‘हामीहरु मिलेर केही राम्रो काम गर्ने चाहना पनि छ ।’ खेल अवधिको दुई घण्टा मोबाइल अफ गरेर खेल्ने भएकाले मेडिटेसनजस्तै भइरहेको अनुभव उनको छ ।

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही डक स्वाक्यडमा फुटसल खेल्नकै लागि हरेक बिहीबार साँझ पाटनबाट कपन पुग्छन् । यो नियमितता बनेको तीन वर्ष भइसकेको छ । ह्याम्स अस्पतालमा कार्यरत रहँदा नै उनी डक स्क्वायडमा जोडिएका हुन् । भन्छन्, ‘हप्ताको एक दिन त आफ्ना लागि पनि त निकाल्नुपर्‍यो । म त सानैदेखि फुटबल खेल्ने मान्छे बिहीबार कहिले आउला भन्दैं दिन गनेर बसिरा’को हुन्छु ।’ मैदानमा सबै रोलमा फिट हुने उनी मिडफिल्डर र स्टाइकरमा धेरैजसो खेलिरहेका हुन्छन् । मनपर्ने रोल मिलफिल्डरको बताउने उनी १० नम्बर जर्सी मन पराउँछन् । डा. शाहीकाअनुसार चिकित्सकीय अनुभव साटासाटले गर्दा झन टिमको एकता बलियो बनेको छ । ‘वीकेन्डमा कहिलेकाही पारिवारिक जमघट पनि हुन्छ, त्यही कारण हामी परिवारै भएका छौं,’ उनले अनुभव साटे ।

त्रिवि शिक्षण अस्पतालका रेडियोलोजिष्ट हुन् —डा. प्रदीपराज रेग्मी । वि.सं. २००६ मा एमबीबीएस पढ्दै गर्दा उनले गुरुका रुपमा डा. भण्डारीलाई चिनेका हुन् । फुटबलमा रुचि राख्ने रेग्मीको खेल देखेका उनले टिममा उनलाई छुटाउने कुरै थिएन । दैनिक १२ घण्टा लामो ड्युटीकाबीच उनी बिहीबारका लागि पर्खिरहेका हुन्छन् । ‘यो एउटा मिल्ने ग्रुप पनि भयो,’ प्रायःजसो मिडफिल्डमा दौडिने उनले कारण खुलाए, ‘एउटै फिल्डका भएकाले परिवारजस्तो पनि छौं ।’

लगनखेलस्थि काठमाडौं आई सेन्टरका आँखा रोग विशेषज्ञ डा. अपूर्वरत्न ताम्राकार कलेज जीवनदेखि नै फुटबलका सौखिन हुन् । लेफ्ट विङगरका रुपमा डट स्क्वायडमा खेलिरहेका उनी त्यही रोलमा आफूलाई प्रमाणित गरिरहेका छन् । ‘डक स्क्वायड एकदमै कम्पिलिट टिम छ,’ मोतियाविन्दु र पर्दा रोग फेलो उनले भने, ‘सबै पोजिशन वेल कभर्ड छ ।’

डा. राकेश घिमिरे त्रिवि शिक्षणकै फर्माकोलोजी विभागका चिकित्सक हुन् । ५ वर्षअघि फ्याकल्टी ज्वाइन गरेका उनले त्यही बेलादेखि यही टिमबाट फुटसल खेल्न थालेका हुन् । ‘सुरुदेखि नै एकदमै फ्रेण्डली वातावरणमा फुटसल खेल्न थालियो । अहिले त छोड्नै नसकिने भयो,’ उनले भने । स्ट्राइकरमा खेल्न रुचाउने उनी कहिलेकाही ब्याकमा पनि खेलिरहेका हुन्छन् । खेलले शारीरिक, मानसिक रुपमा एकदमै राम्रो गर्नुका साथै प्रोफेसनहरुको टिम भएकाले एकअर्काका अनुभवसमेत आदान—प्रदानको अवसर जुरेको उनले बताए ।

डा. प्रवीण प्रसाद त्रिविको फर्माकोलोजी विभागमा कार्यरत छन् । उनकै विभागका डा. घिमिरे फुटसल टिममा जोडिएका थिए । फुटसल मैदानका रोचक कथा डा. घिमिरेबाट सुनेपछि डा. प्रवीण पनि आफूलाई रोकिरहन सकेनन् र डक स्क्वायडमा आवद्ध भए । अहिले उनी स्क्वायडको डिफेन्डरको भूमिका रमाइरहेका छन् ।

ह्याम्स अस्पतालका अर्थोपेडिक सर्जन डा. सन्दीप भण्डारी सन् २०१८ देखि नै डक स्क्वायडमा ज्वाइन गरेका हुन् । पहिलेदेखि नै फुटसल खेल्ने उनलाई डक स्क्वायडमा आवद्ध भएपछि एकदमै राम्रो र सशक्त टिम पाएको अनुभव भएको छ । ‘म अहिले एकदमै रमाइरहेको छु,’ यी ज्वाइन्ट रिप्लेसमेन्ट र स्पोर्टस सर्जन भन्छन्, ‘फुटसलसँगै म फ्रेण्डसीप र ब्रदरहुडमा पनि इन्जोय गरिरहेको छु ।’ उनी नियम र सतकर्ता अपनाएर खेल्न सुझाव दिन्छन् ।

सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी डाँफे केयरमार्फत बिरामीलाई सेवा दिन्छन् । ‘नसर्ने रोगको जड विलासी जीवनशैली र खानपान हो । हामी बिरामीलाई सिकाउँछु तर आफैले त्यो पालना गरिरहेका हुँदैनौं,’ डा. अधिकारी भन्छन्, ‘त्यही कारण पनि डक स्क्वायडमा हामी नियमित फुटसल खेल्छौं ।’ उनी विगत ४ वर्षदेखि डक स्क्वायडमा फुटसल खेलिरहेका छन् । ‘यो मेरो वेस्ट टिम हो, यसमा एकदमै अनुपम स्पोर्टसम्यानसीप छ,’ उनी भन्छन्, ‘त्यति धेरै प्रतिस्पर्धा छैन, खेल्ने फ्रिडम अफ स्टाइल छ । ठूलो ग्राउण्ड भएकाले स्टामिना, गेम र स्कील पनि इम्प्रुभ भएको छ ।’

काठमाडौं मेडिकल कलेजका एशोसिएट प्रोफेसर समेत रहेका डा. विनोद राउत डेन्टल सर्जन पनि हुन् । उनी ५ वर्षदेखि डक स्क्वायडमा रहेर फुटसल खेलिरहेका छन् । ‘शारीरिक र मानसिक रुपमा फिट रहनका लागि फुटसल निकै उपयोगी सावित भएको छ,’ उनले भने, ‘फ्रेण्डसीपलाई पनि कायम राख्न यो सहयोगी बनेको छ ।’

डा. विशेष खनाल चिकित्सा क्षेत्रमा आर्टिफिसियल इन्टेलीजेन्समा एडभान्स प्रविधीको विकासमा लागिरहेका छन् । बिरामीसँग सम्बन्धित डाक्टरीभन्दा अलि भिन्नै फिल्डका भएपनि उनलाई पनि डक स्वाक्यडले स्वागत गरेको छ । डक स्क्वायडमा एक वर्षदेखि जोडिएका उनी विङ्गरका रुपमा खेल्छन् ।

रवीन्द्र बस्नेत ह्याम्स अस्पतालका फिजियोथेरापिष्ट हुन् । उनी विगत ५ वर्षदेखि डक स्क्वायडमा रहेका डिफेन्डरको भूमिका निभाइरहेका छन् । अन्य चिकित्सक र दुई जना अस्पताल स्टाफहरु पनि डक स्क्वायडमा आवद्ध छन् । खेलबाहेक अनुभव आदान—प्रदान, पारिवारिक वातावरण स्क्वायडले जुराएको सबैभन्दा राम्रो पक्ष हो । बेला—बेलामा उनीहरु फ्यामिलीको ग्यादरिङ पनि गर्छन् । अधिकांश कन्सल्ट्यान्ट चिकित्सक हुनु डक स्क्वायडको मुख्य विशेषता हो । डक स्क्वायडले भविष्यमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा ग्रामीण र विकट इलाकाहरुमा सामाजिक काम गर्ने योजनासमेत बनाएको छ ।




क्याटेगोरी : विशेष रिपोर्ट
ट्याग : #काठमाडौ मेडिकल कलेज, #डक स्क्वायड, #डा. अपार लामिछाने, #डा. अपूर्वरत्न ताम्राकार, #डा. अरुण शाही, #डा. दमनराज पौडेल, #डा. प्रदीपराज रेग्मी, #डा. प्रभात अधिकारी, #डा. प्रवीण प्रसाद, #डा. राकेश घिमिरे, #डा. विनोद राउत, #डा. विशेष खनाल, #डा. सन्दीप भण्डारी, #त्रिवि शिक्षण अस्पताल, #पाटन अस्पताल, #प्रा.डा. रमेशसिंह भण्डारी, #रवीन्द्र बस्नेत, #वीर अस्पताल, #ह्याम्स अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ