२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा २९ जना ‘सर्विलेन्स अफिसर’ ठाडो नियुक्ति

स्वास्थ्य मन्त्रालयद्वारा २९ जना ‘सर्विलेन्स अफिसर’ ठाडो नियुक्ति


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिना सूचना ठाडो रुपमा २९ जना सर्विलेसन्स अफिसर नियुक्त गरेको छ । एक महिनाका लागि करारमा नियुक्ति दिइएका ती २९ जनालाई ७ वटै प्रदेश र प्रदेश मातहतको स्वास्थ्य निर्देशनालयअन्तर्गत रहेर ‘कन्ट्याक्ट ट्रेसिङ’मा खटाइएको छ ।

अहिले एक महिनाका लागि नियुक्त गरिएको भनिएपनि उनीहरुको नियुक्ति आवश्यकताअनुसार थप गरिने स्रोतले जनाएको छ ।

सार्वजनिक खरिद ऐनअनुसार कर्मचारीको करार नियुक्त गर्दा सूचना निकाल्नुपर्ने हुन्छ । तर, मन्त्रालयले सिधैं सचिवस्तरीय निर्णय गरी विभागलाई सर्विलेन्स अफिसर नियुक्ति गर्न निर्देशन दिएको हो । सर्विलेन्स अफिसरहरुलाई कोभिड—१९ इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गत समन्वय गर्ने गरी नियुक्ति गर्ने तयारीमा रहेको मन्त्रालयले उनीहरुलाई दिने सेवा सुविधाको स्रोत जुटाउन नसकेपछि विभाग मातहतबाट सेवा सुविधा पाउने गरी नियुक्ति दिइएको हो । ‘प्रक्रिया नपु¥याएर नै नियुक्त गरियो, त्यही नै त्रुटिपूर्ण छ,’ विभागनिकट स्रोतले भन्यो, ‘इमर्जेन्सी भएतापनि कम्तिमा सूचना निकाल्नुपर्ने हुन्छ । तर, पहिले नै लिष्ट बनाइयो र पछि निर्णय गराइयो ।’

इन्सिडेन्ट कमाण्ड सिष्टमका कोर्डिनेटर डा. गुणराज लोहनीले सर्विलेन्स अफिसरहरुलाई विभागले परिचालन गर्ने गरी नियुक्त गरिएको बताए । ‘यस विषयमा मलाई धेरै जानकारी छैन्,’ डा. लोहनीले भने, ‘विभागले खटाउने कुरा भएको हो ।’ मन्त्रालयमा सिधैं नियुक्ति गर्ने विषयमा महाशाखा प्रमुखहरुबीच विवाद भएपछि विभाग पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

नियुक्ति गरिएका अफिसरहरुलाई तलब खुवाउन अप्ठ्यारो हुने देखिएपछि मन्त्रालयले भोलिन्टियरका रुपमा नियुक्ति दिएर दैनिक भत्ता र यातायात शीर्षकमा सुविधा दिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत सातवटै प्रदेशका पठाएका ती सर्विलेन्स अफिसरले प्रदेश सरकारअन्तर्गत रहेर समन्वय गर्ने महाशाखा प्रमुख डा. बासुदेव पाण्डेले बताए ।

‘स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गरी सर्विलेन्स अफिसर पठाइएको हो,’ उनले भने, ‘उहाँहरुले प्रदेशसँग समन्वय गरेर काम गर्नुहुन्छ ।’ डा. पाण्डेले उनीहरुलाई स्वयंसेवकका रुपमा खाजा र यातायात खर्च दिएर पठाइएको बताए । तर, कति भन्ने उनले खुलाएनन् । विभाग स्रोतकाअनुसार सर्विलेन्स अफिसरहरुलाई दैनिक १ हजार ५ सय भत्ता र ३० हजार मासिक यातायात खर्च भनेर उपलब्ध गराइने निर्णय भएको छ । यसरी खटिएका एक सर्विलेन्स अफिसरले मासिक ७५ हजार रुपैयाँ पाउँछन् । २९ जना सर्विलेन्स अफिसरका लागि एक महिनाका लागि २१ लाख ७५ हजार रुपैयाँ खर्च हुन्छ ।

कम्तिमा जनस्वास्थ्यमा स्नातक गरेका ती सर्विलेन्स अफिसरहरु नियुक्त गर्दा सरकारले किन प्रक्रिया पूरा गरेन ? ‘उनीहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्ने भएको हुँदा सूचना ननिकाली सिधैं सचिवस्तरीय निर्णय गरेर खटाइएको हो,’ महाशाखा प्रमुख डा. पाण्डेले भने ।

यसरी नियुक्त गरिएका केही सर्विलेन्स अफिसर कार्यक्षेत्रमा पुगिसकेका छन् भने केही पुग्ने क्रममा रहेको विभाग निकट स्रोतले जानकारी दिएको छ । महाशाखाले प्रदेश १ मा ३ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा ४ जना र प्रदेश ५ मा ५ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ६ जनालाई खटाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ