वीरेन्द्रनगर—कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यक्रम समेटिएको बताएका हुन् ।
प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समितिको प्रतिवेदन बमोजिम प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठा्नको रूपमा विकास गरिने र सुर्खेत मेडिकल कलेज स्थापना गर्न संघीय सरकारसँग पहल गरिने मियाँले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिइनेछ । संघीय सरकारको समन्वयमा प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण तथा क्यान्सरको किमोथेरापी र जलन उपचार युनिट स्थापना गरिनेछ,’ उनले भने, ‘स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लागि जनशक्ति, भौतिक पूर्वाधार, औषधि र उपकरणको सुनिश्चितता गरिनेछ ।’
नीति तथा कार्यक्रममा सार्वजनिक बिदाको दिन पनि कर्णाली प्रदेश अस्पतालबाट ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । तहगत सरकार र अस्पताल विकास समितिको सहकार्य र समन्वयमा प्रदेशमा सञ्चालनमा रहेका अस्पतालहरूको स्तरवृद्धि गरिनेछ र प्रदेश अस्पताल सुर्खेतमा छुट्टै ओपीडी ब्लक निर्माण गरिने मियाँले बताए । ‘संघीय निर्वाचन क्षेत्र, भूगोल, जनसंख्या र रोगको भारको आधारमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई संघ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा रणनीतिक अस्पतालका रूपमा स्तरोन्नती गरिनेछ,’ उनले भने, ‘जिल्लास्थित अस्पतालमा गुणस्तरीय विशेषज्ञ सेवाको सुनिश्चिातता गरिनेछ ।’
कर्णाली प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा छ । एकीकृत विद्यालय स्वास्थ्य कार्यक्रम लागू गरिने मियाँले बताए । ‘स्वास्थ्य सेवाको पहुँच बाहिरका नागरिकलाई समेट्ने गरी स्वास्थ्य नमूना स्थानीय तह अवधारणा अनुसार सर्वव्यापी पहुँचवृद्धि गरिनेछ,’ उनले भने, ‘प्रदेशअन्तर्गतका अस्पतालहरूमा पेन क्लिनिक सञ्चालन गरिनेछ ।’
प्राकृतिक उपचार पद्धतिको विकास तथा प्रवर्द्धन गर्न आयुर्वेद तथा प्राकृतिक चिकित्सा सम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने, आयुर्वेद तथा प्राकृतिक चिकित्सा विधिको थप सुदृढीकरण गर्ने र पथ्यआहार, स्वस्थ जीवनशैली र भान्सा घर औषधालय कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा छ । ‘मातृ तथा बाल स्वास्थ्य र नसर्ने रोगलाई प्राथमिकता दिई अनुसन्धान कार्य गरिनेछ । घुम्ती नागरिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिनेछ । महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता विकास, प्रोत्साहन, स्वास्थ्य उपचारमा विशेष व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने, ‘क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी र अटिजमजस्ता दीर्घ रोगबाट पीडित बिरामीको उपचारमा सहायता प्रदान गरिनेछ ।’
मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य अवस्थाको शीघ्र पहिचान, व्यवस्थापन र पुनस्थापना सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक स्वास्थ्य इकाई र एम्बुलेन्स सेवा सञ्चाचलन सहयोगलाई निरन्तरता दिने,इ–हेल्थ र दुर चिकित्सा सेवालाई थप सुदृढीकरण गर्ने, आयुर्वेद अस्पताल तथा स्वास्थ्य केन्द्रको न्यूनतम आवश्यक भौतिक संरचना निर्माण गर्ने, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको आयुर्वेद अनुसन्धान इकाईलाई स्तरोन्नती गरी छुट्टै आयुर्वेदिक औषधी उत्पादन केन्द्रको विकास गर्ने पनि कर्णालीको नीति तथा कार्यक्रममा छ ।
होमोप्याथिक, आम्ची, प्राकृतिक, अकुपञ्च्रजस्ता वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आबद्ध गर्न आवश्यक कार्यक्रम सञ्चाालन गर्ने, आध्यात्मिक संस्थाहरूको समन्वयमा स्वजागरणर योग ध्यान लगायत आध्यात्मिक क्रियाकलापलाई विस्तार गर्न जिल्लास्तरसम्म योग प्रशिक्षकको व्यवस्था गर्ने, प्रतिरोधात्मक, उपचारात्मक र पुनस्थापनात्मक विधि अपनाई सक्षम स्वास्थ्य प्रणालीको विकास गर्ने, जनस्वास्थ्य प्रयोगशालालाई थप सुदृढीकरण गर्ने पनि कर्णालीले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।’
यसैगरी, विश्वलविद्यालय तथा अनुसन्धानमा क्रियाशील स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य अनुसन्धान कार्य अघि बढाउने र हालसम्म भएका स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूको डिजिटल अभिलेखीकरण गर्ने, अपाङ्गता रोकथाम तथा पुनस्थापनाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच अभिवृद्धि गर्ने, अन्तरक्षेत्र समन्वय गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने, मानव सेवा आश्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र वृद्धाश्रम लगायतका कल्याणकारी सामुदायिक संस्थाहरूको सञ्चालन तथा भौतिक संरचना निर्माणमा आवश्यक सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा छ ।