काठमाडौं—सेनेटरी प्याडको मुल्य बढेको छ । महिनावारीमा प्रयोग हुने प्याडको मुल्य बढेसँगै सरकारको चर्को आलोचना हुन थालेको छ । मुल्य वृद्धिको विरोधमा महिला अधिकारकर्मी र सम्वद्ध निकायहरुलाई महिनावारीमा पनि कर भन्दै आन्दोलनमा छन् । महिनावारीमा आफूले नियमित प्रयोग गरिरहेको प्याडभन्दा अहिले १० रुपैंया महंगो भएको सविना लिम्बुले बताइन् ।
नेपालको कुल जनसंख्याको ६४.७ प्रतिशत महिला महीनावारी उमेर समूहमा पर्छन् । नेपालमा प्याड उत्पादन गर्ने कम्पनीको संख्या ३० देखि ३५ को हाराहारीमा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चीन, भारत, डेनमार्क, फिलिपिन्स, साउदी अरब, ताइवान, बेलायत, मलेसिया, पोल्याण्ड, स्पेन, जापान, भियतनामबाट प्याड आयात हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ३१ लाख १९ हजार ५ सय ९८ थान प्याड, टेम्पोन, मिन्सुरल कपजस्ता सामाग्री नेपाल भित्रिएका छन् ।
यस्तै, २०७६/७७ मा प्याड बनाउन चाहिने १६ लाख ९४ हजार ९ सय ४२ कच्चा पदार्थ विदेशबाट भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ मा कच्चा पदार्थ भित्रिएको तथ्यांक नभएपनि २१ करोड ५१ लाख १० हजार ७१ थान प्याड भित्रिएको छ । सरकारले भने सेनेटरी प्याडमा कर वृद्धि नगरेको स्पष्ट पारेको छ । सेनेटरी प्याडमा कर बढाएको भन्दै ‘रातो कर माफ गर, रातो कर खारेजी गर’लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएपछि सेनेटरी प्याडमा कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको अर्थ मन्त्रालयले स्पष्ट पारेको हो ।
आयातीत प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । अर्थ सचिव मधु मरासिनीले सरकारले सेनेटरी प्याडमा कर नबढाएको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘सरकारले सेनेटरी प्याडमा कर बढाएको छैन । बरु यसको आयातभन्दा आन्तरिक उत्पादन बढाउने नीति लिइएको छ ।’