काठमाडौं—संसदीय समितिले पोखरास्थित मणिपाल मेडिकल कलेज खरिद बिक्रीको सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेज खरिद क्रिक्री भएको हो वा होइन स्पष्ट जवाफ दिन सरकारलाई निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तिले भनिन्, ‘बेचबिखन भन्ने आइरहेको छ । त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु । ’
सांसद गिरिराजमणि पोखरेलले मणिपालका सन्दर्भमा आएका विषय स्पष्ट हुनुपर्ने बताए ।
यस्तै, संसदीय समितिले सन् २०१५ र सन् २०१६ मा चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुलाई इन्टर्नसीपको व्यवस्था मिलाउन निर्देशन दिएको छ । समिति सभापति घर्तीले सन् २०१५ र २०१६ मा एमबीबीएस गरेका विद्यार्थीहरुको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिइन् ।
समिति सदस्य मानबहादुर विकले कुटनीतिक पहल गरेर भएपनि चीनमा एमबीबीएस गरेका विद्यार्थीहरुले इन्टर्नसीप गर्न पाउनुपर्ने बताए । उनले भने, ‘यसको लागि परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय हुनुपर्छ । विद्यार्थीलाई दुःख दिनु हुँदैन ।’
सांसदहरुले इन्टर्नसीप गर्न चीन पठाउने व्यवस्था मिलाउनुपर्ने वा नेपालमै नेपाल मेडिकल काउन्सिलले इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यसअघि सन् २०१४ मा चीनबाट एमबीबीएस उत्तीर्ण गरेका १ सय ६५ विद्यार्थीहरुले नेपालमानै इन्टर्नसिप गर्न पाउने भएका छन् । बाँकी थपको सन्दर्भमा भने अन्योल कायमै छ ।
