२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमामार्फत १८ लाख नागरिक सेवा लिन इच्छुक, ४ अर्ब ५० करोड खर्च हुने अनुमान

स्वास्थ्य बिमामार्फत १८ लाख नागरिक सेवा लिन इच्छुक, ४ अर्ब ५० करोड खर्च हुने अनुमान


काठमाडौं— स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको पाँच वर्ष भएको छ । यस अवधिमा १८ लाख नागरिक सेवा लिन इच्छुक भएका छन् । सरकारले वि.सं. २०७२/०७३ सालबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म १७ लाख ५ हजार ८ सय ६७ जना बढी सेवा लिन इच्छुक भएका हुन् ।

हाल ४२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुगेको छ । बिमामा आवद्ध ३५ हजार घर छन् । स्वास्थ्य बिमा बोर्डका कार्यकारी अधिकृत रमेश पोखरेलका अनुसार बिमामा आवद्धहरुबाट उठाएको रकम ६ करोडभन्दा बढी जम्मा भएको छ । पोखरेलका अनुसार सरकारले दिएको ६ अर्बमा दुुई अर्ब खर्च भएको छ । सुरुमा चार अर्ब रुपैयाँ सरकारले दिएको थियो । त्यस यताका दुई वर्ष ६ अर्ब दिएको छ ।

यसरी सुरु भएको थियो स्वास्थ्य बिमा कार्यक्रम

सरकारले सबै नागरिकहरुलाई बिमामा आवद्ध गर्ने उद्धेश्यले वि.सं. २०७२/७३ बाट स्वास्थ्य बिमा कार्यक्रम अभियानका रुपमा सुरु गरिएको हो ।

तीन जिल्लाबाट पाइलट प्रोजेक्टका रुपमा सुरु भएको अभियान हाल ४२ जिल्लामा पुगेको छ । आगामी वर्षभित्र सबै जिल्लामा लागु गरिसक्ने सरकारको योजना रहेको छ ।

कुन वर्ष कतिको बिमा ?

वि.सं. २०७३ /०७४ मा २ लाख २८ हजार १ सय १३ जनाले स्वास्थ्य बिमा गाएका थिए । बिमितबाट २० लाख ९० हजार ३ सय ७० रुपैयाँ रकम उठेको थियो । सो वर्ष ६८ प्रतिशतले नवीकरण गराएका थिए । बाँकी ३२ प्रतिशत अर्थात ७२ हजार ९ सय ९६ जनाले नवीकरण गराएनन् ।

वि.सं. २०७४/०७५ मा १२ लाख ९९ हजार २ सय १० जना स्वास्थ्य बिमामा आवद्ध भएका थिए । उनीहरुबाट १ अर्ब ३६ करोड २१ लाख १४ हजार ६ सय ७६ रुपैयाँ उठेको थियो । त्यस बेला २५ प्रतिशतले नवीकरण गराएनन् । स्वास्थ्य बिमा बोर्डले २०७४ /०७५ मा १ अर्ब १८ करोड २८ लाख ४० हजार रुपैयाँ बिमितलाई सेवा दिए बापत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई दिएको छ ।

त्यसै गरी वि.सं. २०७५ माघसम्म १५ लाख ९१ हजार १ सय ३६ जना बिमामा आवद्ध भएका थिए । बिमा बोर्डका अनुसार ०७५/०७६ असारसम्म १७ लाख ८५ हजार ८ सय ६७ जना बिमामा आबद्ध भएका छन् ।

८ लाख विपन्न, १४ हजार जेष्ठ नागरिकको निःशुल्क बिमा

सरकारले हालसम्म ५ लाख १० हजार १ सय ६ जना अति गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । ७० वर्ष उमेर पूरा गरेका वृद्धवृद्धा गरी १४ हजारको पनि निःशुल्क बीमा गरेको बिमा बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक पोखरेलका अनुसार कुल बिमितमध्ये ८ लाख २१ हजार २ सय ४ जनाले स्वास्थ्य सेवा लिएका छन् । ४२ जिल्लाको बिमित संख्या र त्यस जिल्लाको कुल जनसंख्याको आधार लिदा हालसम्म १४ प्रतिशत जनता स्वास्थ्य बिमामा आवद्ध छन् ।

४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान

सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब रुपैयाँ विनियोजन गर्दै आएको छ । जेठ १९ गतेसम्म राज्यको २ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । २ अर्ब गरिब तथा विपन्नहरुको बिमा गरेबापत रकम लिन बाँकी रहेको छ ।

गरिबीको परिचय पत्र लिएकाहरुको राज्य आफैले स्वास्थ्य बिमा गरेको छ । ‘पहिले हामीले नागरिकको बिमा गर्छौ र पछि नेपाल सरकार समक्ष स्रोध भर्ना माग गर्छौ । २ अर्ब माग गर्न बाँकी रहेको छ । यस वर्ष हामीले ४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ कार्यकारी निर्देशक पोखरेलले भने ।

बिमा गरेपछि पाइने सुविधा

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशनलगायतका उपचार प्राप्त गर्न सक्छन् ।

त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन् ।

के हो स्वास्थ्य बिमा ?

विश्वमा धेरै देशहरुमा स्वास्थ्य बिमाको विकास धेरै अगाडिदेखि भएपनि नेपालमा भने वि.सं. २०४० सालतिरबाट मात्रै स्वास्थ्य बिमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बिमा गरिन्थ्यो । स्वास्थ्य बिमा गरेपछि विरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बिमावापत पाइन्छ । वार्षिक रुपमा ३५ सय तिरेपछि परिवारका सदस्यले एक लाखसम्म स्वास्थ्य उपचार सेवा पाउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ