२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिलको अनुगमनः डाक्टर बिनाका क्लिनिक, चिकित्सकबिनै उपचार

मेडिकल काउन्सिलको अनुगमनः डाक्टर बिनाका क्लिनिक, चिकित्सकबिनै उपचार


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको अनुगमनमा क्रममा चिकित्सकबिनाकै क्लिनिकहरु संचालनमा रहेको पाइएको छ । सोमबार काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्री नेतृत्वको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा केही क्लिनिक भनेर खोलिएका संस्थाहरुमा डाक्टरसमेत नरहेको पाइएको हो ।

ब्युटी र स्कीन सम्बन्धि काम गर्ने ती क्लिनिकहरुमा डाक्टरबिनै डाक्टरले मात्रै गर्ने पाइने उपचार हुने गरेको तथ्यसमेत फेला परेको छ । जसमा बालुवाटारस्थित कोरियन स्कीन केयर क्लिनिक, सिटीसेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयर, नक्सालस्थित ब्युटी क्लब छन् । स्कीन र ब्युटी सम्बन्धि काम गर्ने तीन वटै संस्थामा चिकित्सकहरु भने कार्यरत छैनन् । तर स्कीन सम्बन्धि चिकित्सकहरुले मात्रै गर्नुपर्ने केही उपचार तीन वटै संस्थामा हुने गरेको अनुगमनका क्रममा फेला परेको हो ।

बालुवाटारस्थित कोरियन स्कीन क्लिनिकमा चिकित्सकबिना चिकीत्सकीय काम भइरहेको उजुरीका आधारमा काउन्सिलको टोली अनुगमनमा पुगेको थियो । सो क्रममा चिकित्सकको प्रेस्क्रीप्सन बिना दिन नमिल्ने औषधि र उपचार उक्त क्लिनिकमा हुने गरेको भेटिएको छ । यस्तै, नक्सालस्थित ब्युटी क्लबले चिकित्सकबिना नै चिकित्सकले गर्ने स्कीन सम्बन्धि ट्रिटमेन्ट गरेको उजुरी थियो । उक्त क्लबको अनुगमन गरेर काउन्सिलले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ । सिटी सेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयरले पनि चिकित्सकबिना चिकीत्सकीय उपचार सम्बन्धि काम गरेको उजुरीका आधारमा काउन्सिलले अनुगमन गरेको हो । उक्त क्लिनिकमा पनि चिकित्सकले गर्ने काम भइरहेको अनुगमनको क्रममा फेला परेपछि काउन्सिलले कागजातसहित संचालकलाई काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै, अनुगमनका क्रममा योग्यताबिना र योग्यताभन्दा बढी प्रायक्टिस गर्नेमाथि पनि काउन्सिलले कारवाही अगाडि बढाएको छ । डा. उदीप श्रेष्ठको बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिक विरुद्ध दुई वटा उजुरी काउन्सिलमा परेका थिए । जसमध्ये पहिलो एक जना विदेशी चिकित्सक डा. शिव शिवाजी सुर्यवंशीलाई काउन्सिलबाट अनुमति नलिएरै कामका लगाएको उजुरी थियो । नेपालमा विदेशी चिकित्सकले काम गर्दा नेपाल मेडिकल काउन्सिलबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । डा. सुर्यवंशीले हेल्दी च्वाइस क्लिनिकमा एक वर्ष काम गरेका थिए । तर, त्यसका लागि उनले काउन्सिलबाट स्वीकृती लिएका छैनन् ।

डा. श्रेष्ठले योग्यताभन्दा बढी उपचार गर्ने गरेको उजुरी काउन्सिलमा छ । उनले फिलिपिन्सबाट एमबीबीएस सरहको शैक्षिक योग्यता हासिल गरेको तर विशेषज्ञ चिकित्सकले गर्ने उपचार गर्ने गरेको उजुरी छ । काउन्सिलले अनुगमनका क्रममा डा. सुर्यबंशीलाई गरिएको पेमेन्ट, डा. उदीपका उपचार सम्बन्धि कागजातहरु लिएर अनुसन्धान अगाडि बढाएको छ ।

काउन्सिलका सदस्य डा. कुन्जाङ शेर्पाको टोलीले ललितपुरको डिकस्मो क्लिनिक, लुम्बिनी डेन्टल क्लिनिक, जोरपाटीको जोरपाटी पोलिक्लिनिक र कलंकी पोलिक्लिनिकमा अनुगमन गरेको छ । डिकस्मोमा नर्सले स्कीन केयर स्पेशलिष्ट लेख्ने गरेको, लुम्बिनी डेन्टल क्लिनिकका संचालक डेन्टल असिस्टेन्ट भएर चिकित्सक गर्ने प्रोसिजरहरु गर्ने गरेको र जोरपाटी पोलीक्लिनिक र कलंकी पोलिक्लिनिकमा आयुर्वेद काउन्सिल र स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता चिकित्सकले सिनियर फिजिसियन, चाइल्ड एण्ड रिप्रडक्टीभ स्पेशलिष्ट लेखेर एलोपेथिक उपचार प्रयाक्टिस गर्ने गरेको उजुरीका आधारमा अनुमगन गरेको थियो ।

‘बिना योग्यता कार्यक्षेत्र बाहिर गएर काम गरेकोलगायतका उजुरीका आधारमा अनुगमन गरेका हौं,’ डा. शेर्पाले भने, ‘अनुगमनका क्रममा हात लागेका प्रमाण र थप प्रमाणहरु मगाएर अनुसन्धान गर्छौ । त्यसपछि दोषी पाइएमा कानुनअनुसार कारवाही अगाडि बढाउँछौं ।’

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीका संयोजक डा. खत्री बिना दर्ता, बिना योग्यता, योग्यताभन्दा बढी उपचार गर्ने गराउने विभिन्न अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाहरु एवं ब्युटी पार्लर, औषधि पसल, चश्मा पसलजस्ता गैरचिकित्सकीय संस्थाहरुबाट समेत विभिन्न उपचार हुने र शल्यक्रियालगायतका इन्भासीभ प्रोसिडर (Invasive procedure) गर्ने गराउने पाइएको हुँदा मेडिकल काउन्सिलको नेतृत्वमा अन्य स्वास्थ्य व्यवसायी परिषद् र मन्त्रालयको समन्वयमा अनुगमन थालिएको बताउँछन् ।

‘मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सक तथा अन्य व्यवसायिक परिषद्मा दर्तावाला स्वास्थ्यकर्मीले आफूले प्राप्त गरेको योग्यताभन्दा बढी वा योग्यताभन्दा बढी विधि वा पद्धतिको प्रयोग गररेमा तत परिषद्को व्यवसायिक आचरण बमोजिमको कारवाही हुनेछ,’ डा. खत्री भन्छन्, ‘बिना चिकित्सकीय ज्ञान र उपाधि उपचारमा संलग्न अन्य व्यक्तिको हकमा मुलुकी ऐन, फौजदारी कार्यविधीको परिच्छेद १९ दफा २३५ देखि २३८ सम्मको व्यवस्था बमोजिम कारवाही हुन्छ । तसर्थ, सम्पूर्ण सरोकारवालासँग प्रचलित ऐन बाहिर गएर कुनै काम कारवाही नगर्न नगराउन नेपाल मेडिकल काउन्सिल सचेत गर्दछ ।’ उनी अनुगमनका क्रममा भेटिएका कुनै पनि गैरकानुनी गतिविधी उपर निर्मम कारवाही हुने बताउँछन् ।

चिकित्सक भएमा व्यवसायिक आचारसंहिताअनुसार कारवाही हुने र अन्यको हकमा ३ लाख क्षतिपूर्तिदेखि ३ वर्षसम्म कैद र अंगभंग वा मृत्यु भएमा फौजदारी अभियोगमा कारवाही हुने कानुनी व्यवस्था छ । काउन्सिलमा परेका उजुरीमाथि कारवाही प्रक्रिया अगाडि बताउँदैं सोमबारबाट काउन्सिलले काठमाडौंका विभिन्न क्लिनिक, स्वास्थ्य संस्था र ब्युटीपार्ललहरुको अनुगमन सुरु गरेको हो ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ