२०८२ फागुन २६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा


जुम्ला—पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा केन्द्रका रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक्स—रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा परेका छन् । भौगोलिक रुपमा विकट जुम्लासहित कर्णालीका विभिन्न जिल्लाबाट दैनिक चोटपटक लाग्ने, लड्ने र हड्डीका बिरामी प्रतिष्ठानको शिक्षण अस्पतालमा बढी आउने गर्छन् ।

तर, एक्स—रे मेसिन बिग्रेपछि टाढा—टाढाबाट आउने सेवाग्राही मर्कामा परेका हुन् । अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरूले अन्योलमा परेका छन्।

सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या, छाती तथा फोक्सो सम्बन्धी रोगका बिरामीहरु एक्स–रे बन्द हुँदा बढी प्रभावित भएका छन् । प्रतिष्ठानमा एक्स—रे सेवा नहुँदा स्थानीय निजी मेडिकल धाउन समेत बाध्य छन् । एक्स—रे सेवा ठप्प भएको, नागरिकले दुःख पाएको विषयलाई प्रतिष्ठानका पदाधिकारीले गम्भीरतापूर्वक लिएका छैनन् ।

मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत वा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस कदम नचालिएको भन्दै स्थानीय तथा स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका छन् । एक्स—रे विभागका रेडियोग्राफर सतल रेउलेले एक्स—रे मेसिन १९ फागुन रातिबाट अचानक बिग्रेको बताए । ‘एक्स—रे मेसिनको केबिमिटरमा समस्या आएकाले मर्मतका लागि जिल्ला बाहिर पठाइएको छ । एक्स—रे मेसिन बिग्रने र चुनाव बिदासँगै भएकाले मर्मतमा ढिला भएको हो,’ उनले भने, ‘अब ४/५ दिनमा एक्स—रे सेवा संचालन हुने छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षण अस्पतालका निर्देशक डा. कमल थानीले बिग्रिएको एक्स—रे मेसिन मर्मतका लागि पठाइएको जानकारी दिए।

‘गत साता एक्स—रे मेसिनको एक पार्टमा समस्या आएपछि मर्मत गर्न पठाईएको छ,’ उनले भने, ‘उक्त मेसिन मर्मत गरेर आउने बेलासम्म यहाँ सिएम प्रविधिबाट जटिल खालका एक्स—रे गरिरहेका छौं । इमर्जेन्सी केसहरु पनि उपचार भइरहेको छ ।’ उनले मेसिन बिग्रिने र चुनावको विदा एउटै समयमा भएपछि केही ढिलाइ भएको बताउँदैं अब चाडै सेवा सुचारु हुने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ