काठमाडौं—ललितपुरको सानेपा हाइटस्थित स्टार हस्पिटलले विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा सुरु हुने ‘सम्बन्ध जोडौं, देश घुमौं’ साइकल यात्रीको टोलीलाई विदाइ गरेको छ ।
बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रमबीच अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले सामूहिक रुपमा खादा र नगद सहयोगका साथ यात्रा सफलताको शुभकामना दिदै विदाइ गरेका हुन् ।
उक्त वृहत साइकल यात्रा इलामको श्रीअन्तुबाट मुगु जिल्लाको रारा तालसम्म हुुनेछ । कार्यक्रममा साइकिलिङको महत्वको बारेमा प्रकाश पार्दै उक्त साइकल यात्रा २८ दिनको रहने जानकारी दिइएको थियो ।
कार्यक्रममा विश्व साइकल यात्री पुस्कर शाहले काठमाडौंका १२ लाख मोटर साइकल धनीहरुले हप्तामा एकदिन साइकल सवार गरेको खण्डमा दिनको झण्डै रु. १२ करोडको पेट्रोल बचत अथवा वार्षिक झण्डै रु. ६ अर्बको बचत हुनुको साथै व्यक्ति स्वस्थ हुनुमा मद्धत पुग्ने र वातावरणमा हुने नकारात्मक प्रभाव समेत घट्न सक्ने विचार व्यक्त गरे ।
स्टार हस्पिटलले निरन्तर रुपमा खेलकुद गतिविधि तथा सामाजिक कार्यमा संलग्न सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्य गर्दै आइरहेको छ ।

