हुम्ला—हुम्ला जिल्लाका महिलाहरूमा रक्त अल्पताको समस्या बढ्दै गएको छ । महिलाको रक्त अल्पताको स्थलगत रूपमा परीक्षण गर्दा यस्तो समस्या देखिएको हो ।
सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका गर्भवती, पाँच वर्षमुनी र प्रजनन क्षमता भएका महिलाहरूलाई परीक्षण गर्दा यो समस्या देखिएको हो । परीक्षण कार्यमा सहभागी भएकी स्वास्थकर्मी सुशीला शाहीले पाँच वर्षमुनी र १५ देखि ४९ वर्ष उमेरकी गर्भवती महिलामा यो समस्या बढी देखिएको बताइन् ।
दुई वटा गाउँपालिका गरी ६ सय ९१ जना महिलाको रक्तअल्पता परीक्षण गरिएको थियो । ‘परीक्षण मेसिन समेत गाउँ—गाउँमै लगेका कारण तत्काल त्यसको परिणाम पत्ता लगाउने कार्य भएको हो,’ उनले भनिन् ।
परीक्षण गरिएका महिलाहरूमध्ये पाँच वर्षमुनी र १५ देखि ४९ वर्ष उमेरका गर्भवती महिलामध्ये ६५ प्रतिशतमा यो समस्या देखिएको हो । १५ देखि ५० वर्ष उमेर समूहका प्रजनन क्षमता भएका तर गर्भवती नभएको महिलामा भने यो समस्या तुलनात्मक रूपमा कम देखिएको शाहीले बताइन् ।
रक्तअल्पता परिक्षण सिमकोट गाउँपालिकाका–१, २, ६, ७ र ८ तथा खार्पुनाथ गाउँपालिका–१, ४ र ५ का गर्भवती, १५ देखि ५० वर्ष उमेरका अन्य महिला र पाँच वर्षुमनीका बालिकाहरूमा गरिएको हो ।
सिमकोट गाउँपालिकामा उक्त रोगको परीक्षण गर्दा रक्त अल्पता देखिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताए । संयोजक भण्डारीका अनुसार यसको तत्काल रोगथाम गर्ने कुनै उपाय छैन । अब आगामी साउनदेखि रोगथामका लागि केही उपाय अपनाउनुपर्ने संयोजक भण्डारीको भनाइ छ ।