२०८२ फागुन २७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा

चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा

एमबीबीएस, बीएनएस, बिपिएचलगायतका विषय अध्ययन गर्न भारतका पाँचसहित १३० जना विद्यार्थी जुम्ला पुगे


जुम्ला—छिमेकी मुलुक भारतको दिल्लीबाट आफ्नी छोरी रेन्जु सिंहलाई एमबीबीएस अध्ययनका लागि नेपालको हिमाली जुम्ला पु¥याउन आएका बुवा रावेन्द्र सिंहले जुम्ला नेपालकै सुन्दर क्षेत्र रहेको बताए । भारतका सुविधा सम्पन्न विश्वविद्यालय छोडेर जुम्ला रोज्नुमा सुन्दर र शान्त वातावरण, गुणस्तरीय शिक्षा मुख्य कारण रहेको उनको भनाइ थियो ।

दाङबाट एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेका अमय आचार्यले सुनेको भन्दा देखेको जुम्ला निकै फरक रहेको बताए । ‘जुम्लामा राम्रो बाटो छैन्, भौगोलिक विकटता छ, दुर्गम छ भन्ने भ्रम फैलाइएको रहेछ’, उनले भने, ‘जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र होइन, राज्यले लगानी गरेको खण्डमा भाषा, साहित्य, सभ्यता, संस्कृति, जडिबुटी, प्राकृतिक सुन्दरताको अध्ययन तथा अवलोकनको समेत केन्द्र रहेछ । सुनेको भन्दा निकै राम्रो पायौं । अब ढुक्कले अध्ययन पूरा गरेर फर्किनेछौं ।’

लमजुङका विष्णुलाल श्रेष्ठले कर्णालीको विकटताभित्र लुकेका सम्भावना बुझेर आफ्नी छोरीलाई चिकित्सा शिक्षा पढाउन जुम्ला रोजेको बताए । विकटता मात्र होइन् सम्भावना पनि छ भन्ने कुरा सबैलाई बुझाउन जुम्ला रोजेको उनको तर्क थियो ।

भारतकी रेन्जु सिंहसहित विभिन्न फ्याकल्टीमा धनुषाकी सुर्यकुमारी शाह, धरानकी सुरक्षा श्रेष्ठ, कैलालीकी पूर्णिमा भट्टराई, गुल्मीकी पुष्पा भण्डारी, पोखराका विकास पोखरेल, अमरकुमार महत्तो, विकास सिंजाल, मधेशका राजकुमार मल्लमाझी, पोखराकी भूमिका गुरुङलगायतका विभिन्न जिल्लाबाट १३० जना विद्यार्थी अध्ययनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । वर्ष बित्दै जाँदा जुम्ला प्रतिको आर्कषण बढ्दै जानुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा शिक्षा अध्ययनको केन्द्र बन्दैछ ।

छिमेकी देश भारतसहितका विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि हिमाली जिल्ला जुम्ला पुगेका छन् । चिकित्सा शिक्षा अध्ययन हब बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्न छिमेकी देश भारतसहित नेपालभरका विद्यार्थी जुम्ला पुगेका हुन् । पश्चिम नेपालकै स्वास्थ्य भरोसा बनेको कर्णाली प्रतिष्ठान पछिल्लो वर्षमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

परिणाम नै मान्नुपर्छ, देशका सुविधासम्पन्न ठाउँझैं जुम्ला चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीको रोजाइ बन्न थालेको छ । नेपालका मात्र नभई अहिले जुम्लामा भारतबाट समेत आएर डाक्टरी अध्ययन गरिरहेका छन् ।

जल, जमिन, जडिबुटी, जलविद्युत, पर्यटनको प्रचुर सम्भावनाकाबीच पनि विकट क्षेत्रका रुपमा परिचित जुम्ला चिकित्सा शिक्षाका हिसाबमा सुगम बन्न पुगेको छ । यहाँको विकटता देख्नेहरुले नदेखेको सम्भावनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उजागर मात्र गरेको छैन्, कुनै समय शवको पोष्टमार्टम गर्न डाक्टर कुर्ने, समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो समेत बनेको छ ।

कर्णाली प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि छिमेकी राष्ट्र भारतका ५ जनासहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गरेर १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेका छन् ।

जुम्लामा आएका विद्यार्थी र उनीहरुका अभिभावकलाई मंगलबार स्वागतसँगै अभिमुखीकरण गरिएको छ । जसमा एमबीबीएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बीएनएसतर्फ २० जना, बिपीएचतर्फ २० जना, बीएस्सी नर्सिङतर्फ २० र बी–फार्मा तर्फ २० जना गरी १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला पुगेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए ।

मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा सतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले चिकित्सा शिक्षाका क्षेत्रमा आफ्नो अब्बलता स्थापित गरेकै कारण सुगम क्षेत्र छाडेर डाक्टरी अध्ययन गर्न जुम्ला आउने गरेको उनको भनाइ छ । सिमित स्रोत साधन र राज्यको उपेक्षाकाबीच पनि जुम्ला देशकै रोजाइ बन्नु गौरबको विषय भएको उनले बताए ।

गत वर्ष विभिन्न फ्याकल्टीमा १०४ भर्ना नयाँ विद्याथी भर्ना भएको प्रतिष्ठानमा यस वर्ष २६ जना बढेर १३० जना एमबीबीएस, बीएनएस, बी फर्ममा, बीएस्सी नर्सिङ, बिपीएचलगायतका विषय अध्ययन गर्न जुम्ला आइपुगेका छन् ।

कर्णाली प्रतिष्ठानलाई विश्वास गरी अध्ययनको गन्तव्य बनाउन जुम्ला पुगेका देशभरका विद्यार्थीलाई स्वागत गर्दै देशकै अब्बल जनशक्ति बनाएर पठाउने अठोट गरेको प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले बताए ।

संघीय राजधानी काठमाडौंको सुविधासम्पन्न विश्वविद्यालय छोडेर कर्णालीलाई गरेको विश्वासले अध्ययन तथा अनुसन्धानका लागि कर्णाली प्रतिष्ठान थप जिम्मेवारी बोधसँगै गौरवान्वित महसुस भएको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पिछडिएको क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने एकमात्र स्वास्थ्य संस्था रहेको बताए । सिमित स्रोत साधनका बीच देशकै अब्बल शैक्षिक संस्थाका रुपमा रहेको प्रतिष्ठानलाई विश्वास गरेर चिकित्सा शिक्षा अध्ययन गर्न जुम्ला आएका सबै विद्यार्थीको शान्ति, सुरक्षा प्रहरी प्रशासनले गर्ने विश्वास दिलाए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ