२०८२ मंसीर १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित

सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित


वीरेन्द्रनगर-सल्यानको शारदा नगरपालिकामा एक सातासम्म सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट सात सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । नगरपालिकाका सात स्थानमा सञ्चालन गरिएको शिविरमार्फत तीन सय ११ पुरुष र चार सय ४६ महिलासहित कुल सात सय ५७ जनाले सेवा लिएको जनाएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका सेवाग्राहीमध्ये १३२ जनामा मोतियाविन्दुको समस्या देखिएपछि शीतलपाटीस्थित आँखा उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ ।

शारदा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रविन विष्टले जटिल समस्या पहिचान भएका ५३ जनालाई राप्ती आँखा अस्पताल, दाङ रिफर गरिएको पनि बताए । उनका अनुसार शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा वडा नं. २, ५, ६, ९, ११, १३ र १४ मा शिविर सञ्चालन गरिएको थियो । शिविरका क्रममा कम दृष्टि भएका एक सय ८१ जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको छ ।

दुर्गम बस्तीका नागरिकलाई अस्पताल धाउन कठिनाइ हुने अवस्थालाई ध्यानमा राख्दै गाउँ–गाउँमै आँखा सेवा पु¥याउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो ।

आर्थिक कठिनाइ र हिँड्डुलमा समस्या भएकाले आँखा अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई लक्षित गर्दै गाउँघरमै सेवा दिने उद्देश्यले यो शिविर सञ्चालन गरिएको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ