डा. रमेशसिंह भण्डारी पेशाले सर्जन हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एन्पेडिसाइटिसको जटिल शल्यक्रिया गरेपछि १० दिन अस्पतालमै बसे । डा. भण्डारीले प्रधानमन्त्रीको जटिल शल्यक्रिया मात्रै गरेनन्, उनको अस्पताल बसाइँ संगीतमय बनाए । रमाइलो संयोग के भने सर्जन र बिरामी दुवैलाई हाँसीरहनुपर्ने । अस्पतालको माहौल नै अलग बन्यो । यो अवधिमा स्वभाव पनि मिलेका कारण प्रधानमन्त्रीसँग डा. भण्डारीको इमोशनल एट्याचमेन्ट पनि विकसित भयो ।
‘प्रधानमन्त्री र मलाई गीत संगीत मनपर्ने कुरा कमन थियो,’ यी सर्जन गायकले हेल्थआवाजसँग एक अन्तर्वार्तामा भनेका थिए, ‘यहाँ रहँदा उहाँलाई हामीले टाइम पास होस् भनेर गीतसंगीत सुनाइदिने गथ्र्यौ । उहाँलाई मैले रियाज गरेको मोबाइलमा रेकर्ड गरेको गीतहरु पनि सुनाएको थिए ।’ प्रधानमन्त्रीकै आग्रहमा उनले गीत पनि गाएका थिए । डा. भण्डारीले पछि प्रधानमन्त्रीले रचना गरेको गीत ‘बन्छ अब नमुना नेपाल’ गाए । त्यसको संगीत कम्पोजिसन पनि उनैले गरेका हुन् ।
गीत संगीतप्रति डा. भण्डारीको अनुराग पूरानै हो । यी सर्जनले एमबीबीएस अध्ययन गर्दा सन् १९९६ मै पहिलो गीत ‘चिसो चिसो हावा चल्छ…’ रेकर्ड गराएका थिए । जुन रेडियो नेपालमा पनि बजेको थियो । संगीत पारखी सर्जनको सौख गीतार बजाउनुमा पनि छ । उनी फुर्सदको समयमा गीतारको झंकारमा रमाइरहेका हुन्छन् ।
गत भदौको मध्यमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण भयो । कोरोना संक्रमण लगतै उनले एक गीत रचना गरिहाले ‘सलाम छ स्वास्थ्यकर्मी’लाई । जुन गीतपछि शिव परिवार र मेलिना राईको स्वरमा रेकर्ड गराए । डा. रिजाल आफै पनि गीत गाउँछन्, उनी बेला—बेलामा कन्सर्टमा पनि देखिइरहेका हुन्छन् । हजारौं गर्भवती महिलाको शल्यक्रिया गरिसकेका यी चिकित्सकले महिलाको प्रसव वेदनालाई नजिकबाट देखेका छन् । गायक बन्ने र रचना गर्ने सिर्जनशील भावना कसरी जागृत भयो ? उनी भन्छन्, ‘मेरो परिवार नै सांगीतिक माहोल भएको परिवार हो त्यसैले सांगीतिक क्षेत्रमा मेरो झुकाव सानैदेखिको हो ।’
डा. रिजालका अधिकांश गीत हिटको सूचीमा छन् । चलचित्रदेखि आधुनिक र भजनसम्म उनका गीतले छाप छोडेका छन् । उनका अधिकांश गीतमा राष्ट्रिय भाव समेत झल्किन्छ । वि.सं २०२८ सालमा उनले पहिलोपटक रेडियो नेपालमा ‘हाम्रा राजा प्यारा राजा बाँच हजारौं साल’ बोलको गीत रेकर्ड गराएका थिए । यो गीत रेकर्ड भएको केही वर्षपछि उनले रेडियो नेपालमै ‘मेरो पौवा पाटीलाई’ बोलको गीत रेकर्ड गराए । त्यतिबेला नातीकाजीले पियानो बजाएर गीत रेकर्डिङ गरिएको उनी बताउँछन् । डा. रिजालले यो अवधिमा १६ वटाभन्दा बढी गीत गाएका छन् भने उनले लेखेका अधिकांश गीत हिट छन् । नेपाली चलचित्रहरुमा पनि डा. रिजालका गीतले उस्तै सफलता पाएका छन् । मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन, मैले आँखाको भाका बुझिन, हे कृष्ण आइदेउन झमझम नाचेर संगीत, एक छैन, दुई छैन तीन छैन, मैना ए मैना तेरो आफ्नो कोही पनि छैन, के साइनो ले बोलाउँ, चोरी भो चोरी भो यो छोरीको मन चोरी भो, उडि उडि हिड्छ मन चिया बारीमा, यो मायाको कहाँ पर्यो घर, एउटा चिठी लेखिदेउन मेरी मायालाई, मेरो देश डुब्नै लाग्यो, शान्ती तिमी आउ लगायतका थुप्रै गीत हिट छन् ।
डा रिजालले शब्द कोरेका करिव ३ सय ५० भन्दा बढी गीत सार्वजनिक भएका छन् भने ३ हजारभन्दा बढी गीत रेकर्ड हुन बाँकी छन् । स्वर र शब्द लेखनमाजस्तै संगीतमा पनि उस्तै पोख्त डा. रिजालले ३० वटाभन्दा बढी गीतमा संगीत भरेका छन् । ‘मैले संगीतको कक्षा लिएको छैन,’ उनी भन्छन्, ‘तैपनि राम्रो संगीत भर्छु ।’
डा. वुद्धिमान श्रेष्ठ पेशाले दन्त रोग विशेषज्ञ हुन् । उनी पनि गायकको परिचय बनाएका चिकित्सक हुन् । लोकगीतको उर्वर क्षेत्र मानिने स्याङजामा जन्मे हुर्केका उनी बाल्यकालदेखि नै गीत÷संगीतप्रति अनुराग थियो । ‘म स्कुलका सांस्कृतिक कार्यक्रममा भाग लिन्थे, गाउँथे, नाच्थे,’ उनले भने, ‘लोकगीतमा गाउँदा नाच्दा मेरो टस बस्यो ।’ गाउँघरको सांगीतिक माहौलमा हुर्किएका उनी अरुले लेखेका गीत गाउने र विभिन्न सांस्कृतिक प्रतियोगितामा पनि भाग लिन्थे ।
एनको प्रतिभा चिनेका एक जना साथीले गत साउनमा उनलाई गीत रेकर्ड गर्न उक्साए । गत फागुनमा पहिलो पटक उनको श्वरमा ‘रेलले तानेर भन्ने गीत बजारमा आयो । त्यसपछि गत असोजमा उनले दोस्रो गीत रेकर्ड गराएका छन् । भन्छन्, ‘गीत गाउँछु, नाच्छु, मादल पनि बजाउँछु ।’ निःशुल्क स्वास्थ्य शिविरमा गएका बेला पनि उनी उपचारसँगै बिरामीलाई गीत र नृत्यबाट मनोरन्जन पनि गराउँछन् ।
डा. रन्जित झा पेसाले मधुमेह तथा मुटु रोग विशेषज्ञ र कन्सल्टेन्ट फिजियिसन चिकित्सक हुन् । उनको गीत गाउने सौख डाक्टर बन्नुभन्दा पहिला देखिकै हो । आइएसी पढ्ने बेलामा नै उनले गीत गाइसकेका थिए । त्यतिबेला उनको ‘पूर्विय सौगात’ बोलको गीति एल्बम सार्वजनिक भएको थियो । उक्त एल्बममा ८ वटा गीत संग्रहित थिए । जसमध्ये ४ वटा गीतमा उनको स्वर रहेको थियो । ‘मेरो गीत गाउने सौख बाल्यकालदेखि कै हो,’ उनले भने, ‘आइएससी अध्ययन गर्ने बेलामा सांगीतिक क्षेत्रमा रुची भएको हाम्रो साथीहरुको एउटा टीम थियो त्यही टीमले २०५३ सालमा पहिलो एल्बम निकालेका थियौं । जसमा मेरो स्वरमा रहेका ४ वटा गीत थिए ।’
एमबीबीएस पढाइ सकेपछि पनि डा. झा गीत संगीत क्षेत्रमा पुनः सक्रिय हुन थाले । सन् २००७ को अन्तिमतिर उनले एउटा मैथिली एल्बम निकाले । जसमा शब्द र स्वर उनको रहेको थियो । उक्त एल्बमा ९ वटा गीत थिए । जसमा जागो–जागो बोलको एउटा गीत त्यतिबेला निकै हिट भएको उनी सम्झन्छन् । ‘त्यतिबेला मेरो जागो जागो बोलको मैथिली गीतले निकै हिट भएको थियो,’ हाल गजेन्द्र नारायणसिंह अस्पतालको प्रमुख समेत रहेका झा भन्छन्, ‘त्यतिबेलाको मधेश आन्दोलन र गणतन्त्रको आन्दोलनमा मेरो यो गीत निकै बज्यो ।’ गीत संगीतलाई सौखको रुपमा लिने डा. झाले सन् २०१२को अन्त्यतिर ‘जीवनपथ’ गीति एल्बम सार्वजनिक गरे । उक्त एल्बममा उनकै शब्द तथा संगीत र स्वर रहेको थियो । त्यो एल्बममा ९ वटा गीत थियो । जसमध्ये बसी बसी र सरी बाबा सरी आमा भन्ने गीत हिट भएको उनी बताउँछन् । गीत लेखन, संगीत र गायनमा समेत पोख्त डा. झाका अहिलेसम्म ३० वटाभन्दा बढी गीत सार्वजनिक भैसकेका छन् भन १० वटाभन्दा बढी गीत सार्वजनिक हुने तयारीमा छन् ।
डा. त्रिशला गुरुङ पछिल्लो पुस्ताकी चिकित्सक गायिका हुन् । उनी सोसल मिडियाका कारण आफू गायिका बनेको बताउँछिन् । ‘फेसबुक, युट्युब र इन्स्टाग्राम नभएको भए, म गायिका नै हुँदिनथेँ,’ त्रिशला भन्छिन्, ‘सोसल मिडिया नभएको भए, गीत निकालेर रेडियो, टिभीमा दिनुपर्थ्यो, त्यहाँसम्म मेरो पहुँच नै थिएन ।’ स्कुलदेखि नै गीत संगीतमा रुचि राख्ने उनी झण्डै चार वर्षदेखि व्यवसायिक गायिका बन्ने बाटोमा अग्रसर भएकी हुन् । सुरुमा उनी आफूलाई मन परेका गीतहरु गाएर मोबाइलमा क्लिप बनाएर सामाजिक सन्जालमा अपलोड गर्थिन् । डा. त्रिशलाले अहिलेसम्म १ दर्जनभन्दा गीतमा श्वर दिइसकेको छन् । डाक्टरी पेशा र संगीतलाई सँगसँगै अगाडि बढाउने योजना बनाएकी उनी आफै लिरिक्स पनि लेख्छिन् ।