वीरेन्द्रनगर—कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सुर्खेत कालागाउँबाट पाउने सबै प्रकार स्वास्थ्यका सेवा सुविधाबाट नागरिकबाट बञ्चित नगर्न निर्देशन दिएका छन् ।
सोमबार प्रदेश अस्पताल सुर्खेतबाट भइरहेको सेवा प्रवाह, देखिएका समस्या तथा सुधारका विविध पक्षहरूबारे अस्पताल व्यस्थापनसहित सम्बन्धित विभागीय प्रमुखहरूबीचको छलफलमा उनले सो कुरा बताएका हुन् ।
कर्णाली प्रदेश अस्पतालप्रति नागरिकमा रहेको विश्वासअनुसार नै नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए । ‘नागरिकका जुन गुनासा सुनिएका छन्,’ उनले भने, ‘यही भएको जनशक्ति भरपुर प्रयोग गरेर स्वास्थ्यका पाउने सेवा सुविधाबाट बञ्चित नगर्नुहोला ।’
विगतमा अस्पतालमा व्यवस्थापन केही समस्या भएपनि अहिले अस्पतालका निर्देशक नियुक्त भइसकेको अवस्थामा झन प्रभावकारी सेवा दिनुपर्ने मुख्यमन्त्रीले जोड दिए बताए । ‘केही समय निर्देशक नियुक्त गरेन भनेर सरकारलाई गाली दिने काम भयो,’ उनले भने, ‘अब नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिनेतिर सबैले सोच्न जरुरी छ ।’
जनशक्तिको सिमितता र बढ्दो बिरामीको चापबीच सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्रालय, अस्पताल व्यवस्थापन तथा विभागीय प्रमुखहरूले प्रतिबद्वता व्यक्त गरेका छन् ।