२०७९ मंसीर २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालबाट लाश निकाल्न धेरै पटक जमानी बसेको छु : सांसद ठगुन्ना

अस्पतालबाट लाश निकाल्न धेरै पटक जमानी बसेको छु : सांसद ठगुन्ना


काठमाडौं—नसर्ने रोगले कसरी नेपाली जनतालाई कंगाल बनाउँदैंछ भन्ने कुराको एक भुक्तभोगी दार्चुलाबाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद गणेश ठगुन्ना हुन् । उनको आफ्नै र आसपासका जिल्लाबाट काठमाडौंमा उपचारका लागि आएका बिरामीलाई अस्पतालमा भर्ना गराइदिन साथै खर्च सहयोग जुटाइदिन दिनमा एक दुई जना नभेटेको उनको दिन हुँदैन ।

त्यसरी सहयोग जुटाइदिनुपर्नेमध्ये अधिकांश नसर्ने किसिमका रोग (क्यान्सर, मुटु, दम)का बिरामी हुन्छन् । उनकै शब्दमा भन्दा काठमाडौं आइपुग्ने बिरामी यस्ता अवस्थाका हुन्छन् कि धामी झाँक्रीबाट सुरु भएको जाँच पड्ताल, स्वास्थ्य चौकी, जिल्लातिरका अस्पताल, प्रदेशतिरका अस्पताल हँुदै काठमाडौं आइपुग्दा रोग त बल्लतल्ल पत्ता लाग्छ । तर, आफ्नो भएको सम्पत्ति पनि सकिएको हुन्छ । सम्पत्तिसँगै उपचारको समय पनि घर्किसकेको हुन्छ ।

आइतबार राजधानीमा स्वास्थ्य तथा जसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियनले आयोजना गरेको नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुपक्षीय छलफलमा संसद ठगुन्नाले आफ्नो यस्तो अनुभव सुनाएका थिए । ‘दुर्गमका जनता रोग पत्ता लगाउँदा लगाउँदैं आफ्नो भएको जायजेथा सकिसकेका हुन्छन्,’ उनले भने, ‘काठमाडौं या दिल्लीमा रोग पत्ता लाग्दा पैसा पनि सकिएको हुन्छ आफू पनि निको नहुने गरी सकिसकेका हुन्छन् ।’

क्यान्सर उपचारका लागि दुर्गमबाट काठमाडौं आउनेमध्ये १ प्रतिशत मात्र निको भएर फर्कने गरेको उनले बताए । ‘उपचारका लागि आएका धेरैजसोलाई यही पशुपतिमा दाहसंस्कार गरिएका छन्,’ उनले दुर्गमका जनताले भोगेको पीडा सुनाउँदैं भने, ‘बिरामीको मृत्यु भइसकेपछि पैसा नभएर कति दिन अस्पतालबाट लाश निकाल्न पाइएको छैन । धेरै पटक म आफै जमानी बसेर पनि निकालेको छु ।’

सांसद ठगुन्नाले भने झै नसर्ने रोगको उपचार महंगो हुनेमा विज्ञहरु सहमत छन् । पछिल्लो समय बढ्दै गएको नसर्ने रोगको प्रकोपलाई समयमै नियन्त्रण गर्न नसके भयावह अवस्था निम्त्याउने बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला बताउँछन् । अहिलेकै अवस्थामा यसको प्रकोप बढ्दैं गएमा अबको १० देखि १५ वर्षको बीचमा नेपाल विकराल अवस्था आउने उनको तर्क छ । यसलाई तत्काल रोक्नका लागि सरकार, नागरिक समाज, स्वास्थ्यकर्मीलगायत सबै लाग्नुपर्नेमा उनले जोड दिए । ‘समयमै यसलाई नियन्त्रण गर्नतर्फ लागेनौ भने ब्यक्तिको सम्पत्ति त सकिन्छ, त्यतिबेला राज्यले रोकथाम गर्छु भने पनि कठिन हुन्छ,’ उनले भने, ‘अहिले नै हामीले योजनाबद्ध भएर यसको रोकथामको लागि तयार हुनुपर्छ ।’

व्यवहार परिर्वतनमा लागौं : स्वास्थ्य सचिव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सचिव खगराज बरालले खानपान र व्यवहार परिर्वतनबिना नसर्ने रोगको रोकथाम असम्भव रहेको बताए । ‘हामी जान्दा जान्दै पनि जे गर्न नहुने हो त्यही गरिरहेका छौं’ उनले भने ‘सुर्ती खान हुँदैन भन्छौं, त्यही खान्छौं । दैनिक रुपमा मासु खान हुँदैन भन्छौ, त्यही खान्छौं ।’ हुँदैन भन्ने कुरा जान्दाजान्दै गरेपछि त्यसले असर पार्नु स्वभाविक रहेको उनको तर्क थियो ।

नसर्ने रोगलाई नियन्त्रण गर्न परिवारबाटै सुरु गर्नुपर्ने उनको भनाइ थियो । अभिभावकले आफ्ना बालवालिकालाई सही खानपान र स्वस्थ्य व्यवहारको बानी विकास गराउनुपर्ने उनले जोड दिए । ‘विद्यालय पठाउन नै नथाली पाकेटको खानपानमालाई प्राथमिकता दिइन्छ, विद्यालय जाँदा घरैबाट चढ्नुपर्ने सवारी साधनलाई प्राथमिकता दिने अनि कल्पना चाहिँ स्वस्थ्य नागरिकको गर्ने ?,’ उनले प्रश्न गरे, ‘बेलैदेखि सबै कुरा प्राकृतिक तरिकाले सिकाउँदैं जानुपर्छ ।’ सरकारले नसर्ने रोगको नियन्त्रण र उपचारको लागि नीति निर्माणदेखि उपचारसम्मको व्यवस्था गरे पनि दीर्घकालीन रोकथामको व्यवहार परिर्वतन नै रहेको उनले दोहो¥याए ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपालमा २०४८ सालसम्म १० प्रतिशत मात्र सरुवा रोगको प्रकोप रहेकोमा २०७५ मा आइपुग्दा ६६ प्रतिशत आइपुगेको जानकारी दिएका थिए । उनले सरुवा रोग नियन्त्रणमा सरकार सफल भएको भन्दैं अब नसर्ने रोगलाई लक्षित गरी नीति ल्याइएको दावी गरे । ‘हाम्रो नयाँ नीतिमा नसर्ने रोग नियन्त्रण प्रमुख नीति रहेको छ,’ उनले भने ‘नीतिअनुसार अगाडि बढ्नुको विकल्प छैन् ।’

मन्त्रालयका गुणस्तर मापन महाशाखाका प्रमुख डा. दिपेन्द्र रमण श्रेष्ठले नसर्ने रोगलाई बहुक्षेत्रीय योजनामा समावेस गरेर काम सुरु गरिएको बताएका थिए ।

क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले क्यान्सरका कारण वर्षमा २७ हजार मानिस मर्ने गरेको बताए । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न सुर्तीजन्य, मदिराजन्य पदार्थ र जंकफुडको नियन्त्रण गर्नुपर्ने धारण राखेका थिए । यी अखाद्य वस्तु नियन्त्रण गर्न सके क्यान्सर मात्र नभएर मधुमेह, रक्तचाप, मुटुका रोग, नसा सम्बन्धी धेरै रोग र मानसिक रोगलाई पनि कम गर्न सकिने उनको भनाइ थियो ।

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले ‘साइलेन्ट किलर’को रुपमा रहेको मधुमेहले युवा अवस्थामै ज्यान जान थालेको भन्दै नियन्त्रणका लागि सरकारीस्तरबाटै कार्यक्रम आउनुपर्ने बताइन् । ‘अब सूर्तिजन्य पदार्थमा मात्र होइन ‘सुगरी ड्रिक्स’मा पनि ट्याक्स बढाउनुपर्छ’, उनले भनिन्, ‘यसले मुटु, मिर्गौलाजस्ता रोग बढाउन मद्धत गरिरहेको छ ।’

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नसर्ने रोग बढाउन प्रमुख कारक रहेकोे सूर्तिजन्य पदार्थको बिक्रीमा कडाइ गर्नुपर्ने बताए । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयनमा जोड दिएका थिए । युवा पुस्ता सूर्तिजन्य पदार्थको लतमा फस्दैं गएकोमा उनले चिन्ता प्रकट गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)