जुम्ला—बलिराज बुढा एक कुशल स्वास्थ्यकर्मी हुन् । उनी दुर्गम मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखा कार्यालयमा जनस्वास्थ्य निरीक्षकमा कार्यरत छन् । गाउँघरमा उनलाई ‘बलि’ वा ‘बल डाक्टर’ भनेर सबैले चिन्ने गर्छन् ।
तत्कालीन कर्णाली अञ्चलको मुगु जिल्लाको साविक माग्री गाविस—१ चिमाथ गाउँमा जन्मेका हुन्, उनी । बुवा गोरे बुढा र आमा हजारी बुढाको कोखबाट १४ असोज २०३९ मा जन्मेका हुन् । जन्मेको ६ महिनापछि उनको बुवाको निधन भयो । उनलाई आफू जन्मेको दिन शनिबार मात्रै थाहा छ । अरु फरक पर्न सक्छ—उनलाई थाहा नै भएन ।
बलिराजको बाल्यकाल फुपुको घरमै बित्यो । उनलाई फुपुले हुर्काउन लिएकी थिइन् । २/३ वर्ष बितेपछि उनलाई थाहा भयो— आफू फुपुको घरमा छ भनेर । त्यतिबेलासम्म उनी अन्जान नै थिए । फुपुको घरमा प्युठानका मानबहादुर थापा बस्थे, उनी शिक्षक थिए ।
बलिराजको थापाप्रति आकर्षण बढ्यो । ‘किन यति टाढा पुग्नुभयो । सबैलाई पढाउन र समुदायको सेवा गर्न,’ यसले मलाई आकर्षित गर्यो । नजिकैको उपस्वास्थ्य चौकीबाट त्यतिखेर खोप लगाउन ग्रामीण स्वास्थ्य कार्यकर्ता र मासिका पुग्दा म पनि पढे भने यसरी सेवा गर्न पाउँछु भन्ने उत्प्रेरणा उनमा जाग्दथ्यो ।

उमेर ७ वर्ष पुगेपछि उनलाई प्युठानी सरमार्फत नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छाइला मुगुमा भर्ना गरियो । प्राथमिक तह पार गरी नजिकैको माविबाट उनले माध्यमिक तह पनि पूरा गरे । उनलाई फुपु—फुपाजु र शिक्षकहरूले निकै माया गर्थे । एसएलसी त्यहीबाट सकेर उनी थप उच्च शिक्षाको सपना देख्न थाले ।
बलिराज वि.सं. २०५८ सालमा कर्णाली प्राविधिक शिक्षालय जुम्लामा सिएमए अध्ययन गर्न गए । उनले सिएमए पढ्दै गर्दा फुपु झाडापखालाको कारणले थलिएर उपचार नपाई मृत्यु भएको खबर १८ दिनपछि सेतो कागजको चिठीमार्फत पाएका थिए । त्यो घटनाले उनलाई त्यस्तो मृत्युको जोखिममा रहेका धेरै व्यक्तिको सेवामा खटिन प्रेरित गर्यो ।
जुम्ला प्राविधिक शिक्षालयबाट सिएमए उत्तीर्ण गरिसकेपछि लोकसेवा आयोगमा ‘कान्छो अहेब’का रुपमा १२ असार २०६२ मा नाम निकाले । अहेबमार्फत स्थायी सरकारी जागिरमा प्रवेश गरेदेखि अहिलेसम्म बलिराज निरन्तर कर्णालीका दूरदराजमा सेवा पुर्याइरहेका छन् । उनले अहिलेसम्म कालिकोट, मुगु, सुर्खेत, जुम्ला जिल्लाका स्वास्थ्य संस्था तथा समुदायमा सेवा पुर्याए । २० वर्षदेखि अनवरत रुपमा कर्णालीमा स्वास्थ्य सेवा बलिराजको नियमित कर्म भइसकेको छ ।

बलिराजले जागिरको अधिकांश समय मुगुम कार्मारोङ गाउँपालिकामा बिताएका छन् । विगत ४ वर्षदेखि उनी विकट मुगुम कार्मारोङ गाउँपालिकामा ‘शनिबारे घुम्ती स्वास्थ्य सेवा’ प्रदान गर्दै आइरहेका छन् । ‘२८ जेठ २०७९ शनिबारदेखि सुरु गरिएको सामुदायिक स्वास्थ्य प्रवर्द्धन तथा परामर्शका लागि निःशुल्क रूपमा हरेक महिनाको शनिबार गाउँमा दन्त सेवासहितको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा दिदैं आएको छु,’ बलिराज भन्छन् ।
समुदायमा स्वास्थ्य सम्बन्धि चेतना कम रहेको, स्वास्थ्य संस्थामै नआउने र जटिलता भएर मात्रै आउने र आर्थिक अवस्था कमीले टाढा जान नपाई गाउँमै मृत्यु खेपेको साथै विभिन्न जटिलताले दीर्घ समस्यामा रहने समुदायको स्वास्थ्य अवस्थामा टेवा पुर्याउनका लागि उनी निःशुल्क रूपमा हरेक शनिबार गाउँमा दन्त सेवासहितको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा दिने गरेका छन् ।
विशेषगरी दन्त रोगका बिरामी, उच्च रक्तचाप, सरसफाइ, खानपिन, नसर्ने रोग, स्वास्थ्य बीमा, घरमै रहेका दीर्घ रोगका बिरामीहरूको स्वास्थ्य परामर्शमार्फत रेफर, आर्थिक अवस्थाले घरमै छटपटिएका बिरामीका लागि उनले सहयोग जुटाउने काम समेत गरिरहेका छन् । दुई वर्षमुनिका बालबालिकालाई नियमित खोप पुरा गराउन अभिभावकको दायित्व र फाइदाबारे सचेतीकरण गर्ने गरेका छन् । उनको यो अभियान स्थानीय जनप्रतिनिधि तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगका कारण थप प्रभावकारी भएको छ ।
बलिराजले शनिबारे अभियानमा भेटिएका जटिलता भएका बिरामीहरुलाई संघसंस्था तथा चिकित्सकको समन्वयमा जुम्ला, नेपालगंज, काठमाडौंलगायतका ठाउँमा प्रेषणको लागि परामर्श गर्ने गरेका छन् । १६ वटा गाउँबस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकामा हालसम्म सबैजसो गाउँमा दोहोर्याएर यो अभियान जारी राखेका छन् । उनले आगामी दिनमा पनि थप सुधारसहित यो कार्य जारी राख्ने अठोट लिएका छन् ।