२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिडको तेस्रो लहरको जोखिम : नेपालगन्जको नाकामा आवाजजावत गर्नेको स्वास्थ्य परीक्षण

कोभिडको तेस्रो लहरको जोखिम : नेपालगन्जको नाकामा आवाजजावत गर्नेको स्वास्थ्य परीक्षण


नेपालगन्ज – भारतमा कोभिड-१९ को तेस्रो लहर फैलन सुरु भए पछि रोजगारीका लागि भारत गएका युवाहरु धमाधम नेपाल फर्किन थालेका छन । यस महामारीका कारण काम गर्दै आएको महाराष्ट्रको नासिकस्थित रेष्टुरेन्ट बन्द भएका कारण घर फर्कन लागेको सल्यानका भीमसेन बुढाथोकीले बताए ।

भारतबाट पछिल्ला दिनहरुमा दैनिक ४-५ सय युवाहरु नेपाल फर्किरहेका छन । भारतबाट नेपाल फर्किएकाहरुबाट डेल्टा भेरियन्ट नेपालमा भित्रिने हो कि भन्ने जोखिम थपिएको छ । भारतमा डेल्टा भेरियन्ट तिब्र गतिमा फैलदै गएका कारण भारतबाट नेपाल फर्किएकाहरुमा देखिएको कोभिड-१९ संक्रमणको कारण डेल्टा भेरियन्ट पनि हुन सक्छ ।

भारतबाट फर्किएकाहरुबाट फैलन सक्ने संक्रमणको जोखिम कम सीमा नाकामा भारतबाट फर्किएकाहरुको ज्वरो नाप्ने, शंकास्पद ब्यक्तिको एन्टिजीन प्रविधिबाट कोरोना परिक्षण गर्ने गरिएको छ ।

भारतबाट फर्किएकाहरुलाई एसडिएफ , सेभ द चिल्ड्रेन लगायत विभिन्न संघ संस्थाहरुले कोभिड -१९ संक्रमणबाट बच्ने उपायहरुका बारेमा जानकारी दिने , माक्स , सेनीटाइजर र थर्ममिटरसहितका स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आएका छन ।

संक्रमणको जोखिम कम गर्न नेपालगन्ज उप महानगरपालिका र कोहलपुर नगरपालिका क्षेत्रमा सन्देश मुलक होडिङ बोड राख्ने , माइकिङ गर्ने , माक्स खोइ भन्ने अभियानमार्फत सर्वसाधारणहरुलाई माक्स वितरण गर्ने गरिएको एसडिएफ बाकेका कार्यक्रम संयोजक राम श्रेष्ठले बताए ।

संक्रमण फैलिएका भारतका शहरहरुबाट आएका शंकास्पद ब्यक्तिहरुको सीमा नाका मै एन्टिजिन प्रविधिबाट कोभिड परीक्षण गर्ने गरिएको छ । दैनिक एकसयदेखि १ सय ५० जनासम्मको एन्टिजेन प्रविधिबाट कोभिड-१९ गर्ने गरिएको हेल्थ डेक्सका प्राविधिक चिरन्जीबी ज्ञवालीले बताए ।

एन्टिजेन परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका तर, स्वास्थ्य अवस्था सामान्य भएका ब्यक्तिहरुलाई नेपालगन्ज उप-महानगरपालिकाको आइसोलेशनमा र चिन्ह लक्षण भएका व्यक्तिलाई भेरी अस्पतालमा भर्ना गरेर उपचार गर्ने व्यवस्था मिलाइएको नेपालगन्ज उप महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्दले बताए ।

पछिल्ला दिनहरुमा सीमा नाकामा एन्टिजीन परिक्षण गर्दा संक्रमण देखिने क्रम बढ्दै गएको छ । एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिए पनि त्यो कोभिड-१९ कुन भेरियन्ट हो भन्ने थाहा हुँदैन । नेपाल मै कोरोनाको डेल्टा भेरियन्ट पत्ता लगाउने प्रविधी छैन ।

पछिल्ला दिनहरुमा देशभरका प्रयोगशालाहरुमा भेटिएका पोजेटिभ केसका नमुनाहरुलाई केन्द्रीय जन स्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाउने गरिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालले थप परीक्षणका लागि विदेशमा पठाउने गरेको छ ।

चितवनको भरतपुर अस्पतालमा संकलन गरिएका दुईवटा शंकास्पद नमुनाको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालमार्फत अन्र्तराष्ट्रिय प्रयोगशालामा परीक्षण गराउँदा असार २८ डेल्टा भेरियन्ट पुष्टी भएको थियो । डेल्टा भेरियन्ट बढी संक्रामक हुन्छ । यसले फोक्सोमा बढी असर गर्ने भएकाले मृत्यु हुने जोखिम धेरै हुन्छ ।

बाँके जिल्ला कोभिड संक्रमणको उच्च जोखिममा छ । कोभिडको पहिलो र दोस्रो लहरबाट बाके जिल्ला निक्कै प्रभावित भयो । पहिलो लहरमा बाँके जिल्लामा ४ हजार ९ सय ५८ जना संक्रमित भए । संक्रमित मध्ये ५८ जनाको मृत्यु भयो ।

दोस्रो लहरमा संक्रमण तीन गुणाले बढ्यो १२ हजार ५ सय ६२ जना प्रभावित भए । तीमध्ये २ सय ६३ जनाको मृत्यु भइसकेको छ । भारतमा तेस्रो लहर फैलन सुरु गरेका त्यसको प्रभाव नेपालगन्जमा देखिने भएका कारण सीमा नाकामा स्वास्थ्य चेक जाचमा कडाइ  गरी सावधानी अपनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार
ट्याग : #कोभिडको तेस्रो लहरको जोखिम, #नेपालगन्जको नाका, #स्वास्थ्य परीक्षण


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ