२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव

हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव


जुम्ला—हुम्लाको सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा तीन महिनादेखि औषधिको अभाव देखिएको छ । पालिकाका विभिन्न स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामीहरु मर्कामा पर्ने गरेका छन् ।

०८२ असारदेखि स्वास्थ्य चौकीमा औषधिको अभाव भइरहेको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहोराले जानकारी दिए ।

बोहोराले एकातिर स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध हुने व्यवस्था भएपनि आफ्नो स्वास्थ्य चौकीमा ३५ देखि ४० प्रकारका औषधि मात्र आउने गरेको र बाँकी औषधि बिरामीले अन्तबाट व्यवस्था गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् । हाल स्वास्थ्य चौकीमा बुफिन, एसी लग, डिपो लगायत परिवार नियोजनका अन्य औषधीको अभाव रहेको छ ।

त्यस्तै, ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले दुई महिनादेखि औषधिको अभाव भइरहेको बताए । औषधि नभएपछि बिरामी उपचारका लागि आएपनि रित्तो हात फर्काउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ । आइरन चक्की, जिउ दुख्ने, सिटिजेट, छाला चिलाउनेलगायतका रोगको औषधि स्वास्थ्य चौकीमा छैन । उनले प्रत्येक दुई महिनामा गर्नुपर्ने अल्ट्रासाउण्ड पनि नभएको बताउँदै यो व्यवस्था गाउँपालिकाले नगरेको बताए ।

गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, तीन वटा सामुदायिक स्वास्थ्य एकाइ र पाँच वटा आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र छन् । यीमध्ये स्याँडा र चौगानफया आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा आधार विकास नेपालले बरगाउँ स्वास्थ्य चौकीमा नेपाल ट्रस्टले औषधि सहयोग गर्ने भएका कारण अभाव कम भएपनि अन्य नौ वटा स्वास्थ्य संस्थामा भने औषधि अभाव देखिएको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षका लागि नयाँ औषधिको व्यवस्था नगर्दा स्वास्थ्य संस्थामा अभाव देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताए ।

छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँका नवराज सिंहले स्वास्थ्य चौकीबाट औषधि नपाएको गुनासो गरेका छन् । उनले १५ दिनदेखि औषधि सेवन गर्न छुटेको बताउँदै स्वास्थ्य संस्थामा समस्या आइरहेको बताए । दैनिक एक पटक स्वास्थ्य चौकी पुगेर औषधि आए–नआएको बुझ्न जाने गरेको भएपनि नआएको जवाफ मात्र आउने गरेको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ