२०८२ कात्तिक ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित

तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित


वीरेन्द्रनगर—थारू समुदायमा देखिने सिकलसेल एनिमियाले सुर्खेतमा एक थारु परिवारका तीन पुस्ता थलिएका छन् । सिकलसेल एनिमिया रोगबाट बुवा पुस्ता, छोरा पुस्ता र नाति पुस्ता थलिएपछि आर्थिक, शारीरिक र सामाजिक चिन्ता सुरु भएको छ ।

सुर्खेत वीरेन्द्रनगर–९ का संगीता चौधरी सिकलसेलको बिरामी छन् । उनको परिवारमा तीन जना बिरामी छन् । सबै जनाले औषधी खाइरहेका छन् । यो रोग लागेपछि शारीरिक, आर्थिक, मानसिक तनाव बढेको बढ्यै हुने गरेको उनले बताइन् ।

वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चौधरीले २०७३ देखि यो रोगको उपचार गराइरहेका छन् । अहिलेसम्म औषधि खाइरहेको उनको भनाइ छ ।

कर्णाली प्रदेशमा सुर्खेतमा मात्र थारू समुदायको बसोबास छ । यहाँ करिब ९ हजार थारू समुदायको जनसङ्ख्या छ । नेपाल संस्कृत विश्वविद्यालयका शरीर रचना विभागका प्राध्यापक एवं थारू समुदायका अगुवा डा. सुरेन्द्र चौधरीले सुर्खेतमा २०८० सालमा ७० जना र २०८१ मा १८ जना सिकलसेलका बिरामी पत्ता लागेको बताए ।

उनले अझै पनि पर्याप्त मात्रामा परीक्षण नभएकाले सङ्ख्या कम देखिएको भन्दै यदि परीक्षणको दायरा बढाउने हो भने बिरामी फेला पर्ने क्रम पनि बढ्ने जानकारी दिए । उनले यो सरुवा रोग नभएको जानकारी दिँदै बिरामी आमा बाबुबाट जन्मिने सन्तान पनि बिरामी नै हुने उल्लेख गरे ।

सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष दिलबहादुर चौधरीले सिकलसेल एनिमियाबाट थारू समुदायको पुस्ता नै प्रभावित हुन थालेको बताए । उनले यस रोगलाई सरोकारवाला पक्षले सामान्य रूपमा लिँदा बढ्दै गएकोले संवेदनशील बनिदिन आग्रह गरे । उनले विपन्न थारू समुदायलाई लाग्ने यो रोगको सहज उपचारका लागि सुर्खेतमै व्यवस्था गरिनुपर्ने, औषधी पनि सुर्खेतबाटै उपलब्ध गराउनुपर्ने, यस रोगका बिरामीलाई परिचयपत्र र मासिक भत्ताको व्यवस्था गर्न सके उपचारमा सहज हुने बताए । अहिले यस रोगको उपचार गर्न र औषधी लिन नेपालगन्ज जानुपर्ने बाध्यता छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ