वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल फेरि निर्देशकबिहीन भएको छ । प्रदेश अस्पतालका निर्देशक डा. केशरबहादुर ढकाल स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा बढुवा भएर गएपछि प्रदेश अस्पताल निर्देशकबिहीन भएको हो ।
२४ असारसम्म डा. ढकाल अस्पतालमा निर्देशकका रूपमा हाजिर भएका थिए। १ साउनबाट उनी अतिरिक्त स्वास्थ्य सचिवका रुपमा मन्त्रालयमा हाजिर भएका छन् ।
डा. ढकाल बढुवासँगै मन्त्रालयमा हाजिर हुन थालेपछि अस्पतालका सिनियर डा. गणेश थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले निमित्त निर्देशक डा. थापालाई आर्थिक अधिकारको जिम्मेवारी नभएको बताए ।
अस्पताल निर्देशकबिहीन भएको तीन साता पुग्न लाग्दासमेत नयाँ निर्देशकको नियुक्तिबारे कुनै जानकारी नआएको उनले बताए । निर्देशकको नियुक्त सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश सरकारले गर्छ ।
डा. थापालाई आर्थिक अधिकारबाहेकको निमित्त निर्देशकको जिम्मेवारी दिएर कार्य सञ्चालन भएपनि कर्मचारीलाई तलब खुवाउने, करार कर्मचारीको म्याद थप गर्ने, अस्पतालमा अति आवश्यक पर्ने सामग्री खरिद गर्न कठिनाइ भएको छ ।
अस्पतालका सूचना अधिकारी बस्नेतले अहिले अस्पतालमा अति आवश्यक पर्ने सामग्री उधारोमा खरिद गरिएको जानकारी दिए । ‘निमित्त निर्देशकलाई आर्थिक अधिकार नभएपछि अस्पताललाई अति आवश्यक पर्ने सामग्री पछि तिर्ने गरी उधारोमा खरिद गरिएको छ,’ उनले भने, ‘अरू काम भने सञ्चालन भइरहेका छन् ।’
यसअघि पनि प्रदेश अस्पताल गत कात्तिक महिना निर्देशकबिहीन भएको थियो । तत्कालीन निर्देशक डा. डम्बर खड्का उमेर हदका कारण सेवा निवृत्त भएपछि निर्देशक चयन प्रक्रिया ढिलाइ भएको थियो । तत्कालीन निर्देशक डा. खड्का १० कात्तिक २०८१ मा सेवा निवृत्त भएपछि डा. गणेश थापालाई नै निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।
प्रदेश सरकारले २ मङ्सिर २०८१ मा डा. ढकाललाई निर्देशक नियुक्त गरेको थियो । डा. ढकाल करिब आठ महिना अस्पतालको निर्देशकका रूपमा काम गरेका थिए ।
सचिव नभएका कारण अस्पताल निर्देशकको चयन प्रक्रियामा ढिलाइ भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । संघीय सरकारले सचिव तत्काल पठाएको खण्डमा अस्पतालको निर्देशक चयन प्रक्रिया पनि छिट्टै टुङ्गिने उनको भनाइ छ ।