२०८३ असोज ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु

सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु

औषधी, जनशक्तिको व्यवस्थापन गरेर प्रकोप नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन


वीरेन्द्रनगर—सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप देखिएको छ । गाउँपालिकामा भदौं महिनादेखि स्क्रब टाइफस प्रकोपका रुपमा फैलिएको हो ।

हालसम्म स्क्रबटाइफसका कारणले ६ जनाको मृत्यु भएको छ । गाउँपालिकाका वडा नम्बर १, ५ र ६ बढी प्रभावित भएका भएको स्वास्थ्य सेवा कार्यालय सल्यानलले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले पनि परीक्षण किट, औषधि र थप स्वास्थ्यकर्मी पठाउने तयारी गरेको जनाएको छ ।

बुधबार बिहानसम्म प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप एक हजार किट, आवश्यक औषधि तथा चिकित्सकसहितको जनशक्ति पठाउन मुख्यमन्त्री मंगलबहादुर शाहीले निर्देशन दिएका छन् ।

प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक परीक्षण, उपचार तथा रोकथामका कार्यक्रम प्रभावकारी बनाउन उनले निर्देशन दिएका हुन् । उपलब्ध स्रोत साधन परिचालन गरेर रोगलाई नियन्त्रणमा लिन सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।

यसैबीच, सल्यानकै कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि स्क्रब टाइफस परीक्षण किटको माग गरेका छन् । प्रदेश सरकारले जिल्लाका जोखिमयुक्त क्षेत्रमा परीक्षण तथा निगरानी बढाउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले यसअघि स्क्रबटाइफससँगै डेगु परीक्षण किट क्सिसाइक्लिन, एजिथ्रोमाइसिन, पारासिटामोललगायत आवश्यक औषधि उपलब्ध गराउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको थियो । सो पत्र र मुख्यमन्त्रीको निर्देशनअनुसार आवश्यक औषधी तथा किटहरु सल्यानमा पठाउने तयारी भैरहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा.रविन खड्काले बताए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

स्क्रब टाइफस परीक्षणका लागि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट दुई सय र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट दुई सय ५० गरी हालसम्म चार सय ५० वटा किट दार्मा गाउँपालिका पठाइएको छ । प्रकोपको अवस्था हेर्दा तत्काल कम्तीमा एक हजार थप परीक्षण किट आवश्यक रहेको जनाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ