२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशप्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर

प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ, सरकारी अस्पताल निजी कम्पनीमै निर्भर

रित्तो सिलिन्डर खोज्दै प्रहरी


पोखरा – पोखरामा प्रहरीले १८७ खालि ‘अक्सिजन सिलिन्डर’ संकलन गरी उत्पादक कम्पनीलाई बुझाएको छ । कोरोना संक्रमण फैलिने तर पोखराका ठूला अस्पतालमा अक्सिजन प्लान्ट नहुने हुँदा सिलिन्डर अभाव हुने स्थिति देखापरेपछि विभिन्न इन्जिनियरिङ वर्कसप, ग्यारेज, मेटलकम्पनी लगायतका ठाउँमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिएको कास्की प्रहरीले जनाएको हो ।

वैशाख १९ गते नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार कास्की प्रशासनले खालि सिलिन्डर फिर्ता गर्न सूचना प्रकाशन ग¥यो । पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु आफैं सक्रिय भएर खाली सिलिन्डर खोज्न हिँडे । उनी भन्छन्, ‘पोखरा ठूलो औद्योगिक क्षेत्र नभएकाले सुरुमै केही ठाउँबाट उठायौं । बजारमा भएका अन्य ठाउँमा पनि रहेछन् भने ल्याउँछौं ।’ सिलिन्डर बोक्नै पनि गाह्रो भएको अध्यक्ष प्रजुको भनाइ थियो ।

त्यसो त बजारमा पनि त्यति धेरै खाली अक्सिजन सिलिन्डर छैनन् । पछिल्लो समय अस्पताल पुग्ने अधिकांश कोरोना बिरामीलाई अक्सिजन अनिवार्यजस्तै भएको छ । जसले गर्दा अक्सिजनको माग पनि बढिरहेको छ । अक्सिजनको माग बढे पनि भर्ने खाली सिलिन्डर नहुनु देशभरकै समस्या हो । धौलागिरी उपक्षेत्रीय अस्पतालमा अक्सिजन ग्यास भर्ने सामग्री नभएका कारण प्लान्टबाट उत्पादित अक्सिजन खेर गइरहेको अस्पतालले जनाएको छ ।

प्रदेशको ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै अक्सिजन प्लान्ट छैन । अक्सिजन प्लान्ट भएको भए सो अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव हुने थिएन भने अक्सिजन नपाइएला कि भन्ने चिन्ता पनि हुने थिएन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद बिन्दु शर्मा पोखरामा अक्सिजन अभाव नहुने दाबी गर्छन् । उनी भन्छन्, ‘पोखरामा २ वटा अक्सिजन उत्पादक कम्पनीले अक्सिजन पर्याप्त पु¥याइरहेका छन्, खाली सिलिन्डर नपुग हो, भर्नमा समस्या छैन ।’ उनका अनुसार गण्डकी प्रदेशमा करिब ४ हजार अक्सिजन सिलिन्डरको खाँचो छ ।

गण्डकी स्वास्थ्य निर्देशक शर्मा वैशाख २७ मा चीनबाट अक्सिजन सिलिन्डर आउने कुरा सुनेको र त्यसपछि केही प्राप्त हुने विश्वास व्यक्त गर्छन् । उनी भन्छन्, ‘अक्सिजन प्लान्ट भएको भए सिलिन्डरको अभाव हुने थिएन, २ कम्पनीको ६ घन्टाको उत्पादनले मात्रै अहिलेको माग पूरा भएको छ, आवश्यक परे १२ घन्टा उत्पादन सुरु हुन्छ ।’

अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पूरै रेन्ट्रो फिटिङ भइरहेको र अक्सिन प्लान्ट निर्माणको काम पनि सुरु भएको अस्पतालका सूचना अधिकारी नारायण आचार्य बताउँछन् । प्लान्ट निर्माणमा ढिलाइ भएको उनको स्वीकारोक्ति थियो ।

‘नयाँ भवनमा वायरिङको लागि टेन्डर हुँदैछ, प्रक्रिया पूरा भएपछि वायरिङ हुन्छ ।’,उनले भने, ‘कहिलेसम्म अक्सिजन उत्पादन हुन्छ भन्नै सकिँदैन, सिलिन्डरले काम चलाइरहेका छौं, वर्षैपिच्छे टेन्डर गरी आपूर्ति हुने गरेको छ, प्लान्ट भएको भए स्वाभाविक सहज हुने थियो।’

उनले थपे, ‘अहिले पेन्डामिकमा बढी चाहिने भएकाले अत्यावश्यक देखिएको हो, नत्र त अक्सिजन सिलिन्डरबाटै सहज आपूर्ति भइरहेको थियो ।’

सूचना अधिकारी आचार्यका अनुसार प्लान्ट निर्माणमा ढिलाइ भएको भन्दै संघीय योजना कार्यान्वय इकाइ लाई पत्राचार र ताकेता भइरहेको छ । प्लान्ट निर्माणका लागि डिएफआइडीमार्फत सम्झौता भएको हो, त्यसको अनुगमन संघीय योजना कार्यान्वयन इकाइले गर्छ । कोरोना संक्रमण अघि अक्सिजन प्लान्ट नभएका साना अस्पतालहरुले अक्सिजन प्लान्ट बनाइसकेको भए पनि सरकारी ठूलो अस्पतालमा ढिलाइ भइरहेको छ । प्रतिष्ठान मातहतको अस्पतालमा प्लान्टबाट अक्सिजन भएर बिरामीको बेडसम्म पुग्ने दिन अझै अन्योलमै छ ।

अस्पतालमा सिटीस्क्यान सेवासमेत सुचारु हुन सकेको छैन । अक्सिजन प्लान्ट र सिटीस्क्यान मेसिन सञ्चालन नहुनुमा सरोकारवालाहरुले शंकाको दृष्टिले हेरिरहेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ