जुम्ला—सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । १० साउनमा जिल्ला अस्पताल हुम्लाले ६ वर्षदेखि कुष्ठरोगसँग लडिरहेका कामीको उद्धार गरिएको हो ।
सामाजिक विकास कार्यालय हुम्लाको वार्षिक समीक्षा कार्यक्रममा ३१ असारमा कामीको अवस्थाका विषयमा छलफल भएको थियो । त्यसपछि हेल्थआवाजलगायतका सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीलाई तत्काल बिरामीको उपचार गर्न निर्देशन दिएका थिए ।
निर्देशनअनुसार जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारी, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. तिवारी र मानव अधिकारकर्मी नन्द सिंह गाउँमै पुगेर कामीको एम्बुलेन्समार्फत उद्धार गरेको डा. तिवारीले बताए ।
‘हामीले उहाँको उद्धार गरेका छौं । स्वास्थ्यमा सुधार नहुँदासम्म जिल्ला अस्पतालले निःशुल्क रुपमा उपचार हुने छ,’ उनले भने ।