२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोपको दोस्रो डोज ८ हप्तापछि, २४ फागुन समुदायस्तरमा

कोभिड खोपको दोस्रो डोज ८ हप्तापछि, २४ फागुन समुदायस्तरमा


काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप (कोभिसिल्ड)को दोस्रो डोज पहिलो डोज लगाएको ८ हप्तापछि मात्र लगाइने भएको छ । खोपको बारेमा भैरहेको विभिन्न अनुसन्धानले पहिलो डोज लगाएको ८ हप्तापछि लगाउँदा बढी प्रभावकारी हुने पत्ता लागेसँगै खोप विज्ञ टोलीले सोही अनुसार गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो ।

यतिबेला नेपालमा कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप अभियान सञ्चालन भैरहेको छ । अहिले खोप लगाएकाहरुलाई २८ दिन पुरा भएपछि दोस्रो डोज दिने भनिएता पनि त्यसको प्रभावकारीतालाई मध्यनजर गर्दै ८ हप्तापछि लगाउनका लागि मन्त्रालयलाई सिफारिस गरिएको खोप विज्ञ तथा प्राविधिक समितिका संयोजक डा. श्यामराज उप्रेतिले बताए । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कोभिड–१९ र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. उप्रेतिले भने, ‘अहिले कोभिसिल्ड खोपको बारेमा विभिन्न अनुसन्धान भैरहेको छ । पछिल्लो अनुसन्धानले पहिलो खोप लगाएको ८ हप्तापछिमात्र दोस्रो डोज लगाउँदा त्यसको प्रभावकारिता बढी हुने भन्ने देखिएपछि मन्त्रालयलाई सिफारिस गरिएको हो ।’  मन्त्रालयले सो कुरालाई निर्णय गरेपछि पहिलो खोप दिइएको ८ हप्तापछि मात्र दोस्रो खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमु्ख डा. झलक शर्मा गौतमले बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपालले उत्कृष्ट काम गर्न सफल भएको दाबी गरेका छन् । मन्त्री रावतले महामारीमा सरकारले केही गरेन भन्नेहरुलाई तोकिएको मितिभन्दा एक महिना अघि खोप ल्याएर सफल भएको बताए । साथै, नेपालका स्वास्थ्यकर्मीहरुले महामारीको समयमा विकसित भनिएका मूलुकको भन्दा कम सेवा नगरेको दाबी गरे ।
यसैगरी मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २४ फागुनदेखि समुदायस्तरमा खोप अभियान सञ्चालन गर्ने तयारी भैरहेको बताए । खोप अभियान नरोकियोस् भनेर खरिद पक्रिया पनि अघि बढाइएको जानकारी दिए ।

अन्तक्रिया कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले खोपका कारण अहिलेसम्म कसैलाई पनि स्वास्थ्यमा गम्भीर समस्या नआएकोे बताए । अब नेपालमा थप ३ वटा खोप उत्पादक कम्पनीको विभागमा निवेदन परेको छ । ती कम्पनीहरुलाई आवश्यक कागजातका लागि पत्राचार गरिएको उनले बताए ।

कार्यक्रममा विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, रक्तचाप कम हुने लगायत समस्या देखिएको बताए । यी समस्या सामान्य भएको खोप विज्ञ डा. उप्रेति बताउँछन् । ‘यस्ता समस्या देखिनु भनेको खोपले काम गर्दैछ भन्ने हो,’ उनले भने, ‘त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ५५ बर्ष भन्दा माथि उमेरसमुहका व्यक्तिले खोप पाउनुपर्ने दाबी गरे । ‘अहिले कोभिड संक्रमण भएर गम्भीर अवस्थामा पुगेका र मृत्युदर पनि ५५ वर्षभन्दा माथिका मानिसहरुको बढी रहेकाले यो उमेर समूहका नागरिकले खोपमा पहिलो प्राथमिकता पाउनुपर्छ,’ उनले भने ।

यसैगरी महामारी रोग विज्ञ प्रा.डा. केदार बरालले कोभिड–१९ को खोप आइसकेको भएपनि हेलचेक्राई गर्न नहुने बताए । खोप पछि हुन सक्ने अवान्चित घटनाको निरुपण समितिको सदस्य समेत रहेका डा. बरालले कोभिसिल्ड खोप लगाएर कोहि पनि गम्भीर खालको समस्यामा नरहेको जानकारी दिए । खोप लगाइसकेकेपछि सामान्य स्वास्थ्य समस्या देखिनु स्वभाविक नै रहेको उनले बताए ।

हाल विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको र २० वटा खोप तेस्रो चरणमा रहेको छ । साथै, हाल नेपालमा लगाइरहेको कोभिसिल्डलाई पनि विश्व स्वास्थ्य संगठनले मान्यता दिने अन्तिम तयारीमा पुगको जानकारी खोप शाखाका प्रमुख डा. शर्माले बताए । ७० प्रतिशत प्रभावकारी भनिएको कोभिसिल्ड खोपलाई नेपालमा १४ माघबाट फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ