काठमाडौँ – अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले तीनवटा लायन्स क्लबको आयोजनामा शनिबार रक्तदान कार्यक्रम गरिएको हो ।

लायन्स क्लव अफ काठमाडौँ हाइट, आयन्स क्लव अफ ओखलढुङ्गा पोकली वाटरफल र लायन्स क्लव अफ काठमाडौँ ब्राभोको संयुक्त आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टुका डिस्ट्रिक गर्भनर केशव पाण्डेले रक्तदानले अरुको जिवन बचाउने भएकोले ठूलो भुमिका रहने बताए । रक्तदान महादान भएकोले रक्तदानका लागि सबैलाई प्रेरित गर्न सक्नुपर्ने उनको भनाइ छ ।
पास्ट डिस्ट्रिक गर्भनर मधुकर पाण्डेले जिवनमरणको अवस्थामा पुगेको बिरामीलाई रक्तदान गर्नु महान काम भएको बताए । लायन्स क्लब जोन चियर पर्सन गुरु केदार बरालले कोभिड-१९ को जोखिमका कारण अस्पतालहरुमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
‘रगतको अभावका बिरामीको अकालमा ज्यान नजाओस र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोगजना गरिएको हो,’ लायन्स क्लब जोन चियर पर्सन बरालले भने, ‘लायन्स क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समय-समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।’
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं हाइटका प्रेसिडेन्ट अनामिका अर्याल, लायन्स क्लब अफ पोकली वाटरफलका प्रेसिडेन्ट वर्षा राउत, र लायन्स क्लब अफ काठमाडौ ब्राभोका प्रसिडेन्ट आदर्श श्रेष्ठ, क्याविनेट सेक्रेटरी शिब कटुवाल, जिएमपि मनोज सापकोटा लगायतले रक्तदानबारे मन्तव्य व्यक्त गरे । सङ्कलन गरिएको रगत थापाथलीस्थित प्रशुतिगृहमा पठाइएको छ ।