काठमाडौं-नेपालमा रक्तसञ्चार सेवाको प्रारम्भिक बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ४२ हजार ४८ यूनिट रगत संकलन गरिएको र तीन लाख ३१ हजार चार सय ५६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएकाे उल्लेख छ ।
नेपालमा रक्तसञ्चार सेवाको ५५ औँ स्थापनाको अवसरमा साे जानकारी दिइएको हो । अघिल्लो बर्ष देशभरीमा २ लाख ३८ हजार ८ सय ३६ युनिट रगत संकलन भई ३ लाख २१ हजार ७ सय ७६ युनिट रगत र रक्ततत्व वितरण भएको थियो ।
प्रतिवेदनमा केन्द्रीय रक्तसञ्चार सेवामा ५२.७८ प्रतिशत र देशभरी औषत कम्पोनेन्ट सेवा ५०.५९ प्रतिशत रहेको उल्लेख छ । गत आर्थिक वर्षको रक्त संकलनको तुलनामा एक प्रतिशतले मात्र वृद्धि भएको छ । जसमा पुरूष रक्तदाता ८४.५ प्रतिशत र महिला रक्तदाता १५.५ प्रतिशत रहेको छ । यस वर्ष पनि कोभिड–१९ को संक्रमण जोखिमको कारण रक्त संकलन र वितरणमा कमी आएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले रक्तसञ्चार सेवालाई दिर्घकालिन विकासको लागि सबैक्षेत्रसँगको हातेमालोमा अगाडि बढ्नु पर्ने बताएका थिए। कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालको जनसंख्याको २ प्रतिशत मानिसले नियमित रक्तदान गर्न सके आवश्यक परेको समयमा रगत सहजै पाउन सकिने धारणा राखेका थिए ।
रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको जानकारी दिए। यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको उनकाे भनाइ छ । त्वियसैगरी भिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको छ । नेपालको ७० जिल्लाका ११७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् ।
केन्द्रीय रक्तसञ्चार सेवाको आर्थिक वर्ष २०७७।०७८ को लेखा परीक्षण हुन अघिको वार्षिक खर्च रू.३,८८,३८,२५०।– रहेको छ भने आम्दानीतर्फ रक्तसेवा बापत शुल्क रू.२,१९,५७,०७०।– रहेको छ । यस हिसाबले यस आर्थिक वर्षको सञ्चालन घाटा रू. १,६८,६२,१८०।– रहेको छ । यसको परिपूर्तिको लागि नेपाल सरकारका विभिन्न निकाय र दाता निकायहरूसँग सहयोगको लागि समन्वय भइरहेको जनाएकाे छ ।
