२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजुकालाई टोक्न लगाएर उपचार

जुकालाई टोक्न लगाएर उपचार


पोखरा – मानिसलाई अन्य जीवजन्तुले टोक्दा विभिन्न खालका रोगहरु लाग्ने गरेको सुनिरहेकै छौं । कतै गाउँघर, जंगलमा पुग्दा जुका देखिहाले कतिपय त भागाभाग पनि गर्छन् ।

मानिसमा फैलिएका कतिपय रोग त जीवजन्तुबाट नै सर्ने हुन्छन् । यस्तो अवस्थामा जुकालाई टोक्न लगाएर पनि उपचार हुन्छ भन्ने सुन्दा अचम्म लाग्न पनि सक्छ । झट्ट सुन्दा नपत्याउने, कमै मात्र प्रयोगमा आएको लिच थेरापी तनहुँ आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. रामप्रबोध मण्डलले प्रयोगमा ल्याएका छन् । उनका अनुसार भारतसहित युरोपियन देशहरुमा लिच थेरापी धेरै हुने गरेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकालाई टोकाएर गरिने लिच थेरापीबाट पुराना घाउ तथा खटिराको परीक्षण उपचार गरिएको हो । तर, तत्कालका लागि भने लिच थेरापी रोकिएको डा. मण्डल बताउँछन् । लिच थेरापीमा प्रयोग गरिएका जुका मरेपछि केही समयका लागि लिच थेरापी स्थगन गर्नुपरेको उनको भनाइ छ ।

आयुर्वेदमा विभिन्न थेरापीमध्येको एक लिच थेरापी भएको डा. मण्डल बताउँछन् । युरोपियन लगायत अन्य देशहरुमा लिच थेरापीको प्रयोग उल्लेखनीय भएको भए पनि नेपालमा कम मात्रै प्रयोगमा आएको उनी बताउँछन् । लिच थेरापीका लागि डा. मण्डलले आफ्नै व्यक्तिगत लगानीमा भारतको मद्रासबाट ५ वटा जुका ३ हजारका दरमा किनेर ल्याएको बताउँछन् ।

उनी भन्छन्, ‘जुका त जताततै हुन्छ, कोहीले टोक्दा घाउ हुने र कोहीले टोक्दा घाउ निको भएको पनि सुनिन्छ, कुन प्रयोग गर्न हुने, कुन नहुने भनेर अध्ययन हुनुपर्छ । ’ हिरुडो मेडिसिनल लिच प्रयोग गर्दा प्रभावकारी हुने उनको भनाइ छ । जुन पायो, त्यही प्रयोग गर्दा घाउ बढ्ने खतरासमेत हुन्छ ।

लिच थेरापी गर्दा घाउ खटिराको खराब रगत खाइदिएरमात्रै रोग निको हुने नभई जुकाको ¥यालमा हुने १ सयभन्दा बढी प्रकारका रसायनका कारण रगत शुद्धीकरणमा सघाउने उनको दाबी छ । लिच थेरापीबाट छालाका खटिराहरु, तालु खुइलिने लगायत समस्या समाधान गर्न सकिने उनको जिकिर थियो ।

चितवनमा रहँदा लिच थेरापी प्रभावकारी भएको भए पनि तनहुँमा भने जुका छोटो समयमै मरेकाले उपचार बीचमै रोक्नुपरेको उनी बताउँछन् । ‘ चितवनमा करिब १ वर्षजति बाँचेको भए पनि तनहुँमा लिच (जुका) छोटो समयमै म¥यो,’ उनी भन्छन्, ‘तनहुँको पानीमा भएको रसायनका कारण हो कि भन्ने अनुमान गरिएको छ, अनुसन्धान त केही भएको छैन ।’ उनले १ हप्ता देखि १० दिनमा फेरि लिच ल्याएर सेवा सुरु गर्ने तयारी भइरहेको सुनाए । लिच थेरापी प्रभावकारी भएमा आयुर्वेद केन्द्रमार्फत मगाउने तयारी गरेको उनको स्पष्टोक्ति थियो ।

आयुर्वेद केन्द्रमा पछिल्लो आवमा १० हजार ६ सय हाराहारीमा उपचार गरिएको केन्द्र प्रमुखसमेत रहेका डा. मण्डलले बताए । ओपिडी, इसिजी, थेरापी, गर्भवतीसम्बन्धी, क्षारसूत्र लगायत सेवा उक्त केन्द्रबाट दिइने उनी बताउँछन् । आयुर्वेद औषधीसँगै थेरापी गर्दा आयुर्वेद उपचार पद्धति प्रभावकारी हुने उनको भनाइ छ ।

आयुर्वेदमा जुकाको प्रयोगमात्रै नभई सर्पले डसेको विष निकाल्न सर्पलाई डस्न लगाउने विधि पनि उल्लेख भएको केदारेश्वर महादेवमणि पोखराका पीठाधीश डा. लेखनाथ आचार्य बताउँछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ