२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘सीसीएमसीले अक्सिजन कोटा तोक्दा झनै गाह्रो भयो, बिरामी राख्न नसक्ने अवस्था आयो’

‘सीसीएमसीले अक्सिजन कोटा तोक्दा झनै गाह्रो भयो, बिरामी राख्न नसक्ने अवस्था आयो’


काठमाडाैं-राष्ट्रिय ट्रमा सेन्टरले तीन दिनअघिबाट कोभिड–१९ का बिरामीको उपचार गर्न सुरु ग¥यो । १ सय ३५ जना बिरामी राखेर सुरु गरेको सेवा ४ दिन नबित्दै अक्सिजन नभएको भन्दै उपचार गर्न समस्या उत्पन्न भयो भन्न थालेको छ । अस्पतालका निमित्त निर्देशक डा. सन्तोष पौडेल अक्सिजनको पर्याप्त व्यवस्था गर्न नसकिएको बताउँछन् ।

आफ्नै अक्सिजन लिक्विड ट्यांक भएका कारण ट्रमाले कोभिड–१९ का बिरामीको उपचार गर्न तम्सिएको थियो । अन्य समय एक पटक रिफिल गरेपछि एक महिनालाई अक्सिजन प्रयाप्त हुन्थ्यो । तर, कोभिड बिरामीको उपचार गर्न थालेपछि त्यसले चार दिन पनि टिक्न सकेन ।

‘पहिले एक टंयाकले एक महिना पुग्थ्यो,’ उनले भने, ‘अहिले ३/४ दिनमै सकियो । लिक्वीइड भारतवाट आउनुपर्ने समय लाग्ने भयो ।’

त्यो टिक्न नसक्ने अवस्था आउँछ भन्ने आफुहरुलाई पहिल्यै थाहा भएको भएतापनि ट्यांक निर्माण गर्ने शंकर अक्सिजनले यदि लिक्विइड सकियो भने पनि आवश्यक परे जति अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

त्यही प्रतिवद्धताका आधारमा ट्रमामा कोभिडका बिरामी उपचार गर्न सुरु गरिएको डा. पौडेल बताउँछन् । तर, कोभिड–१९ महामारी व्यवस्थापन (सीसीएमसी)ले सिलिण्डर कोटा निर्धारण गरिदिएपछि समस्या आएको उनको भनाइ छ । ‘पहिले अक्सिजन कम्पनीसँग हामीले आवश्यक जति पनि ग्यास पाउने सम्झौता गरेर कोभिड–१९ को उपचार सुरु गरिएको थियो,’ उनले भने, ‘पछि सिसिएमसीले कोटा निर्धारण गरेपछि हाम्रो सम्झौताअनुसार ग्यास पाउन छोडियो र भर्ना भएका बिरामीले पनि उपचार पाउन गाह्रो भयो ।’

अहिले ट्रमा सेन्टरलाई कोभिड–१९ का बिरामीका लागि घण्टाको १५ देखि २० वटा सिलिण्डर आवश्यक पर्छ । तर, सीसीएमसीले १०० कोटा तोकिदिएको छ । त्यसमा पनि पालो पर्खदा विहान १०÷१५ वटा र वेलुका १०÷१५ वटा मात्र सिलिण्डर पाउने गरेको छ । उनी हाल धेरै मानिसले सिलिण्डर घरमा लगेर राखेको ठोकुवा गर्छन् । ‘सीसीएमसीको कोटा प्रणालीपछि बिहान बेलुका खाना खाएजस्तो अक्सिजन बाँडिएको छ,’ निर्देशक पौडेल भन्छन्, ‘मलाई अस्पतालमा एक वेड मिलाइदिनु म सिलिण्डरसहित बिरामी लिएर आउँछु भनेर फोन आउँछन् ।’

स्वास्थ्य मन्त्रालयबाट सीसीएमसीमा प्रतिनिधित्व गरिरहेका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ भने अक्सिजन सिलिण्डरको कोटा निर्धारण गर्नु सरकारको बाध्यता रहेको बताउँछन् । उनी कोटा निर्धारण हुनुअघि नै बजारमा अक्सिजनको हाहाकार भइसकेको हुँदा त्यसलाई व्यवस्थित गर्न सरकारले यस्तो निर्णय गरेको बताउँछन् । ‘कोटा निर्धारण नगर्दा जसको शक्ति उसको भक्ति हुने देखियो,’ उनी भन्छन्, ‘सीसीएमसीले अस्पतालले नियमित ल्याउँदै गरेको संख्यालाई नै तोकिदिएको हो ।’

उनी अक्सिजनको आपूर्तिभन्दा माग कयौ गुणा बढेको हुँदा अहिले समस्या भएको बताउँछन् । ‘अहिले झण्डै ५ हजार बिरामीलाई दिनको ५ बटाका दरले २५ हजार सिलिण्डर अक्सिजन आवश्यक परेको छ । अन्य ५ हजारलाई एक हजारका दरले ५ हजार सिलिण्डर आवश्यक पर्छ,’ उनी भन्छन्, ‘तर, हामीसँग काठमाडौमा ७ हजार, बाहिर ५ हजार र अस्पतालहरुसँग १५ सय गरी १५ हजार ५ सय जति मात्र सिलिण्डर छन् ।’

केही सय सिलिण्डर मानिसले घरमा पनि राखेको हुनसक्ने उनी बताउँछन् । तर, घरमा राखेको एउटा सिलिण्डरले समस्या परेको बेला केही हुन नसक्ने उनको भनाइ छ । ‘एउटा सिलिण्डर घरमा राखेर केही हुँदैन, झनै समस्या बनाउँछ’ उनले भने, ‘अस्पतालमा भयो भने त्यसलाई रिफिल गरेर एक जनाको ज्यान बचाउन सकिन्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ