२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअसोजसम्ममा थप १ करोड ५ लाख डोज खोप आउने निश्चित, कहाँबाट कहिले कति ?

असोजसम्ममा थप १ करोड ५ लाख डोज खोप आउने निश्चित, कहाँबाट कहिले कति ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार डोज कोभिड-१९ विरुद्धको खोप आउने सुनिश्चित भइसकेको जनाएको छ ।

सोमबार संसदको स्वास्थ्य शिक्षा समितिमा मन्त्रालयका तर्फबाट नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले सो जानकारी दिएका हुन् । संसदहरुलाई कोभिड—१९ र खोपको विषयमा ब्रिफिङ गर्दै डा. लोहनीले कोभ्याक्सअन्तर्गतको जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भाद्र पहिलो साता आउने, कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भाद्र चौथो साता आउने बताए ।

यस्तै, वैदेशिक अनुदानबाट साउनको अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौं दोस्रो साता आउने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने उल्लेख छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्याल समेत रहेको सो बैठकमा असार मसान्तसम्म कोभिड उपचार र खोपको लागि १४ अर्ब ५७ करोड खर्च भएको तथ्यांक प्रस्तुत गरिएको थियो । आगामी वर्षको लागि ३६ अर्बभन्दा बढी कोभिड—१९ नियन्त्रणका लागि छुट्याइएको छ । जसमा ८ अर्ब ९ करोड वैदेशिक सहायताबाट प्राप्त हुने उल्लेख छ ।

मन्त्रालयले अहिलेको अवस्थालाई हेरेर कोभिड—१९ संक्रमितको आँकलन समेत गरेको छ । जसमा अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने अनुमान गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ