काठमाडौं—साताैं स्वास्थ्य तथा जनसंख्या सम्मेलन भोलिदेखि सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा भर्चुअल माध्यमबाट हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा ४७ वटा अनुसन्धानमूलक कार्यहरुको मौखिक प्रस्तुती गरिनेछ ।
सम्मेलनमा मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सेरो रिजनकी डाइरेक्टर डा. पुनम क्षेत्रपाल सिंह, अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर सर पिटर होर्वे रहने आयोजकले जनाएका छन् ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा १९ वटा पोष्टर प्रस्तुती हुनेछन् भने २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहनेछन् । स्वदेश तथा विदेशका वैज्ञानिकहरुको भाग लिने सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले गर्नेछन् । सम्मेलनलाई पारदर्शी बनाउनका लागि परिषद्ले साइन्टीफिक कमिटी, स्टेरिङ कमिटी, आयोजक समिति र एवार्ड छनोट उपसमिति गठन गरेर काम अगाडि बढाएको थियो ।
सम्मेलनको पहिलो दिनमा कोभिड—१९, जनस्वास्थ्य संकट, नसर्ने रोगहरु तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञ र प्रस्तुतकर्ताहरुको प्रस्तुती रहनेछ । त्यसैगरी सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुती हुनेछन् । जसमा पहिलोमा मातृ शिशु, नवजात शिशु, बालस्वास्थ्य तथा ज्येष्ठ नागरिक स्वास्थ्य, दोस्रोमा कार्यान्वयात्मक अनुसन्धान, तेस्रोमा संक्रामक रोगहरु, चौथो पोषण, पाँचौ मानसिक स्वास्थ्य र दुर्व्यसन, छैटौ वातावरणीय स्वास्थ्य, औषधीजन्य र बायोमेडिकल अनुसन्धानलगायतका गहन विषयहरु प्रस्तुतीकरण र गहन छलफल हुनेछ ।
सम्मेलनबारे जानकारी दिदैं परिषद्का अध्यक्ष प्रा. डा. गेहनाथ बरालले परिषद्ले गरेका काम कारवाहीमा जानकारी दिन, प्रतिक्रिया प्राप्त गर्न र सुधार गर्नका लागि पनि यो सम्मेलन प्रत्येक वर्ष आयोजना हुने गरेको बताए । ‘पहिले गरिएको थिएन्, आवश्यक छ भनेर सुरु गरेका हौं । जनस्वास्थ्यले कति असर गर्छ भन्ने कुरा हो । पब्लिक हेल्थबारे धेरै जनाले बुझेका पनि हुँदैनन्,’ उनले भने, ‘ पब्लिक हेल्थका कम्पोनेन्ट प्रिभेन्सन, प्रमोसन र अर्को उपचार हो । यी सबै कुराहरुलाई हामीले विस्तारै समेट्दै जान्छौं ।’
कोभिड—१९ का कारण भौतिक रुपमा सम्मेलन गर्न नसकिएकाले अन्तक्रिया गर्न केही असहज भएपनि यसलाई असरका रुपमा लिनुपर्ने उनको धारणा थियो । डा. बरालले १ हजारभन्दा बढीलाई जुममार्फत जोड्ने र त्यसबाहेककालाई फेसबुकमार्फत समेट्ने जानकारी दिए । यसले विश्वव्यापी रुपमा सबैको भिजिबिलिटी बढ्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमको समापनमा ९ जना उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डहरुद्वारा सम्मानित गरिनेछ । जसमा दुर्गादेवी ज्ञवाली एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड, हेल्थ रिसर्च एवार्ड, मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक), मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड, एनएचआरसी वेष्ट पर्फमर एवार्ड, बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल), वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) र ओरेशन एवार्ड रहेका छन् ।
