२०८२ जेठ १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव

जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव


जुम्ला—जिल्ला अस्पताल जाजरकोटमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा विगत दुई हप्तादेखि आइरन चक्कीको अभाव हुँदा बिरामीहरूलाई सास्ती भएको हो ।

कर्णाली प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले औषधि आपूर्ति नगरेपछि जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव भएको छ । आइरन चक्की र गर्भ जाँच गर्न ५० शैय्याको अस्पतालमा पुगेका गर्भवती महिला रितो हात फर्किने गरेका छन् ।

भेरी नगरपालिका–४ का स्थानीय राजन थापाले जाजरकोट अस्पतालमा आइरन चक्की, दीर्घ रोगका बिरामीले प्रयोग गर्ने औषधि नहुँदा सास्ती पाउने गरेको बताए । भेरी नगरपालिका–३ की सविना केसीले अस्पतालमा गर्भको बच्चा, आफ्नो स्वास्थ्य चेक जाँच गर्न पुगेको बेला आइरन चक्की नपाउने भएपछि चिन्तित भएको बताइन् ।

भेरी नगरपालिका–३ की गर्भवती निरमाया शाहीले गर्भावस्थामा आमा र शिशुका लागि आवश्यक पर्ने आइरन चक्की अभाव भएको र अस्पतालबाट आफू खाली हात फर्किनु परेको गुनासो गरिन् । निःशुल्क वितरण गरिने आइरन चक्की अस्पतालले खरिद गर्न नमिल्ने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जाजरकोट अस्पतालबाट वितरण हुने आइरन चक्की प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले ढिलाइ गरेका कारण समस्या भएको हो । जाजरकोट अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले समयमा नपठाएपछि आइरन चक्की अभाव भएकाले भेरी नगरपालिकाबाट एक हजार ट्याब्लेट सापटी ल्याएर वितरण गरिएको छ ।

५० शैय्याको अस्पताल भएपनि सेवा सुविधा नहुँदा औषधि उपचारका लागि सर्वसाधारण जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । नेपालगञ्ज, सुर्खेतलगायतका अस्पताल सरह सेवा दिन १५ शैयाबाट ५० शैयामा स्तरवृद्धि गरी अत्याधुनिक भवन निर्माण भएको लामो समय बित्दा समेत उपकरण तथा औषधिको व्यवस्थापन नहुँदा नागरिकले सास्ती पाउने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ