२०८२ चैत्र १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य

हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति गराउन बाध्य


जुम्ला—हुम्लाको सामुदायिक स्वास्थ्य इकाई खोल्सीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन् । १५ पुसदेखि स्वास्थ्य संस्थामा नर्सिङ स्टाफ नहुँदा यस्तो समस्या उत्पन्न भएको हो ।

सामुदायिक स्वास्थ्य इकाई खोल्सीमा कार्यरत अनमी सपना बुढाले पुस महिनामा जागिर छोडेपछि बर्थिङ सेन्टरमा सेवा प्रभावित भएको हो । त्यसयता सुत्केरी गराउन आउने सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको स्थानीयहरूको गुनासो छ ।

१५ चैतमा बिहान सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा पुगेकी जानु शाही स्वास्थ्यकर्मी नहुँदा अन्ततः घर फर्केर सुत्केरी हुनु परेको उनका पति हाँसबहादुर शाहीले बताए । ‘होम डेलिभरी जोखिमपूर्ण हुने भएकाले स्वास्थ्य संस्थामा लग्यौं । तर, अनमी नभेटिएपछि घरमै फर्केर सुत्केरी गराउनु प¥यो,’ उनले भने ।

त्यस्तै, सोही दिन सुत्केरी व्यथा लागेकी अर्की गर्भवती भाइबोला सिंहलाई पनि स्वास्थ्य संस्थामा लगिए पनि नर्सिङ स्टाफ नभएकै कारण घर फर्कनु परेको उनका पति वृष सिंहले गुनासो गरेका छन् । यसले स्थानीयलाई ज्यानको जोखिम मोल्न बाध्य बनाएको उनहरूको भनाइ छ ।

स्वास्थ्य इकाईका इन्चार्ज धिरिन शाहीका अनुसार अनमी बुढा जागिर छोडेर गएपछि पटक–पटक सिमकोट गाउँपालिकासँग नर्सिङ स्टाफको व्यवस्था गर्न अनुरोध गरिएपनि कुनै सुनुवाई भएको छैन । करिब चार महिना बितिसक्दा पनि स्टाफको व्यवस्था नहुनु गाउँपालिकाको लापरवाही भएको उनको भनाइ छ ।

सिमकोट गाउँपालिका—८ का वडाध्यक्ष कमल बुढाले पनि गाउँ कार्यपालिकाको बैठकमा पटक–पटक यो विषय उठाए पनि समाधान नभएको बताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही हुनु गैरजिम्मेवारी भएको उनको भनाइ छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले गत तीन महिनादेखि नर्सिङ स्टाफ अभाव रहेको स्वीकार गर्दै समाधानका लागि पहल भइरहेको बताए । केही प्राविधिक कारणले ढिलाइ भएको भन्दै उनले छिट्टै नर्सिङ स्टाफ व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ