२०७९ असार ११, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनस्वास्थ्य विपद्का कारण ६ वर्षमा १३ हजारको मृत्यु

जनस्वास्थ्य विपद्का कारण ६ वर्षमा १३ हजारको मृत्यु


काठमाडौं–विगत ६ वर्षमा नेपालमा जनस्वास्थ्य विपद्का कारण १३ हजार बढीको मृत्यु भएको छ । भुकम्प, हावाहुरी र महामारीजन्य रोगका कारण वि.स. २०७१ श्रावण १७ देखि अहिलेसम्म  १३ हजार ३ सय ९२ जनाको मृत्यु भएको हो । विपदले अन्य सयौं ब्यक्ति घाइते छन भने अन्य धेरै हराइरहेका छन् । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका तत्कालीन प्रमुख चुडामणि भण्डारीका अनुसार ४३ हजार २ सय ७० जना घाइते भएका छन् भने ४ सय १५ हराइरहेका छन् ।

विपद्का दृष्टिले नेपाल संसारका अत्याधिक जोखिममा रहने मुलुकहरुमध्ये एक हो । वर्षेनी नेपालले भौ-गर्भिक, जल तथा मौसम सम्बन्धी विपद्का कारण सयौंको संख्यामा मानिसहरुको मृत्यु हुने गरेको छ । भूकम्पीय जोखिमका दृष्टिले नेपालको सम्पूर्ण भू-भाग सक्रिय भूकम्पीय क्षेत्रभित्र पर्दछ, जसका कारण सधै विनासकारी भूकम्पको जोखिम रहिरहन्छ । विपद्बाट हुन सक्ने ठूलो क्षतिले गर्दा राज्यलाई ग्रामीण तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन चुनौती दिएको छ ।

विपद् र विपदपछिको तत्कालीन अवस्थामा समन्वय र सूचना व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखिएको भण्डारी बताउँछन् । सरकारले निरन्तर रुपमा स्वास्थ्य क्षेत्रको विपद् पूर्वतयारी एवं प्रतिकार्यलाई थप व्यवस्थित गर्ने उद्धेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विक्रम संवत २०७० मा स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको स्थापना गरेको थियो ।

गैर प्राकृतिक विपद

महामारी, अनिकाल, डढेलो, किट तथा सुक्ष्म जीवाणु आतंक, पशु तथा चराचुरुङ्गीमा हुने फ्लु, प्यान्डामिक फ्लु, सर्पदंश, जनावर आतंक, खानी दुर्घटना, हवाई, सडक तथा जल दुर्घटना, आगलागीबाट उत्पन्न विपद गैर प्राकृतिक विपद अन्तर्गत पर्छन् । त्यस्तै, विषाक्त ग्याँस, रसायन वा विकिरण चुहावट, ग्याँस विष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदुषण, वन विनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्वार कार्यमा हुने दुर्घटना पनि यस अन्तर्गत पर्छन् ।

प्राकृतिक विपद

हिमपात, असिना, हिमपहिरो, हिमपात विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू-स्खलन, डुवान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावा, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोट, डढेलो वा यस्तै प्राकृतिक विपदबाट उत्पन्न अन्य विपद्लाई प्राकृतिक विपद भनिन्छ ।

चिकित्सकले घाइतेको वर्गीकरण यसरी गर्ने

आपतकालीन अवस्थामा अस्पतालको नियमित तथा बहिरंग सेवा स्थगित गर्नुपर्छ त्यसको सट्टामा बहुसंख्यक घाइतेहरुको उपचार व्यवस्था सम्बन्धि गतिविधि संचालन गर्नुपर्छ । इमर्जेन्सी ड्युटीमा रहेका डाक्टरहरुले चोट वर्गीकरणको सिद्धान्त अनुरुप घाइतेहरुको उपचार गर्नुपर्छ । यस कार्यका लागि आवश्यक घाइते वर्गीकरण कार्डलाई नाम दर्ता गर्ने ठाउँ वा वर्गीकरण क्षेत्रमा राख्नुपर्छ ।

  • रातो : अत्यन्त गम्भीर भएको बिरामी आए उसलाई तत्काल उपचार गर्नुपर्छ । यस्तो व्यक्तिलाई कुनै छुटयाइएको वार्ड नभए भुइँमै राखेर उपचार गर्नुपर्छ ।
  • पहेलो : गम्भीर अवस्था तर केहीबेरपछि उपचार गर्न मिल्ने विरामी यो श्रेणीमा पर्छन् । रातो स्टीकर लगाएका घाइतेहरुको उपचारपछि मात्र पहेलो कार्ड लगाएका बिरामीको उपचार गर्न मिल्छ । छुट्याइएको वार्ड नभए भुइँ वा कोठामा राखेर उपचार गर्ने ।
  • हरियो : सामान्य अवस्था, सानो घाउ भएको वा कुनै घाउ नभएका बिरामीलाई हरियोमा वर्गीकरण गरिएको छ । यस्ता बिमारीलाई केहि बेर पर्खेपछि उपचार दिन मिल्छ । पहेलो ट्यागिंग भएका घाइतेहरुको उपचार पछि मात्र हरियोमा छुट्टाईएका विमारीको उपचार हुन्छ ।
  • कालो :  मृतक वा ल्याउँदा ल्याउँदै मरेको ब्यक्ति जसलाई कुनै उपचारको आवश्यकता पर्दैन । उसलाई मुर्दाघरमा राख्ने ।

मुख्य मुख्य जनस्वास्थ्य विपदका विषय

 

 

विपद्मा स्याटेलाइट अस्पतालबाट सेवा प्रवाह गर्नुपर्छ

चुडामणि भण्डारी
पूर्व प्रमुख, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई

 

विपदका दृष्टिले नेपाल संसारका अत्याधिक जोखिममा रहने मुलुकमध्ये एक हो । हरेक वर्ष देशमा भौगर्भिक, जल तथा मौसम सम्बन्धी विपदका कारण सयौंका संख्यामा मानिसहरुले ज्यान गुमाउनु परेको छ । यसलाई न्यून गर्न मन्त्रालयले स्वास्थ्य आपतकालीन तथा स्याटेलाइट अस्पतालबाट सेवा प्रवाह गर्न आवश्यक सहकार्य गर्नुपर्ने भएको छ ।

विपद पूर्व विपदको समयमा तथा विपदपछिको योजना, समीक्षा, तयारी, कार्यान्वयन गर्न योजना निर्माण तथा अध्यावधिक गर्ने, दक्ष स्वास्थ्यकर्मी, व्यवस्थापक, औषधी, सामाग्री आपूर्ति स्थायी रुपमा तोकिएका तालिम, द्रुत प्रतिकार्य टोली तथा आकस्मिक चिकित्सकीय टोली, घटना परिदृश्य अभ्यासजस्ता कार्यको मुल्यांङ्कन गर्दै आगामी दिनमा आपतकालीन तथा विपद्को प्रतिकार्य प्रभावकारी गराई मृत्युदर, चोटपटक र अपाङ्ता कम गराउने अपेक्षा छ । प्रतिकार्य प्रभावकारी सुरु भएको छ तर, गर्न धेरै बाँकी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)