२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल


झापा—आमाको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आएका राजगढ गाउँपालिका– ६ सप्तरीका सञ्जयकुमार झा अहिले बिर्तामोडस्थित पूर्बाञ्चल क्यान्सर अस्पतालमा छन् । पाठेघरको मुखमा क्यान्सर देखिएपछि आमा छाँयादेवी (नाम परिर्वतन)को उपचारका लागि उनी झापा आएका हुन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले आमाको उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड लान सल्लाह दिएपछि आमाको थप उपचारका लागि आफूले यहाँ ल्याएको झाले बताए । ‘आमाको थप उपचारका लागि विपीका डाक्टरले पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गर्दा सुरुमा निकै डर लागेको थियो,’ त्रिविका प्राध्यापक रहेका झाले भने, ‘मैले पूर्वाञ्चल क्यान्सर अस्पतालको विषयमा गुगल सर्च गरेर अध्ययन गरे । त्यस क्रममा यो अस्पतालका विषयमा सबै कुरा थाहा पाएपछि आमालाई उपचारका लागि यहाँ ल्याएको हुँ ।’

‘अस्पताल सोचेभन्दा धेरै फरक रहेछ आमाको उपचार सहजै हुँदैछ,’ झा ढुक्क सुनिए, ‘मलाई पनि सुरुमा क्यान्सर भयावह रोग हो भन्ने लागेको थियो । तर, यहाँ आएर आमाको उपचार गराउन थालेपछि थाहा भयो क्यानसर रोग अन्य रोग जस्तै रहेछ । यसलाई सामान्य मान्दा हुने रहेछ ।’ उनले आमा पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गर्दै अहिले केमो थेरापी चलिरहेको बताए । ‘अस्पतालको म्यानेजमेन्ट टिम देखेर म दंग छु,’ उनले थपे ।

उनकी आमाको उपचारमा क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्रकुमार यादव सहितको टिमले मेहनत गरिरहेको छ । उनी चिकित्सकहरुको सेवाबाट पनि प्रशन्न छन् ।

झापाको दमक नगरपालिकाकी कमला रिमाल पनि अहिले पूर्वाञ्चल क्यान्सर अस्पतालमा नै उपचाररत छन् । उनमा स्तनमा क्यान्सरको समस्या देखिएपछि असार यता अस्पतालको प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गराइरहेकी छन् । क्यान्सर देखिएपछि गत असारमा उनको स्तनको शल्यक्रिया गरिएको थियो । उनको शल्यक्रिया पनि क्यान्सर रोग विशेषज्ञ डा. यादवसहितको टिम सक्रिय छ ।

नियमित ‘फ्लोअप’का लागि पूर्वाञ्चल क्यान्सर आएपताल आएकी रिमालले अस्पतालमा सहजै आफूले उपचार गराएको र अहिलेसम्म ८ वटा केमो चलाइसकेको बताइन् । ‘अन्तिम केमोका लागि यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘सुरुमा डर थियो । अहिले रोग निको भयो ।’

‘सामान्य अवस्थामा रहेकी आमाको स्तनमा क्यानसर छ भन्दा सुरुमा निकै डर लाग्यो,’ आमाको उपचारका लागि अस्पताल आएकी नीताले भनिन्, ‘तर, डाक्टरको काउन्सिलिङले हामीलाई थप विश्वस्त गरायो । आमाको स्तनको गत असारमा शल्यक्रिया गरिएको थियो । अहिले आमा निको हुँदै हुनुहुन्छ ।’ उनले आमा पूर्ण रुपमा निको भएपछि घर लाने तयारी गरिरहेको बताइन् ।

मेची नगरपालिका—७ का टिकाराम पोखरेलले पनि पूर्वाञ्चल क्यान्सर अस्पतालबाट राम्रो सेवा पाएका छन् । ‘आफ्नै ठाउँमा यतिका सुविधा सम्पन्न अस्पताल बनेको रहेछ, थाहा थिएन्,’ उनका आफन्त हरिबहादुर भट्टराईले भने, ‘टिकारामको उपचार गराउँदा थाहा भयो । आँगनमा बनेको अस्पतालले म मात्रै होइन्, झापासहित पूर्वका वासिन्दालाई ठूलो गुन लगाएको छ ।’

झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएपछि भट्टराई र रिमालमात्रै होइन्, यहाँ सबै स्थानीय नजिकै उपचार पाउने भएकाले खुसी छन् । घरकै खाना खाएर क्यान्सरको उपचार गराउने भट्टराई र रिमाल प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुजस्ता धेरैले अहिले यो अस्पतालबाट सेवा लिएका छन् ।

एक वर्षअघिमात्रै सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापनाको पहिलो वर्ष नै २६ हजार बिरामीले ओपीडी सेवा लिएका छन् ।

अस्पताल प्रशासनकाअनुसार सन् २०२० को सुरुवातसँगै अस्पतालले आफ्नो सेवा सुरु गरेको थियो । प्रदेश नं. १ का क्यान्सरका बिरामीलाई लक्षित गरी सञ्चालनमा आएको अस्पतालले हालसम्म २६ हजार जनालाई सेवा दिएको जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका डा. वीरेन्द्र यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालमा अहिले दैनिक रेडिएनसका लागि मात्रै ५०-६० जना, क्यान्सर रोग पत्ता लगाउनका लागि र केमोका लागि पनि दैनिक एक सयको हाराहारीमा बिरामी आउने गरेको बताए ।

एक वर्षको अवधिमा चार सय १३ जनाले रेडिएसन, पाँच सय २५ जनाले सर्जरी सेवा लिएको जानकारी अस्पतालले दिएको छ । अस्पतालले नयाँ प्रविधिको मेसिन ‘टूु बिम लिनियर एक्सेलेरेटर’मार्फत क्यान्सरका बिरामीलाई एक मिनेटमै रेडिएसन दिनसक्ने प्रविधि, क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिनबाट सेवा दिइरहेको छ । डा. यादवले अब एसियामा नै नभएको साइबर नाइफ अत्याधुनिक रेडियो सर्जरी प्रविधि भित्र्याउन लागेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ