काठमाडौं-कालिकोटको पलाँता गाउँपालिका–९, थिर्पुस्थित पलाँता अस्पतालमा कुटपिट र तोडफोड भएको छ । शुक्रबार राति साढे ९ बजेतिर आएका तीन जना स्थानीयले अस्पताल कार्यरत स्वास्थ्यकर्मी विष्णु रोकाया र सेक्युरिटी गार्डमाथि कुटपिट गरेको हुन् ।
अस्पतालका चिकित्सक डा. अली हैदर राईनकाअनुसार कुटपिटबाट पारामेडिक्स विष्णु रोकायाको बायाँ हातमा चोट लागेको छ भने अस्पतालका सेक्युरिटी गार्डलाई शरीरभर चोटपटक लागेको छ । अस्पतालका चिकित्सक डा.अलीमाथि आक्रमण गर्न आएका उनीहरुले उनलाई नभेटेपछि अस्पतालमा पारामेडिक्स कर्मचारी रोकाया र सेक्युरिटी गार्डलाई कुटपिट गर्नुका साथै तोडफोड समेत गरेका थिए ।
डा. अलीका तोडफोडबाट झण्डै १० लाख रुपैयाँ बराबरको औषधि रहेको फार्मेसी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यस्तै, ओपीडी तोडफोड भएको छ भने भिडियो एक्सेमा क्षति पुगेको छ । अस्पतालको प्रशासनलगायतका ठाउँमा पनि आक्रमणकारीहरुले क्षति पुर्याएको उनले जानकारी दिए ।
अस्पतालमा तोडफोड भएपछि प्रहरीलाई खबर गरिएको थियो । तोडफोड र आक्रमण सुरु भएको १० मिनेटमै प्रहरी घटनास्थलमा पुगेर स्थिती नियन्त्रणमा लिँदासम्म उनीहरुले कुटपिट र तोडफोड गरिसकेका थिए । प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्न पुगेको थियो ।
के भएको हो घटना ?
शुक्रबार दिउँसो अस्पतालको वाईफाई चलाउँदैं एक स्थानीयले अस्पतालको सेवा प्रवाहमा डिस्टर्ब गर्न थालेपछि अस्पताल प्रशासनले उनलाई अस्पतालबाट हटाएको थियो । त्यसपछि डार्बिनमा नामका ती स्थानीयकी आमा अस्पतालमा आएर अपद्रव मच्चाएकी थिइन् ।
उनले आफूहरुले अस्पताललाई जग्गा दिएको र आफ्नो जग्गामा अस्पताल बनेको भन्दैं छोराले वाइफाई अस्पतालमै बसेर चलाउने भन्दैं धामधम्की दिएकी थिइन् । त्यही क्रममा उनीहरुले उपचारमा खटिएका डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि अस्पताल परिसरमै हातपात तथा अभद्र व्यवहार गरेका थिए ।
त्यसपछि अस्पताल प्रशासनले प्रहरीमा निवेदन दिएको थियो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, कालिकोटले घटनाको सत्यतथ्य छानबिन तथा सुरक्षा व्यवस्था कडा बनाउन इलाका प्रहरी कार्यालय, रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा विशेष प्रहरी टोली घटनास्थलमा खटाएको थियो । प्रहरी आएर विवाद मिलाएको थियो । तर, राति पुनः उनीहरु अस्पतालमा तोडफोड र कुटपिट गरेका थिए ।